काठमाडौँ । चर्चित गायिका तथा पूर्वसांसद कोमल वलीका पिता ललितबहादुर वलीको निधन भएको छ । शुक्रबार दाङको तुलसीपुरस्थित आफ्नै निवासको छतमा घाम ताप्न जाने क्रममा खसेर ८५ वर्षीय वलीको निधन भएको हो ।
गायिका वलीले सामाजिक सञ्जालमार्फत बुवाको ‘महाप्रस्थान’ भएको जानकारी दिएकी छन् । वलीका अनुसार उनको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि तुलसीपुर (बाहिनी गेट नजिकै) रहेको निजी निवास ‘दिपा–ललित निवास’ मा राखिएको छ।
स्मृतीशेष ललितबहादुर वली दाङको साहित्यिक र सामाजिक क्षेत्रका एक सक्रिय व्यक्तित्व थिए । वि.सं. १९९८ मंसिर १५ गते जन्मीएका उनका ‘दर्पण’ (राष्ट्रिय गीत संग्रह) र ‘मातृभूमि’ (कविता संग्रह) गरी दुईवटा कृति प्रकाशित छन् ।
उनका सातवटा गीतहरू रेडियो नेपालमा रेकर्ड भएका छन्, जसमा देउसी भैलो, तीज र भजनहरू समावेश छन् । गायिका कोमल वलीका धेरै गीतहरूमा उनले मोडलिङ समेत गरेका छन् । उनी आफैँ पनि कुशल गायक थिए ।
केही समयअघि पत्नीको निधन भएपछि ललित मानसिक रूपमा केही विक्षिप्त रहेको पारिवारिक श्रोतले जनाएको छ।