लक्ष्मण बेलबासे, चौतारा (सिन्धुपाल्चोक) ।
नेपाल पत्रकार महासङ्घ काठमाडौँले १० बुँदे सिन्धुपाल्चोक घोषणापत्र जारी गरेको छ ।
सिन्धुपाल्चोकको चौतारामा २०८३ जेठ १ र २ गते बसेको जिल्ला समितिको पाँचौँ बैठकले सो घोषणापत्र जारी गरेको हो ।
सचिव रमेशकुमार बोहराको हस्ताक्षरमा जारी सो घोषणापत्र आगामी जेठ ९ गने हुन थालेको जिल्ला शाखाको साधारणसभाको तयारीको सिलसिलामा जारी गरिएको बताइएको छ ।
शाखा अध्यक्ष शोभा अर्यालको अध्यक्षतामा बसेको सो बैठकले साधारणसभाका लागि सचिव र कोषाध्यक्षका प्रतिवेदन पनि पास गरेको छ ।
घोषणापत्रमा पत्रकारका न्यूनतम पारिश्रमिक र लोककल्याणकारी रकम दोब्बर बनाउनुपर्ने, अनलाइन सञ्चारमाध्यमलाई पनि लोककल्याणकारी विज्ञापन दिइनुपर्ने, श्रम समस्याका लागि महासङ्घले थप आन्दोलन घोषणा गर्नुपर्ने तथा पत्रकारका लागि नि:शुल्य स्वास्थ्योपचार र दुर्घटना बिमालाई स्वास्थ्य बिमामा रूपान्तरण गर्नुपर्ने माग गरिएको छ ।
त्यसैगरी ज्येष्ठ पत्रकारको उमेर हद ६० वर्ष कायम गरिनुपर्ने, पत्रकारको क्षमता अभिवृद्धिका लागि तालिमको व्यवस्था हुनुपर्ने, लोककल्याणकारी विज्ञापन भुक्तानीको अवरोध समाप्त गर्दै समानुपातिक विज्ञापन प्रणाली तत्काल लागु गर्नुपर्ने, सिन्धुपाल्चोक चौतारा वरपरका भौतिक पूर्वाधारको विकासमा ध्यान दिनुपर्ने र निजी मिडियालाई विज्ञापन रोक्ने सरकारको निजी खारेज गरिनुपर्ने मागसमेत घोषणापत्रमा छ ।
