काठमाडौँ । अन्तर्राष्ट्रिय आरोग्य दिवसको अवसरमा विश्वका विभिन्न मुलुकस्थित नेपाली नियोगमा विविध कार्यक्रम आयोजना गरिएका छन् ।
२०८२ वैशाख २ गते ढाका, मस्को, कोलम्बो, टोकियो, ओटावा तथा सोलमा रहेका नेपाली राजदूतावास तथा चीनको ग्वान्जोओस्थित
महावाणिज्य दूतावासमा उक्त दिवस मनाइएको ती दूतावासले जारी गरेका बेग्लाबेग्लै विज्ञप्तिमा जनाइएको छ ।
कार्यक्रममा परराष्ट्रमन्त्री शिशिर खनालले जारी गरेको आरोग्य दिवसम्बन्धी भिडियो सन्देश प्रस्तुत गरिएको थियो ।
टोकियोस्थित नेपाली दूतावासमा नेपाली उत्पादन शिलाजित च्युरीको तेल, जैविक चिया, हिमालयन वाथ साल्ट र सिङङिङ वाउलको प्रदर्शन गरिएको थियो ।
त्यस अवसरमा साथै नेपालका पर्यटकीय क्षेत्र र पदमार्गसम्बन्धी प्रचारात्मक सामग्री जापानी अथितिलाई नि:शुल्क प्रदान गरिएको थियो ।
समग्र स्वास्थ्य, सुख र सन्तुलित जीवनशैली प्रवद्र्धन गर्ने उद्देश्यले संयुक्त राष्ट्र सङ्घको महासभाले अप्रिल १५ लाई अन्तर्राष्ट्रिय आरोग्य दिवसका रूपमा घोषणा गरेको हो ।
हरेक वर्ष आरोग्य दिवस मनाउन नेपालले गरेको प्रस्तावलाई महासभाले गत फागुन २६ गते अनुमोदन गरेको हो । सस्तो, सुलभ र समावेशी स्वास्थ्य अभ्यास अवलम्बन गर्न सबैलाई प्रेरित गर्नु यो दिवसको लक्ष्य हो ।