बेरुत । युद्धविराम सम्झौताको बाबजुद दक्षिणी लेबनानमा भएको इजरायली आक्रमणमा छ जनाको मृत्यु हुनुका साथै अन्य सात जना घाइते भएको सरकारी मिडियाले जनाएको छ ।
लेबनानको राष्ट्रिय समाचार एजेन्सी (एनएनए) ले सोमबार राति भएको इजरायली आक्रमणले राजधानी बेरुतबाट ९५ किलोमिटर टाढाको सहर कफर डोनिनको एउटा घरमा प्रहार गरेको रिपोर्ट गरेको छ ।
घाइतेलाई उपचारको लागि तटीय सहर टायरको अस्पतालमा लगिएको एनएनएले जनाएको छ । इजरायल र लेबनानबिच अप्रिल १७ मा युद्धविराम भएको भए पनि इजरायलले दक्षिण लेबनानमा आफ्नो आक्रमणलाई तीव्र बनाएको जनाइएको छ ।
स्वास्थ्य अधिकारीका अनुसार लेबनान गत मार्च २ मा मध्यपूर्व युद्धमा तानिएपछि दुई हजार आठ सयभन्दा बढी मानिस मारिएका छन् ।
लेबनानी नेताहरूले हाल बेरुतका लागि अमेरिकी राजदूतलाई इजरायललाई युद्धविरामको समयमा आक्रमण रोक्न दबाब दिन आग्रह गरेका छन् भने इजरायलले पनि गोली हानाहान भएको रिपोर्ट गरेको छ ।
इजरायली सेनाले सप्ताहान्तको समयमा लेबनानसँगको सीमानजिकैको लडाइँमा आफ्नो एक जना सैनिक मारिएको उल्लेख गर्दै युद्ध सुरु भएदेखि १८ जना सैनिक र एक जना नागरिकको मृत्यु भएको बताएको छ ।