काठमाडौं । दार्चुला जिल्लाको सीमावर्ती भारतको धार्चुला जिल्ला प्रशासनले कालापानी जाने नेपालीहरुबारे जानकारी मागेको छ । धार्चुलाको एसडीएम कार्यालयले दार्चुला जिल्ला प्रशासन कार्यालयलाई पत्र लेखि कालापानी जानेहरुको जानकारी मागेको हो ।
नेपालले लिम्पियाधुरा, कालापानी र लिपुलेक समावेश गरी नयाँ नक्सा जारी गरेको दुई महिना नपुग्दै नेपालीहरू स्वःस्फूर्त ती क्षेत्रमा जान थालेका छन् । त्यसरी नेपालीहरु जान थालेपछि दुई देशबीचको ‘सम्बन्ध विग्रने र दुवै तर्फका प्रशासनलाई सास्ती’ हुने भन्दै भारतले चासो बढाएको हो ।
धार्चुलाका उप जिल्लाधिकारी अनिलकुमार सिन्हाले १४ जुलाईका दिन लेखेको पत्रमा भनिएको छ, ‘विशेष सूत्रका अनुसार नेपालीहरू विभिन्न गुट र समूह बनाएर अबैध रुपले लुकिछिपी गुञ्जी,कालापानी र लिम्पियाधुरा क्षेत्रमा पस्न लागेको र यसमा मिडियाको ध्यानाकृस्ट गर्ने नियत लुकेको साथै यस्ता गतिविधिबाट दुबैतिरको प्रशासनलाई सास्ती हुने अवस्था छ ।’
साथै, सोसम्बन्धमा नेपाली पक्षसँग कुनै जानकारी भएमा भारतीय समकक्षीलाई उपलब्ध गराउनसमेत अनुरोध गरिएको छ ।
