काठमाडौं । नेपाली कांग्रेसले दुई पूर्व मन्त्रीसहित तीन नेतामाथि अनुशासनको कारबाही गरेको छ । पार्टीको केन्द्रीय अनुशासन समितिले गोबिन्दराज जोशी, पुष्करनाथ ओझा र रामबहादुर विष्ट पार्टीबाट निष्कासन गरेको हो ।
चुनावमा पार्टीका उम्मेद्वारलाई हराउन भुमिका खेलेको भन्दै कांग्रेसले पूर्वमन्त्रीद्वय जोशी र ओझालाई ५÷५ वर्षका लागि र नेता विष्टलाई ३ वर्षका लागि पार्टीबाट निष्काशन गरेको थियो ।
यता, नेतात्रय विरुद्धको कारबाहीप्रति कांग्रेसको कोइराला खेमाले असन्तुष्टि जनाएको छ । कांग्रेस नेता डा. शेखर कोइरालाले नेताहरुलाई मनगढन्ते तर्क गरेर पार्टीबाट निष्काशन गर्नु दुर्भाग्य भएको बताउनुभएको छ । एकातिर अरु पार्टीका नेतालाई कांग्रेसमा प्रवेश गराउने र अर्कोतिर आफ्ना पार्टीमा लामो समय बिताएकालाई निष्काशन गर्ने भन्दै ट्वीटरमार्फत विरोध जनाउनुभएको हो ।
‘एकातिर हामी अन्य पार्टीबाट नेपाली कांग्रेसमा प्रवेश गराउँदैछौं अर्कोतिर आफ्नो सम्पूर्ण जीवन पार्टीमा व्यतित गरेका वरिष्ठ नेताहरूलाई पार्टीबाट निष्काशन गर्छौं। यसले पार्टी र कार्यकर्तामा के सन्देश जान्छ?’ डा कोइरालको प्रश्न छ ।
एकातिर हामी अन्य पार्टीबाट नेपाली कांग्रेसमा प्रवेश गराउदैछौं अर्को तिर आफ्नो सम्पूर्ण जीवन पार्टीमा व्यतीत गरेका बरिष्ठ नेताहरूलाई पार्टीबाट निष्कासन गर्छौं। यसले पार्टी र कार्यकर्तामा के सन्देश जान्छ?
— Dr Shekhar Koirala (@Shekharnc) July 26, 2020
कांग्रेस प्रवेशका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सुनिल थापाको समूहले पार्टीबाट राजीनामा दिएका छन् । पूर्वप्रधानमन्त्री तथा पार्टी अध्यक्ष सूर्यबहादुर थापाका छोरा सुनिलसहित ३१ नेताले पार्टीले सिद्धान्त छाडेको, समावेशी हुन नसकेकोलगायत आरोप लगाउँदै शनिबार पार्टी छाडेको घोषणा गरेका हुन्।