काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ति मध्ये ९ जना काठमाडौं उपत्यकाका छन् ।
बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा थप १४७ जनाको आरटी–पीसीआर रिपोर्ट पोजिटिभ आएको जानकारी दिनुभयो ।
प्रवक्ता गौतमका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा भक्तपुरमा २, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा ललितपुरका १ र काठमाडौंमा २ जनामा कोरोना पुष्टि भएको हो ।
त्यस्तै पाटन अस्पतालमा काठमाडौंका ३ र स्टार अस्पताल सानेपामा ललितपुरका १ जनामा कोरोना पोजिटिभ देखिएको छ ।
प्रवक्ता गौतमका अनुसार नेपालमा अहिले सक्रिय संक्रमितको संख्या ५ हजार ३५८ रहेको छ । आज ३ हजार ४८१ जनाको आरटीपीसीआर परीक्षण गरिएको थियो ।
त्यस्तै पछिल्लो २४ घण्टामा थप १५६ जना कोरोना संक्रमित निको भइ घर फर्केका छन् । अहिलेसम्म कोरोना संक्रमणबाट ४३ जनाको ज्यान गइसकेको छ ।

