काठमाडौँ । एघार दिनमै नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ ।
निगमले २०८२ चैत ११ गते मध्यरातदेखि लागु हुने गरी डिजेल/मट्टितेल र पेट्रोलको मूल्यमा प्रतिलिटर १५ रुपैयाँ वृद्धि गरेको हो ।
यसअघि निगमले यही चैत १ गते पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको थियो ।
निगमले पेट्रोलको मूल्य पहिलो वर्गमा प्रतिलिटर एक सय ८४ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा एक सय ८६ रुपैयाँ र तेस्रो वर्गमा एक सय ८७ रुपैयाँ तथा डिजेल/मट्टितेलको मूल्य पहिलो वर्गमा प्रतिलिटर एक सय ६४ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा एक सय ६६ रुपैयाँ र तेस्रो वर्गमा एक सय ६७ रुपैयाँ तोकेको छ ।
मूल्य समायोजनसँगै काठमाडौँमा पेट्रोलको मूल्य प्रतिलिटर एक सय ८७ रुपैयाँ पर्ने भएको छ ।
निगमले पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज, दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङ तथा तेस्रो वर्गअन्तर्गत काठमाडौँ, पोखरा र दिपायल डिपोलाई तोकेको छ ।
अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढिरहेकाले स्थानीय बजारमा पनि मूल्य बढाउनुपरेको निगमले स्पष्ट पारेको छ ।
यही मार्च १ देखि २४ तारिखसम्म खरिद गर्ने पेट्रोलको मूल्यमा प्रतिलिटर ७६ रुपैयाँ र डिजेलमा प्रतिलिटर १४३ रुपैयाँ वृद्धि भएको निगमले जनाएको छ ।