तमघासबजार । गुल्मी जिल्लाको गुल्मीदरबार गाउँपालिका–४ मिसुकास्थित भित्री कच्ची सडकखण्डमा आइतबार अपराह्न करिब ४:१० बजे भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन्।
प्रहरीका अनुसार बिरबासबाट मिसुकातर्फ जाँदै गरेको लु१ च४९०६ नम्बरको बलेरो पिकअप गाडी अचानक ब्रेकफेल भई स्थानीय फूलमाया श्रेष्ठको घरमा ठोक्किँदा दुर्घटना भएको हो ।
गाडी चालक ३८ वर्षीय शेरबहादुर ढेगा प्रहरी नियन्त्रणमा छन् । प्रारम्भिक जाँचमा चालकले मादक पदार्थ सेवन नगरेको र कागजपत्रसमेत ठिक रहेको जनाइएको छ ।
दुर्घटनामा परी कृष्णा ढेगा (३५) र मीना सलामी (४०) को मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
घाइतेहरू जमुना ढेगा (४०), सुमित्रा ढेगा (४५), पार्वती ढेगा (३६), पम्फा ढेगा (३०), कुमारी पुन ढेगा (३३) लगायतको अवस्था गम्भीर छ ।
अन्य घाइतेमा खगी ढेगा (४४), निर्मला ढेगा (२४), चाया ढेगा (३), माया ढेगा (३१), नैना ढेगा (५५) र ७ वर्षीय शनिम ढेगा रहेका छन् ।
सबै घाइतेलाई प्रारम्भिक उपचारपछि थप उपचारका लागि पाल्पा रिफर गरिएको छ ।
घटनास्थलमा प्रहरी चौकी श्रृङ्गाबाट प्रहरी सहायक निरीक्षक गोपाल ढाँडीको कमान्डमा टोली खटिएको थियो । दुर्घटनामा परेको सवारीसाधन घटनास्थलमै रहेको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
