गोविन्द शर्मा, काठमाडौँ ।
नेपाल पत्रकार महासङ्घले विश्व प्रेस स्वतन्त्रता दिवस मनाएको छ । २०८३ वैशाख २० गते तदनुसार मे ३, २०२६ आइतबारका दिन सो कार्यक्रम सम्पन्न भएको हो ।
बिहान माइतीघर मण्डलाबाट सुरु भएको मौनजुलुस नयाँबानेश्वरमा पुगी सङ्क्षिप्त कोणसभा सम्पन्न भएको थियो ।
महासचिव रामप्रसाद दाहालको सञ्चालनमा सुरु भएको सो कार्यक्रममा अध्यक्ष निर्मला शर्माले सम्बोधन गर्दै अहिले आन्दोलनकै रूपमा विश्व स्वतन्त्रता दिवस मनाइएको बताउनुभयो ।
‘आन्दोलनको क्रममा नै रहेकाले सधैँजसो मानवअधिकार आयोगका अध्यक्षको हातबाट सार्वजनिक गरिने प्रेस स्वतन्त्रता हनन्को तथ्याङ्क आज सडकबाट सार्वजनिक गरिँदैछ’ उहाँले भन्नुभयो ।
कार्यक्रममा नेपालभित्र गत एक वर्षको प्रेस स्वतन्त्रता हनन्का तथ्याङ्क सार्वजनिक गर्दै राष्ट्रिय मानवअधिकार आयोगका सदस्य मनोज दवाडीले आफूहरूले छिट्टै जेनजी आन्दोलनसम्बन्धी प्रतिवेदन सार्वजनिक गर्न थालेको जानकारी दिनुभयो ।
‘हामीले सार्वजनिक गरेका मानवअधिकारसम्बन्धी प्रतिवेदन सरकारले कार्यान्वयन गर्ने गरेको छैन’ उहाँले भन्नुभयो– ‘हामीले सार्वजनिक गर्न थालेको यसपालिको यो प्रतिवेदन कार्यान्वयन गर्न तपाईं पत्रकारहरूको पनि खबरदारी उत्तिकै आवश्यक हुन्छ ।’

नेपाल बार एसोसिएसनका अध्यक्ष डा. विजय मिश्रले आफूहरू पनि प्रेस स्वतन्त्रताको पक्षमा रहेको दाबी गर्नुभयो ।
उहाँले भन्नुभयो– ‘हामी पनि प्रेस स्वतन्त्रताको पक्षमा छौँ । महासङ्घले सञ्चालन गर्ने प्रेस स्वतन्त्रताको पक्षमा हामी अधिवक्ताहरूको समर्थन रहनेछ ।’
कार्यक्रममा प्रगतिशील पत्रकार महासङ्घका महासचिव प्रकाश थापामगर, प्रेस युनियका अध्यक्ष शिव लम्साल, प्रेस सेन्टरका अध्यक्ष कमल गिरी, प्रेस चौतारीका महासचिव हीरामान लामा, जनपत्रकार सङ्गठनका अध्यक्ष शेरबहादुर विश्वकर्मासँगै महासङ्घका तीनै तहका समितिका पदाधिकारी, सदस्य र आमपत्रकारको उपस्थिति रहेको थियो ।


