तौलिहवा । कपिलवस्तु जिल्ला शिवराज नगरपालिका वडा नं. ३ नयाँबस्ती निवासी नेकपा (मसाल) का पार्टीसदस्य रामप्रसाद खनालको स्मृतिमा शोकसभा सम्पन्न भएको छ ।
मसालका जिल्ला प्रवक्ता माधव भाटक्षेत्रीको उपस्थितिमा २०८३ वैशाख २५ गते शुक्रबार सो कार्यक्रम सम्पन्न भएको हो ।
मृत्यु भएको सातौँ दिनको उक्त कार्यक्रममा शोकमन्तव्य राख्दै प्रवक्ताका भाटक्षेत्रीले जन्मेपछि अवश्य मर्नुपर्ने भएकाले मानिसले जीवनमा के गर्यो भन्ने कुराले अर्थ राख्ने बताउनुभयो ।
‘स्मृतिशेष खनालले पञ्चायतको एकतन्त्रीय शासनमा पनि कम्युनिस्ट पार्टीमा लागेर भूमिगत रूपमा परिवर्तनको लागि योगदान गर्नुभएको र सामाजिक रूपमा पनि धेरै काम गर्नुभएको हुँदा मरेर गए पनि उहाँको योगदान कहिल्यै मर्ने छैन’ उहाँको भनाइ थियो ।
शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गर्दै प्रवक्ता भाटक्षेत्रीले रामप्रसादले देखाएको बाटो सही भएको हुँदा सो बाटोमा अघि बढे सच्चा समर्पण हुने उहाँको भनाइ थियो ।
त्यस्तै राष्ट्रिय जनमोर्चा कपिलवस्तुका सचिव केरसिंह अदैले स्मृतिशेष खनालको राजनीतिक जीवनी, सामाजिक योगदानको बारेका प्रकाश पार्नुभएको थियो ।
शोकसभामा जातीय समता समाजका केन्द्रीय सदस्य रामबहादुर विक, अखिल नेपाल जनजाति सम्मेलनका केन्द्रीय सदस्य केहरसिंह पुन, रक्तिम सांस्कृतिक अभियानका जिल्ला अध्यक्ष बेगम बुढा, राजमो जिल्ला अध्यक्ष रामप्रसाद बेलबासे, अखिल नेपाल महिला सङ्घकी जिल्ला अध्यक्ष शारदा पौडेललगायत राजमो नेताकार्यकर्ताको उपस्थिति रहेको थियो ।
स्मृतिशेष रामप्रसादको फोटोमा फूलअबिर लगाएर एक मिनेट मौनधारण गरी श्रद्धाञ्जली अर्पण गरिएको सो कार्यक्रममा उहाँका जेठा छोरा चेतनारायण खनालको अध्यक्षता रहेको थियो ।
कार्यक्रमको सञ्चालन सचिव अदैले गर्नुभएको थियो ।
स्मृतिशेष खनालको परिवार तीन छोरा र एक छोरी चेतनारायण खनाल, नेत्र खनाल, लेखनाथ खनाल र शान्ता रहेका छन् ।
स्मृतिशेष खनालको ९१ वर्षको उमेरमा वैशाख १९ गते निधन भएको हो । उहाँ केही वर्षदेखि श्वासप्रश्वाससम्बन्धी बिरामी हुनुहुन्थ्यो ।
