काठमाडौँ । भारतको पश्चिम बङ्गालमा भारतीय जनता पार्टी (भाजपा) ले प्रष्ट बहुमत प्राप्त गरेसँगै विश्व कम्युनिस्ट आन्दोलनका नेता भ्लादिमिर लेनिनको शालिक ढालिएको छ ।
आगामी शनिबार सरकार गठन गर्ने घोषणासँगै मुर्शिदावाद जिल्लामा रहेको लेनिनको शालिक ढालिएको हो ।
भारतीय कम्युनिस्ट पार्टी (माक्र्सवादी) ले भाजपाका कार्यकर्तामाथि शालिक भत्काएको आरोप लगाएको छ ।
टाइम्स अफ इन्डियाका अनुसार सी.पी.एम. ले सामाजिक सञ्जाल एक्समार्फत भाजपा समर्थक “गुण्डाहरू” ले लेनिनको शालिकमा आक्रमण गरी तोडफोड गरेको जनाएको छ ।
मुर्शिदावादको जियागञ्ज क्षेत्रमा भएको उक्त घटनापछि पार्टीले प्रहरीमा उजुरी दर्ता गराएको जनाएको छ । सी.पी.एम. का अनुसार घटनामा संलग्न पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पार्टीले मे ८, २०२६ शुक्रबार पुन: लेनिनको मूर्ति निर्माण गर्ने घोषणा पनि गरेको छ ।
सीपीएमले भनेको छ– ‘मे ५ को राति मुर्शिदावादको जियागञ्ज क्षेत्रमा भाजपा गुण्डाहरूले लेनिनको शालिकमा आक्रमण गरी तोडफोड गरे । हाम्रा साथीहरूले तत्काल प्रतिक्रिया जनाउँदै प्रहरीमा उजुरी दिए । प्रदर्शनसमेत गरियो । त्यसपछि पाँच जना पक्राउ परे । आज बिहान हाम्रा साथीहरू फेरि घटनास्थल पुगेका छन् । मूर्ति मे ८ मा पुनर्निर्माण गरिनेछ ।’
उक्त जिल्ला हालै सम्पन्न विधानसभा निर्वाचनमा भाजपा उम्मेदवार गौरीशङ्कर घोषले ३० हजारभन्दा बढी मतान्तरले जितेका थिए ।
बङ्गालबाट ३४ वर्ष लामो वामपन्थी शासन सन् २०११ मा ढलेपछि लगातार तीनपटक ममता बनर्जीको सरकार थियो । यसपटक बनर्जीको पार्टी तृणमूल कङ्ग्रेसलाई बिजेपीले पराजित गरेको छ ।