काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (मसाल) ले भारतले नेपालको भूमिमाथि गरेको कब्जा र सीमा अतिक्रमण विरुद्ध सरकारले अन्तर्राष्ट्रियकरण नगरेर गल्ती गरेको बताएको छ ।
पछिल्लो समयमा भारतसित सीमा जोडिएका कैयौं स्थानमा सीमास्तम्भ उखेलेर फाल्ने र अतिक्रमण गर्ने काम गरिरहेको भन्दै सरकारले ठोस कुटनैतिक पहलकदमी, अन्तराष्ट्रियकरण वा अन्तर्राष्ट्रिय स्तरमा पहलकदमी नगरेको भन्दै सरकारको आलोचना गरेको छ ।
बिहीबार महामन्त्री मोहनविक्रम सिंहले विज्ञप्ति प्रकाशित गरी कालापानी, लिम्यियाधुरामा मात्र होइन, भारतसित सिमा जोडिएका सबै क्षेत्रहरूमा त्यसरी सिमा अतिक्रमण गर्नुका साथै कैँयौँ स्थानमा त्यसले सिमा स्तम्भहरू उखेल्नेसम्म काम गरिरहेको बताउनुभएको छ ।
यस्तै, राम र अयोध्याबारे प्रधानमन्त्रीको अभिव्यक्तिपछि भारतमा नेपालीहरुमाथि दुर्व्यवहार भएको महामन्त्री सिंहले बताउनुभएको छ । केही दिन अघि मात्रै बनारसमा एक हिन्दुवादी संगठनले नेपालीहरुलाई लखेट्ने चेतावनी दिनुका साथै एकजनालाई नक्कली नेपाली नागरिक बनाएर कपाल मुण्डन गरेको थियो ।
मसालले अयोध्याबारे ओलीले प्रकट गरेको विचारलाई पूरै तर्कहीन वा आधारहिन नभएपनि प्रधानमन्त्री स्तरमा त्यसप्रकारको विचार प्रकट गर्नुलाई गलत बताएको छ ।
‘कतिपय ऐतिहासिक वा पौराणिक प्रकारले विवाद भएका स्थानमा विभिन्न कोणबाट अध्ययन, अनुसन्धान वा छलफल हुनु गलत होइन र हुने पनि गरेका छन् । अयोध्या भारतमा कहाँ पर्दछ त्यसबारे भारतमा बेग्ला–बेग्लै मतहरू देखा पर्ने गर्दछन् । भारतको सर्वोच्च अदालतले पनि अयोध्या नै रामको जन्मभूमि ठहर्याउन प्रमाण नपुग भएको फैसला दिएको छ’ वक्तव्यमा भनिएको छ ।
अहिलेसम्म कुनै ऐतिहासिक वा पुरातात्विक आधारमा राम वा उनको जन्मभूमि भएको ठाउँ कतै पत्ता नलागेको भन्दै मसालले रामको नै ऐतिहासिक व्यक्ति भएको कुरा प्रमाणित नभएको बरु राम वा अयोध्या वास्तविकताभन्दा बढी आस्था र विश्वासका प्रतिक भएको स्पष्ट पारिको छ ।
वक्तव्यमा बुद्धको जन्मभूमि विभिन्न अध्ययन र ठोस प्रमाणका आधारमा लुम्बिनीमा भएपनि भारतले विश्वव्यापी भ्रम छर्ने प्रयास गरिरहेको बताइएको छ । त्यस्तै अयोध्या वा रामबारे पनि प्रयाप्त अध्यनपछि मात्रै स्पष्ट भन्न सकिने जनाइएको छ ।
वक्तव्य पढ्न यहाँ क्लिक गर्नुहोस् ।