खिमराज चालिसे
बठिंडा । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज बठिंडा नगर समितिले नगर सचिव गिरी मगर र डिला मगरलाई ससम्मान सहित स्वदेश विदाई गरेको छ ।
गिरी मगर १९९१ देखि मूल प्रवाहको सदस्यता लिएर विभिन्न जिम्मेवारीहरू निरन्तर सक्रियता पुर्वक निभाउँदै आउनु भएको थियो । उहाँ भारतमा तात्कालीन जनजाति सम्मेलन पश्चिमोत्तर क्षेत्रीय समितिको सचिव समेत रहनु भएको थियो । मगर सरकारी नोकरीबाट सेवानिवृत भएपछि मूल प्रवाह बठिंडाले स–सम्मान सहित स्वदेश विदाई गरेको हो ।
सभामा मूल प्रवाहका महासचिव त्रिभुवन भट्टराईले गिरी दम्पतिलाई शुभकामना दिदै उहाँहरूले प्रवासमा खेलेको सक्रिय भुमिकालाई अझै सशक्त पार्दै देशभित्र वर्गिय मुक्ती आन्दोलनमा अविचलीत र सक्रिय रुपमा लाग्नु हुने विश्वास व्यक्त गर्नुभयो ।
गिरी दम्पतिलाई नगर समितिको तर्फबाट महासचिव भट्टराईले प्रसंशा पत्र र स्मृतीचिन्ह प्रदान गरी सम्मान गर्नु भएको थियो ।
गिरी दम्पतिलाई मूल प्रवाहका केन्द्रीय सदस्य नरबहादुर ओली, सुदुर पश्चिमोत्तर क्षेत्रीय सदस्य जागेश्वर न्यौँपाने, महिला क्षेत्रीय सदस्य मन्जु सर्मा, क्षेत्रीय सदस्य नारायण भुसाल, नगरका गणेश पोख्रेल, बिष्णु न्यौँपाने, नारायण केसी, माया ओली, खिमा खड्का लगायतले शुभकामना मन्तव्य दिनुभएको थियो ।
कार्यक्रम लंक बहादुर नेपालीको अध्यक्षतामा तथा नर बहादुर मरन्ठानीको सञ्चालनमा सम्पन्न भएको हो भने स्वागत कमल भन्डारीले गर्नुभएको थियो ।
गिरी दम्पति गुल्मी जिल्लाको गुल्मी दरवार गाउँपालीका ३ निवासी हुनुहुन्छ ।