• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ५. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

वास्तविकता र कल्पनाबिचको सामञ्जस्यता

"सन्दर्भ ‘कामरेड जलजला’ उपन्यास–५२ "

  •   आइतबार, चैत ०१, २०८२ मा प्रकाशित
  • मोहनविक्रम सिंह ##

    Advertisement

    मैले पहिले सन्दर्भ कामरेड जलजलाको धारावाहिकलाई एक वर्षसम्म ५२ हप्तासम्म लख्दै जाने बताएको थिएँ । यो अङ्कका साथै त्यो धारावाहिक समाप्त हुन्छ । पछि यसलाई पुस्तकको आकारमा प्रकाशित गर्ने मेरो प्रयत्न हुनेछ । त्यस सिलसिलामा उपन्यासका तीन जना पात्र अजित, जलजला र सुनन्दाका आन्तरिक मनोभावको उल्लेख गरिएको “मनोगत संवाद” यही पुस्तकअन्तर्गत पर्दछ तैपनि त्यसलाई बेग्लै पुस्तिकाको रूपमा प्रकाशित गर्ने पनि मेरो प्रयत्न हुनेछ ।

    उपन्यासको प्राक्कथनमा लेखिएको छ– “यो उपन्यास भएकाले यसमा कल्पनाको पनि ठुलो मात्रामा प्रयोग गरिएको छ तर त्यो कल्पना वास्तविकताका विरुद्ध जाँदैन । वास्तविकताभन्दा कल्पनाको मदतद्वारा वास्तविक जीवनका सीमाको अतिक्रमण गरेर बाहिर निस्कन बढी मद्दत पुग्छ । बढी स्वतन्त्रता प्राप्त हुन्छ । धर्तीभन्दा धेरैमाथि आकाशमा विचरणका लागि कल्पनालाई बढी अवसर प्राप्त हुन्छ ।”

    पूरै उपन्यासमा त्यसरी वास्तविकता र कल्पना दुवैका बिचमा सामञ्जस्यता कायम गर्ने प्रयत्न गरिएको छ । त्यस सन्दर्भमा सर्वप्रथम जलजलाको उदाहरण लिन सकिन्छ । त्यो कुराको चर्चा गर्दै प्राक्कथनमा लेखिएको छ– “यस उपन्यासमा जलजलाको निर्माण गर्दा पनि त्यस प्रकारको स्वतन्त्रताको उपयोग गरिएको छ । त्यो धेरै नै गरिएको छ । त्यसले गर्दा यस उपन्यासकी जलजला वास्तविक जीवनकी जलजलाभन्दा अर्कै रूपमा देखा पर्न सक्नेछन् । केही अपरिचित रूपमा तर उनको त्यो रूप सत्यको झन् नजिक हुनेछ ।”

    निश्चय नै सुनन्दा एउटी काल्पनिक पात्र हुन् तर उनलाई पनि वास्तविक धरातलमा स्थापित गर्ने प्रयत्न गरेको छ । त्यो प्रयत्न धेरै नै गरिएको छ । उनको गाउँ दाँतु वास्तविक स्थान हो र त्यो गाउँ कुमाउको धार्चुलाको दार्मा प्रगन्ना र पञ्चचुली हिमालको फेदिमा भएको कुरा पनि वास्तविक हो । उनी पर्वतारोही भएको कुरा कल्पना हो तर पर्वतारोहणसम्बन्धी जुन विषयको विवरण दिइएको छ, ती वास्तविक हुन् । त्यसै गरेर पर्वतारोहणसम्बन्धी दार्जलिङ र त्यहाँको तेन्जिङ तालिम केन्द्र तथा पर्वतारोहणको सम्बन्धमा उल्लेख गरिएका विभिन्न ऐतिहासिक तथ्य पनि वास्तविक नै हुन् । त्यही प्रकारले अलमोडा कौसानीकी लक्ष्मी आश्रम, त्यहाँकी सरला बहन, राधा बहन, खिराकोटको पर्यावरण आन्दोलन र मालती देवीले त्यसको नेतृत्व गरेको, उनी राधा बहनसित काठमाडौँको सिद्धार्थ वनस्थलीको एउटा कार्यक्रममा भाग लिन आएको, उनका पुर्खा मूल रूपमा नेपाली भएका आदि कुरा पनि सत्य हुन् ।

    सुनन्दाको जीवनको सिलसिलामा जुन धेरै कुराको चर्चा गरिएको छ, तीमध्ये धेरै कुरा वास्तविक नै हुन्, जस्तोकि उनको सिनोप्सिसको सिलसिलामा उल्लेख गरिएका कैयौँ कुरा, भैरहवा जेल, काठमाडौँ उपत्यका, अष्टमात्रिका, स्वयम्भू, पशुपतिनाथ आदिसम्बन्धी जुन विवरण दिइएका छन्, ती वास्तविक नै हुन् । पशुपतिनाथको चर्चा गर्ने विद्या रोका काल्पनिक पात्र हुन् तर उनको सन्दर्भमा जलजला थबाङमा गएर भूमिगत रूपले पार्टीको काम गरेर बसेको कुरा सत्य हो ।

    अजित अवश्य पनि काल्पनिक पात्र हुन् तर उनको विषयमा जुन घटनाको चर्चा गरिएको छ, ती वास्तविकतामाथि नै आधारित छन्, त्यो बेलाका राजनीतिक घटनाक्रम, कम्युनिस्ट आन्दोलन र पार्टीका आन्तरिक र सङ्गठनात्मक विषयका आधारमा नै अजितको कथाप्रवाहलाई अगाडि बढाउने प्रयत्न गरिएको छ । उपन्यासमा जलजला र अजितका बिचको पत्र व्यवहार, ‘निष्कासित’ शीर्षकको कविता वा जलजलाको मृत्युपछि लखनऊमा अजितले प्रकट गरेका विचार आदि सबै वास्तविक घटनामाथि नै आधारित छन् । त्यही प्रकारले अजितको गङ्गाकावेरी एक्सप्रेसद्वारा मद्रासको यात्रा र पछि केरलमा गएको विवरण पनि त्यो बेला घटेका वास्तविक घटनामाथि नै आधारित छ ।

    उपन्यासको प्रारम्भमा नै जलजलालाई पार्टीको भूमिगत काम गर्न थबाङ पठाउने निर्णय गरिएको छ र उनले करिब दश महिनाजति थबाङमा बसेर पार्टीको भूमिगत काम गर्छिन्, त्यो पनि सत्य नै घटना हो । त्यही प्रकारले दिल्लीमा एउटा बस दुर्घटनामा उनको मृत्यु भएको घटना पनि सत्य नै हो । उपन्यासमा जोरबागमा बस्ने यामलाल र कल्पना पोख्रेलको चर्चा गरिएको छ । जलजला उनीहरूको कोठामा नै बस्ने गर्दथिन् । त्यही प्रकारले दिल्लीका लीलानाथ कुशुम, राजु नेपाली आदिको पनि चर्चा गरिएको छ । ती सबै त्यो बेला दिल्लीमा बसोवास गरेका वास्तविक पात्र नै हुन् ।

    उपन्यासमा यथार्थ घटनाको धेरै लामो विवरण छ र त्यसमाथि नै उपन्यासको कथा अगाडि बढ्ने गरेको छ । त्यसमा कुमाऊसित सम्बन्धित धेरै घटनाको चर्चा गरिएको छ ।

    उपन्यासको अवधि करिब सम्बत् २०३३ देखि २०४२ सम्मको अवधि रहेको छ । त्यही समयमा नै जलजला बनारसको एउटा प्रशिक्षण कार्यक्रममा जान्छिन् र त्यसपछि त्यो बेला अयोध्यामा सम्पन्न भएका विद्यार्थी र महिलाका सम्मेलन र पार्टीका कतिपय कार्यक्रममा भाग लिन अयोध्या जान्छिन् र त्यसपछि त्यहीँबाट थबाङ भूमिगत रूपले पार्टीको काम गर्न जान्छिन् । त्यसका साथै उपन्यासको प्रारम्भ हुन्छ र करिब सम्वत् २०४२ सालतिर उपन्यासको अन्त्य हुन्छ ।

    त्यो कालका पार्टीभित्रका वास्तविक घटनालाई नै पार्टीको कथानकको आधार बनाइएको छ । त्यो काल पञ्चायती काल थियो । त्यो कालका पञ्चायती कालका घटनालाई पनि त्यो बेलाका पत्रपत्रिकाका वास्तविक समाचारका आधारमा चित्रण गरिएको छ ।

    सुनन्दा जलजलालाई खोज्दै काठमाडौँको शिवध्वज बस्नेतका घरमा पुगेकी थिइन् । उनी एउटा पुराना कम्युनिस्ट थिए । उनी घरमा थिएनन् । त्यसैले उनले उनको पुस्तकालयका पत्रपत्रिका पढन थालेकी थिइन् । त्यस सिलसिलामा उपन्यासमा लेखिएको छ– “त्यहाँ २०३८ साल वैशाखदेखिका पत्रिकाका फाइल थिए । पत्रपत्रिकामा मुख्य समाचार निर्वाचनसित सम्बन्धित थिए । सरकारले वैशाखमा राष्ट्रिय निर्वाचनको चुनाव गराउने घोषणा गरेको थियो । सरकारले तेस्रो संशोधन गरेर राष्ट्रिय पञ्चायतको चुनाव बालिग मताधिकारका आधारमा गराउने घोषणा गरेको थियो तर कम्युनिस्ट र काङ्ग्रेस पक्षले सम्पूर्ण निर्दलीय व्यवस्थाको अन्तको माग गर्दै त्यो चुनावको बहिष्कार गर्ने घोषणा गरेका थिए । त्यस सिलसिलामा देशभरिमा सभा, जुलुस, मसाल जुलुसका कार्यक्रम भइरहेका थिए ।

    एउटा पत्रिकामा वैशाख १९ गतेदेखि संयुक्त बहिष्कार सप्ताह मनाउने घोषणा गरेको समाचार दिइएको थियो । देशका कतिपय भागमा प्रहरीद्वारा गोली चलाएर मानिस मारिएका समाचार पनि पत्रपत्रिकामा प्रकाशित भएका थिए । ठाउँठाउँमा गिरफ्तारी भएका, गिरफ्तार गरेकालाई यातना दिएका समाचारले पत्रपत्रिका भरिएका थिए । सरकारको दमनको विरोधमा नेपालबन्द कार्यक्रमको पनि आयोजना गरिएको थियो । त्यही प्रकारको परिस्थितिमा अन्तमा चुनाव सम्पन्न भयो ।

    चुनावका दिन बहिष्कार आन्दोलनलाई दबाउन कैयौँ ठाउँमा गोली चल्यो । कैयौँ बुथ पूरै खाली भएका थिए । रोल्पाको थबाङमा पूरै बहिष्कार भएको समाचार प्रकाशित भएको थियो ।”

    त्यस सिलसिलामा उपन्यासमा अगाडि लेखिएको छ– “उनले सर्सरी पत्रपत्रिकाका शीर्षक पढ्न थालिन्, राजधानी र झापामा जुलुसमाथि लाठीचार्ज, छात्रा घाइते । राष्ट्रिय वाणिज्य बैङ्क हडतालतिर । वी.पी. को खस्किँदो स्वास्थ्य । का. पुष्पलालप्रति भावपूर्ण श्रद्धाञ्जली । २० ओटा बम फेला परे । रत्नपार्कमा लास, चौतारा र अर्घाखाँचीमा गोली चल्यो, ३ खुत्रुक्कै भए । अब कति बहिष्कार गर्ने—रोहित, पञ्चायत ढल्छ ? यातायात मजदुर चुप लागेर नबस्ने । नयाँ मन्त्रिमण्डल, सूर्यबहादुर थापा प्रधानमन्त्री । नेपाल विदेशी जासुसको अखडा । राजधानीमा एकै दिन ३ तिर छड्के जुलुस । प्रहरीद्वारा रिक्साचालक पिटियो । साझा संस्थानमा घोटाला । सिद्धार्थनगरमा बलात्कार । मानव सखाप पार्न न्युट्रन बम । प्रधानमन्त्री पदका लागि दौडधुप । चुनावमा जातीयता, पैसा र असुरक्षाको मुख्य भूमिका । महिला मजदुरप्रति दुव्र्यवहारपछि गोली प्रहार । रुपन्देहीमा आगजनी र सशस्त्र प्रहरीद्वारा हत्या । गुण्डागर्दी आदिका लागि सरकार जिम्मेवार ।

    उनको आँखा एउटा साप्ताहिकमा गयो । उनले जेलमा छँदा नै पोखराको नमिता–सुमिता काण्डबारे सुनेकी थिइन् । त्यो कुरा अहिलेसम्म सेलाएको थिएन र अहिले पनि त्यसबारे समाचार टिप्पणी वा प्रतिक्रिया प्रकाशित भइरहेका थिए । एउटा साप्ताहिक जनमार्गले त्यससम्बन्धी विवरण केही विस्तृत रूपले प्रकाशित गरेको थियो । उनले त्यसलाई पढ्न थालिन् ।

    त्यो साप्ताहिकमा लेखिएको थियो– नमिता र सुनिता श्री ५ महाराजाधिराजका सहसचिव राजभण्डारीका छोरी थिए । उनीहरू एसएलसीको परीक्षामा प्रथम श्रेणीमा उत्तीर्ण भएका थिए र अमृत साइन्स क्याम्पसमा पढ्थे । उनीहरू आफ्नी एउटी साथी नीरा पराजुलीका साथ पोखरा घुम्न गएका थिए । जेठ १८ गते उनीहरूको अपहरण भएको थियो । उनीहरूलाई बलात्कार गरी हत्या गरेर सेती नदीमा फालिएको थियो । नमिता र सुनिताका लास सेतीमा फेला परेका थिए तर पराजुलीबारे केही पत्ता लागेको थिएन । कति वीभत्स काण्ड थियो त्यो ? उनले त्यस घटनाबारे प्रकाशित सबै समाचारहरू पढ्न थालिन् ।

    साउन २० गते प्रकाशित ‘मातृभूमि’ साप्ताहिकमा वरिष्ठ कम्युनिस्ट नेता मनमोहन अधिकारीको लामो वक्तव्य प्रकाशित भएको थियो । त्यसमा भनिएको थियो– पोखरा मात्र किन, आज सम्पूर्ण देशभरि हत्या, बलात्कार, गुन्डागर्दी, यस व्यवस्थाको चरित्र भइरहेको छ ।”
    ‘मातृभूमि’ को त्यही अङ्कमा प्रजापरिषद्का नेता र भूतपूर्व प्रधानमन्त्री टङ्कप्रसाद आचार्यको पनि वक्तव्य थियो । त्यसमा भनिएको थियो, ‘पोखरा हत्याबारे भनौँ, यतिञ्जेल पुलिसले हत्यारा को हुन् ? पत्ता लगाएका छैनन् । अपराधी दण्डित भएन भने अपराध बढ्दै जान्छ र शान्ति सुरक्षाको स्थिति भयावह भएर जानेछ ।’

    ‘मातृभूमि’ को त्यही अङ्कमा पोखराको स्थितिमाथि ‘गृहमन्त्रीद्वारा ढाकछोप’ शीर्षकले प्रकाशित समाचार टिप्पणीमा गृहमन्त्रीले हालै पोखरा गएर होटल व्यवसायी, व्यापारी, वर्गीय सङ्गठनका मानिससमेत जम्मा गरी ‘पोखराको नाम बदनाम हुन आँट्यो, पर्यटन व्यवसाय खतम हुन्छ, तसर्थ पोखरामा शान्ति र जनजीवन पूर्णतया सामान्य छ’ भन्ने प्रस्ताव पारित गराउन खोजेको तर उपस्थित अधिकांशले त्यसको विरोध गरेकाले त्यो प्रस्ताव पारित हुन नसकेको कुरा उल्लेख गरिएको थियो ।”

    त्यस सिलसिलामा उपन्यासमा अगाडि लेखिएको छ– “अन्य कैयौँ पत्रपत्रिका पनि बलात्कार वा हत्याका समाचारले भरिएका थिए । सूर्यविनायकको जङ्गलमा मुख थुनेर युवतीलाई बलात्कार गर्ने प्रयास गरिएको थियो । फर्पिङको जङ्गलमा स्कुलबाट फर्किएकी छात्रालाई बलात्कार गर्ने प्रयत्न गरिएको थियो । भैरहवामा सामूहिक बलात्कारका घटना घट्छन् । काठमाडौँ झोंछेमा एउटा घरानियाँ युवकले ११ वर्षकी आफ्नी नोकर्नीलाई बलात्कार गर्दछन् ।

    जनकपुर अस्पतालमा असार १६ गते तीन दिनकी सुत्केरीलाई बलात्कार गर्ने प्रयत्न हुन्छ तर डाक्टर आएपछि अपराधी भाग्छ ।
    एउटा साप्ताहिकले लेखेको थियो, सिद्धार्थनगरको अञ्चलापुरमा नेसनल ट्रेडिङका ड्राइभरको घरमा बास बसेकी ३१ वर्षीया शिक्षित महिलालाई असार २४ गते राति ९ बजे ५–७ जना मण्डलेले छुरीकट्टा देखाई ढोका बन्द गरी लछारपछार गर्दै उत्तरपट्टिको खेतमा लगी सामूहिक बलात्कार गरेका थिए ।

    उनका आँखा भैरहवाबाट प्रकाशित हुने ‘दैनिक निर्णय’ को एउटा फाइलमा पर्‍यो । ती पत्रिकामा बलात्कारसम्बन्धी कैयौँ समाचार प्रकाशित भएका थिए । साउनको ‘दैनिक निर्णय’ मा ‘हवलदारलगायत ३ जना प्रहरीद्वारा सामूहिक बलात्कार’ शीर्षकले मुख्य समाचार प्रकाशित भएको थियो । त्यसमा साउन २३ गते वडा नं. ५ मालरोडमा डेरा गरेर बसेका दम्पतिमाथि हवलदारसहित ३ जना प्रहरीले पतिपत्नी सुतेका बेलामा आक्रमण गरी पतिलाई पिटेर महिलालाई बजारमण्डीको एक झुपडीमा लगेर २ जनाले समात्ने र एक जनाले बलात्कार गर्ने गरी पालैपालोसित सामूहिक बलात्कार गरेको समाचार छापिएको थियो ।

    त्यही अङ्कमा नेपालगञ्जमा ३ जना मजदुर महिलामाथि सामूहिक बलात्कार गरेको समाचार पनि उल्लेख गरिएको थियो । भदौ १७ गतेको ‘दैनिक निर्णय’ मा पर्वतमा ‘लोग्नेकै सामु स्वास्नीको बलात्कार’ शीर्षकले अर्को समाचार प्रकाशित गरिएको थियो । त्यसमा लेखिएअनुसार, केही समयअघि दुई जना पतिपत्नी पर्वतको आफ्नो गाउँ फुर्गा सिरकाउबाट बागलुङ आफ्नो नातेदारका घरमा जाँदै थिए । त्यही बेला एउटा गुन्डाले ‘पुल बिग्रेको छ, अहिले नजानुस्’ भनी बास बस्न लगायो । राति लोग्नेलाई मार्ने धम्की दिई लोग्नेकै अगाडि पत्नीमाथि बलात्कार गर्‍यो ।
    त्योभन्दा केही समयअघि पर्वतको होस्र्याङदीको अर्घाउँदी गाउँमा ८ जना गुन्डाले मलायाको लाहुरेलाई लाठीले पिटी हातखुट्टा बाँधेर लोग्नेको अगाडि नै उसकी पत्नीलाई बलात्कार गरेका थिए । त्यसको रु. २५ हजारको धनमाल पनि लुटेर लगेका थिए !”

    त्यसरी उपन्यासमा त्यो बेला देशका विभिन्न भागमा प्रकाशित पत्रपत्रिकाका आधारमा नै त्यो बेला व्यापक रूपमा हुने गरेका बलात्कार, हत्याका उदाहरण दिइएका थिए । त्यसरी उपन्यासको ठुलो अंश नेपाल वा देश विदेशका धेरै वास्तविक तथ्य वा घटनामाथि आधारित भएको कुरा प्रस्ट छ ।

    सुनन्दाले पिएचडीको तयारी गर्न थालेकी थिइन् र त्यसको लागि सिनोप्सिस तयार पार्दै थिइन् । त्यसका लागि उनी दिल्लीको जवाहरलाल नेहरू युनिभर्सिटीको एउटा पुस्तकालयमा बसेकी थिइन् । त्यही बेला डा. जगदीश त्यहाँ आइपुग्छन् । दुवै काल्पनिक पात्र र त्यहाँ उल्लेख गरिएको कथानक पनि काल्पनिक हो तर उनीहरूका बिचमा जुन कुराकानी हुन्छ, त्यो कुराकानीको ठुलो अंश वास्तविकतामाथि नै आधारित हुन्छ तैपनि उनीहरूको कुराकानीमा हिमालय, हिमालयका प्राचीन बासिन्दा, त्यहाँको भौगोलिक अवस्था आदिको जुन विवरण दिइएको छ, ती सबै वास्तविक नै हुन् ।

    उपन्यासमा लखनऊको पनि विस्तृत चर्चा गरिएको छ । त्यो सहरको जुन वर्णन गरिएको छ, त्यो त्यहाँको स्थलगत अध्ययनको आधारमा नै गरिएको छ । त्यही प्रकारले उपन्यासमा बनारस, केरलको त्रिभेन्द्रम, दिल्ली वा कुमाऊ र गढवालसमेतको जुन वर्णन गरिएको छ, त्यो पनि त्यहाँको स्थलगत अध्ययनको आधारमा नै गरिएको छ ।

    उपन्यासमा बनारसमा गङ्गासित जोडिएका कैयौँ प्रसङ्ग छन् । त्यसको कथानक पक्ष अवश्य पनि काल्पनिक हो तर बनारस वा गङ्गासित नेपालको राजनीति वा साहित्यसित धेरै नै घनिष्ठ सम्बन्ध भएको कुरा वास्तविक हो । त्यस सिलसिलामा उपन्यासमा लेखिएको छ– “डुङ्गा घाटबाट नदीतिर लाग्यो । जलजला केही बेरसम्म चुपचाप लागिरहिन् । केही बेरपछि उनले आफ्नो मौनता भङ्ग गर्दै भनिन्, यो गङ्गा नदी र यहाँका घाटसित नेपालको धेरै घनिष्ठ राजनीतिक सम्बन्ध छ । मनमोहन अधिकारी, विश्वेश्वरप्रसाद कोइराला, गणेशमान सिंह, पुष्पलाल श्रेष्ठ, लक्ष्मीप्रसाद देवकोटा, मोहनविक्रम सिंह, निर्मल लामासहित नेपालका कम्युनिस्ट वा कङ्ग्रेसका हजारौँ नेता वा कार्यकर्ताको यहाँका घाट र गङ्गा नदीसित घनिष्ठ सम्बन्ध रहेको छ । त्योबाहेक नेपालबाट तीर्थब्रत र काशीबासका लागि लाखौँ नेपाली यहाँ आउने गरेका छन् । काशी नेपालीको साहित्यसाधनाको पनि सधैँदेखि ठुलो केन्द्र रहँदै आएको छ । बनारसका घाट र गल्लीमा घुम्दा हामीलाई लाग्दैन, हामी पनि बेग्लै देशमा घुमिरहेका छौँ, यहाँका यी सबै घाट र गल्लीसित हाम्रो अत्यन्त घनिष्ठ र आत्मीय सम्बन्ध रहने गरेको छ ।”

    जलजलाको त्यो भनाइले कम्युनिस्टको अन्तर्राष्ट्रवादको सोचाइलाई पनि व्यक्त गर्दछ । बनारस अवश्य पनि एउटा विदेशी भूमि थियो तर जलजलाको भनाइले बनारस वा गङ्गाप्रतिको उनको गहिरो आत्मीयता र सम्मानको भावलाई पनि व्यक्त गरेको छ । त्यस प्रकारको दृष्टिकोण उपन्यासभरि सबैतिर नै पाइन्छ । भारतका दिल्ली, लखनऊ, कानपुर, कुमाऊ, गढवाल, केरल, युरोपका फ्रान्स, जर्मनी, रुस, युनान आदि सबै देश वा त्यहाँका जनताप्रति उपन्यासमा उच्च स्तरको आत्मीयता वा सम्मानको भाव व्यक्त गरिएको पाइन्छ । त्यो विश्व बन्धुत्वको भाव पनि हो । उपन्यासमा कुनै देश वा कुनै देशका जनताप्रति वैमनस्यता वा अपमान र अपहेलनाको दृष्टिकोण अपनाएको पाइन्न यद्यपि यो कुरा बेग्लै हो कि मानिसद्वारा मानिसमाथि हुने सबै शोसण, उत्पिडन वा उनीहरूमाथि आधारित व्यवस्था वा वर्गको पूरै विरोध गर्ने गरिएको छ ।

    उपन्यासको कथाप्रवाह कुमाऊपछि भैरहवा जेल हुँदै काठमाडौँ उपत्यकातिर बढ्दछ । भैरहवा जेलको जुन चित्रण गरिएको छ, त्यो पनि वास्तविकतामाथि आधारित छ । त्यो जेलमा सामान्य बन्दीलाई भन्दा राजबन्दीलाई त्यससित जोडिएको अर्को घरमा राख्ने गरिन्छ । त्यहाँ महिलालाई दिउँसो बाहिर ल्याएर राखिन्छ भने साँझ माथिल्लो तलामा राजबन्दीलाई र तल्लो तलामा महिलालाई राख्ने गरिन्छ । माथिल्लो तलामा बस्ने राजबन्दी र तल्लो तलामा बस्ने महिलाबन्दीको बिचमा कुराकानी पनि हुने गर्दछ । उपन्यासमा माथिल्लो तलामा राखिएको एउटा माटाको टेबुलबाट महिलाले माक्र्सवादी–लेनिनवादी पुस्तक फेला पारिएको कुरा लेखिएको छ । वास्तवमा त्यहाँ कतिपय कम्युनिस्ट बन्दीले माटाको टेबुल बनाएर त्यहाँ आफ्ना भूमिगत साहित्य राख्ने गरेको कुरा पनि सत्य हो । उपन्यासमा महिलाबन्दीका जीवन वा मुद्दासम्बन्धी जुन चर्चा गरिएको छ, त्यो बेलाका वास्तविक घटनामाथि नै आधारित छन् । त्यही प्रकारले भैरहवा जेलबाट कतिपय राजबन्दीलाई प्लेनद्वारा काठमाडौँको जेलमा चलान गर्ने गरेको कुरा पनि सत्य हो यद्यपि उपन्यासमा त्यस सन्दर्भमा सुनन्दा र जयन्तको जुन चर्चा गरिएको छ, त्यो कल्पना हो ।

    सुनन्दा काठमाडौँ जेलबाट मुक्त भएपछि काठमाडौँ उपत्यका, स्वयम्भू वा पशुपतिनाथबारे जुन चर्चा गरिएको छ, त्यो पनि वास्तविकतामाथि नै आधारित छ । गोविन्द टन्डनले पशुपतिनाथबारे कैयौँ महत्त्वपूर्ण र अनुसन्धानमूलक पुस्तक लेखेका छन् । त्यहाँ पशुपतिनाथको नाथबारे सुनन्दा र गोविन्द टन्डनका बिचमा कुराकानी भएको जुन चर्चा गरिएको छ, त्यो काल्पनिक हो तर त्यसमा पशुपतिनाथसम्बन्धी उनका जुन विचारको उल्लेख गरिएको छ, त्यो उनको पिएचडीको शोधपत्र र उनले लेखेका कैयौँ पुस्तकमा प्रकट गरेका विचारमाथि नै आधारित छ ।
    उपन्यासमा जुन अष्टमातृकामाथि चर्चा गरिएको छ, त्यसको विवरण पनि त्यससम्बन्धी सामग्रीको विस्तृत अध्ययन र स्थलगत भ्रमणमाथि नै आधारित छ । त्यस सन्दर्भमा सुनन्दाको लैनसिङ वाङ्देलसित भेट भएको भनेर जुन चर्चा गरिएको छ, त्यो काल्पनिक हो तर त्यसमा वाङ्देलका पुस्तकमा प्रकाशित विचारलाई आधार बनाएर नै त्यसबारे चर्चा र परिचर्चा गर्ने प्रयत्न गरिएको छ । उपन्यासमा उपत्यकाका मन्दिर, संस्कृति आदिबारे जुन सामग्री दिइएको छ, ती सबै वास्तविक तथ्यमाथि आधारित छन् ।

    उपन्यासको एउटा महत्त्वपूर्ण पक्ष योगमाया र उनका कवितासित सम्बन्धित छ । योगमायासम्बन्धी जुन विवरण दिइएको छ, त्यो पनि वास्तविकतामाथि नै आधारित छ यद्यपि पशुपतिनाथको वृद्धाआश्रमसम्बन्धी चर्चा काल्पनिक नै हो । उपन्यासमा योगवाणी शीर्षकअनुसार योगमायाका जुन कविताको व्याख्या गरिएको छ, ती कविता पनि वास्तविक नै हुन् । काठमाडौँ उपत्यकापछि उपन्यासमा चितवनको चर्चा हुन्छ ।

    त्यहाँ जलजलाको घर, उनको बाबाआमा, बालककाल, विद्यार्थीकाल, उनको गिरफ्तारी र गौरको जेलमा उनलाई राखिएको विवरण पनि सत्य नै हुन् । उनका बुबा, आमा र निकटजनसित व्यापक सोधपुछ गरेर नै त्यो विवरण दिइएको छ । उपन्यासमा चितवनलाई नेपालको छयहत्तरौँ जिल्ला बताउने गरिन्छ । उपन्यासमा व्याख्या गरिएको त्यो नामकरण पनि वास्तविकतामाथि नै आधारित छ ।

    उपन्यासमा डण्डामा ढुङ्गेयुगीन औजार पाइएको वा पाल्पाको तिनहुँ खोलाको छेउमा रामापिथेकसको बङ्गाराको अवशेष पाइएको उल्लेख पनि ऐतिहासिक तथ्यमाथि नै आधारित छन् । उपन्यासमा सुनन्दाको कालभन्दा पछिका कैयौँ घटनाको पनि चर्चा गरिएको छ† जस्तो कि दाङदेउखुरी उपत्यकामा पाइएका ढुङ्गेयुगीन सभ्यताका अवशेष । उपन्यासको काल त्यो बेलासम्म पुग्दैन तैपनि पछिका घटनाको रूपमा नै तिनीहरूलाई उल्लेख गरिएको छ । एउटी जर्मन भूगर्भशास्त्री डा. गुडरनले दाङदेउखुरीको अध्ययन गरेर त्यहाँ पहिले ढुङ्गेयुगीन सभ्यता भएको पत्ता लगाएकी थिइन् । उनले इथोपिया महाराष्ट्र आदिसमेतको प्राग्इतिहासको अध्ययन गरेकी थिइन् । दाङदेउखुरीका ढुङ्गेयुगीन सभ्यताको अध्ययन गरेपछि उनले भारतको मद्रासमा बसेर आफ्नो अध्ययनसम्बन्धी नोट तयार पार्दै थिइन् । त्यही बेला उनका नोट चोरी भएका थिए । पछि महाराष्ट्रको पुनेमा दाङदेउखुरीको ढुङ्गेयुगीन सभ्यताको पाण्डुलिपि तयार गर्ने बेलामा त्यहीँ उनको हत्या गरिएको थियो । त्यसरी उनी भूगर्भशास्त्रीय अध्ययनकी एक महान् सहिद थिइन् । उपन्यासमा उनको जुन चर्चा गरिएको छ, त्यो ऐतिहासिक घटनामाथि नै आधारित छ ।

    उपन्यासमा लुम्बिनी र कपिलवस्तुको इतिहास वा त्यहाँका प्राचीन अवशेषबारे पनि विस्तृत रूपले प्रकाश हालिएको छ । उपन्यासमा बद्रे आलमको जुन चर्चा गरिएको छ, त्यो काल्पनिक नै हो । सुनन्दा एउटी काल्पनिक पात्र हुन् र उनीसित बद्रे आलमको भेट पनि भएको थिएन तर बद्रे आलम एउटा वास्तविक पात्र हुन् । उनले लामो समयदेखि लुम्बिनीमा काम गर्दथे र उपन्यासमा दिइएका कैयौँ विवरण पनि उनीबाट दिएका जानकारीमाथि नै आधारित रहेका छन् । उपन्यासमा कपिलवस्तु, लुम्बिनी र पश्चिम नवलपरासीका प्राचीन बौद्धकालीन अवशेषलाई मिलाएर पुरातात्त्विक बौद्ध सहरको निर्माणको जुन परिकल्पना गरिएको छ, त्यो कल्पना पनि वास्तविकतामाथि नै आधारित छ ।

    सुनन्दा र विद्या रामापिथेकसको बङ्गारा भएको ठाउँ थाहा पाउन तिनाउँ नदीको तिरैतिर दोभानसम्म गएको कुरा र त्यहाँ भोटमानसित भेट भएको कुरा काल्पनिक नै हो तर तिनाउ नदीको छेउमा रामापिथेकसको बङ्गाराको अवशेष फेला परेको कुरा सत्य हो र भोटमान पनि एउटा वास्तविक पात्र हुन् । उनी पहिले ओखरकोटमा बस्दथे र पछि आएर दोभानको आसपासको गाउँमा बस्न थालेका थिए ।

    सुनन्दा र विद्या जलजलालाई खोज्दै कपिलवस्तुको कुश्मामा पुग्छन् । त्यहाँ उनीहरूको हर्के, हमाने र टिकाबहादुर जिसीसित भेट हुन्छ । त्यस प्रकारको भेटघाटको प्रसङ्ग काल्पनिक नै हो तर हर्के, हमाने वा टिकाबहादुर त्यहाँका वास्तविक पात्र हुन् । हर्के, हमानेको घरबाट सुनन्दा र विद्या कुश्माको शिव पौडेलको घरमा जान्छिन् । त्यो प्रसङ्ग काल्पनिक हो तर उपन्यासमा उल्लेख गरिएका शिव पौडेल, दुर्गा पौडेल वा उनीहरूका बाबुआमा वा भाइबहिनी वास्तविक हुन् । त्यही प्रकारले त्यहाँ रक्तिमको टोली लिएर जीवन शर्मा आइपुगेको कुरा पनि काल्पनिक हो तर रक्तिमको टोली लिएर जीवन शर्मा गाउँगाउँमा हिँड्ने गरेको वा सांस्कृतिक कार्यक्रमको सञ्चालन गर्ने गरेको कुरा सत्य हो । उपन्यासमा त्यो टोलीमा लक्ष्मी गुरुङलाई पनि डोकामा बोकेर ल्याएको बताइएको छ । उनी त्यसरी विभिन्न सांस्कृतिक कार्यक्रममा जाने कुरा पनि सत्य हो ।

    उपन्यासमा कुश्माको गाउँको नजिकै थारूको बेदुलीगाउँमा झुम्रानाच भएको र त्यसमा सुनन्दा, विद्या र दुर्गा पनि नाचेको बताइएको छ । त्यो प्रसङ्ग काल्पनिक हो तर कुश्माको नजिकै थारूको बेदुली गाउँ भएको र त्यहाँ प्रायश: झुम्रानाच हुने गरेको कुरा पनि सत्य हो । उपन्यासमा त्यो गाउँका एक जना पात्र ज्ञानबहादुर चौधरीको चर्चा गरिएको छ । उनी पनि वास्तविक पात्र हुन् ।

    उपन्यासमा कुश्मा गाउँमा रश्मिराज नेपाली र दधिराम आचार्य आएको चर्चा गरिएको छ र शिव पौडेल, दुर्गा र गायत्रीसमेत कारमा चढेर खस जातिका प्रसिद्ध इतिहासकार बालकृष्ण पोख्रेललाई भेट्न तौलिहवा गएको बताइएको छ । त्यो प्रसङ्ग काल्पनिक हो तर ती सबै व्यक्तिहरू वास्तविक हुन् र बालकृष्ण पोख्रेल पनि खस जातिको इतिहाससम्बन्धी ठुलो विद्वान भएको कुरा सत्य हो । त्यहाँ उनले खस जातिको इतिहासबारे जे कुरा बताएका छन्, त्यो पनि तथ्यमाथि नै आधारित छ ।

    उपन्यासमा अजित र जलजला भारतको बढनी रेल स्टेसनभन्दा केही पश्चिमबाट बोर्डर काटेर जगदीशपुर गएको र जगदीशपुरको हरिराम श्रीवास्तवको घरमा बसेको । त्यहाँबाट भगवानपुर हुँदै शिवपुर गएर छन्दबहादुरको घरमा बसेको र अर्को दिन जितबहादुरसित प्युठान दोबाटोको बाटो हुँदै पहाड र जङ्गलको बाटो भएर असुरकोटको लक्ष्मण केसीको घरमा बसेको । त्यहाँ खाना खाएर अमलाचौरको कुलानन्दको घरमा राति बसेको लेखिएको छ । त्यो प्रसङ्ग काल्पनिक हो तर त्यो बेलाको भूमिगत कालमा जगदीशपुरको हरिराम श्रीवास्तवको घरमा बस्ने गरेको, शिवपुरमा छन्दबहादुरको घरमा बस्ने गरेको वा त्यहाँबाट प्युठान दोबाटो हुँदै पहाड र जङ्गलको बाटो भएर कुलानन्दको घरमा गएर बस्ने र त्यहाँबाट सोलाल्ना निस्केर कोशिखण्डको जङ्गलको बाटो हुँदै कौछे र ओखरकोट पुग्ने गरेको कुरा सत्य हो । त्यस सिलसिलामा उपन्यासमा कुर्लेखोलाकी साइली भाउजूको चर्चा गरिएको छ । उनी वास्तविक पात्र हुन् । जलजला उनको घरमा गएर बसेको कुरा पनि सत्य हो । त्यही प्रकारले उनले बाघले लैजान थालेको बाख्रोलाई खोसेको घटना पनि सत्य हो ।

    उपन्यासमा जलजला ओखरकोट काभ्रारुखकी साइली आमा कहाँ गएर बसेको कुरा पनि लेखिएको छ । त्यही प्रकारले ओखरकोटका कैयौँ वास्तविक पात्रको पनि चर्चा गरिएको छ† जस्तै कि आर्नेका जुठेकामी, ठुलापोखराका मोहनसिंह घर्तीक्षेत्री, नेपानेका थिर्गबहादुर घर्तीक्षेत्री, रातामाटाका ठाकुरप्रसाद शर्मा, कामीटोलका टुन्टे दमाई र मच्छीका भीम श्रेष्ठ र बालशिक्षा स्कुलका हेडमास्टर नरबहादुर, कामीटोलकी हेर्मी, तोरबहादुर जिसी आदि पनि थिए । त्यस सिलसिलामा उपन्यासमा ओखरकोटका जगत्बहादुर जिसी, दारमचौरका सिद्धिमान खड्का र रनबहादुर खड्का, नारीकोट कोइराका लिले र कालेकामी, टिम्मुरचौरका झुपबहादुर रोका र तुसाराका यदु गिरी र उनका छोराहरू भेषमान र ठाकुर गिरी आदि पनि वास्तविक पात्र हुन् । उपन्यासमा उनीहरूको जुन चर्चा गरिएको छ, त्यो काल्पनिक हो । त्यही प्रकारले मच्छी एरिया समितिको सेक्रेटरी जलजला बनेको कुरा पनि सत्य हो । २०३४ साल असारको पर्चा आन्दोलनपछि उनका नाममा वारेन्ट भएपछि उनी त्यहाँबाट भागेर इन्डिया गएकी थिइन् ।

    उपन्यासमा ओखरकोटको पुरानो इतिहास, त्यहाँका जाट राजा, परस घर्तीको नेतृत्वमा जिसीहरू जाट राजालाई हटाएर त्यहाँ आफ्नो राज्य कायम गरेको कुरा पनि वास्तविक हो ।

    उपन्यासमा फागुन २४ को आन्दोलन गौमुखी, टिम्मुरचौर, दियाल्नाचौर वा प्युठानको पर्चा विरोधी आन्दोलन वा प्युठानका थुप्रै कार्यकर्ताको गिरफ्तारीको जुन चर्चा गरिएको छ, ती सबै सत्य हुन् । उपन्यासमा लुङदोभाइका देविबहादुर खत्री, बिजुवारका रामहरि श्रेष्ठ, माडीखोला, प्युठानबाट थबाङसम्मको बाटो, सुनछहरीको झरना आदिको जुन चर्चा गरिएको छ, ती सबै सत्य हुन् । त्यही प्रकारले उपन्यासमा थबाङका बर्मन बुढा र उनकी बहिनी तुलकुमारीको पनि चर्चा गरिएको छ ।

    उपन्यासमा थबाङको भौगोलिक स्थितिको विस्तृत रूपले चर्चा गरिएको छ । त्यो चर्चा त्यहाँको स्थलगत अध्ययन र प्राप्त जानकारीमाथि नै आधारित छ । त्यहाँबाट जलजला धुरी जाने बाटाको पनि सिलसिलेवार प्रकारले चर्चा गरिएको छ । त्यो सबै विवरण त्यहाँको स्थलगत भ्रमणको आधारमा नै गरिएको छ ।

    उपन्यासमा थारू, मगर र खसको इतिहासको पनि विस्तृत चर्चा गरिएको छ । त्यस प्रकारको सबै विवरण उनीहरूको इतिहासको अध्ययनमाथि नै आधारित छ र त्यस सन्दर्भमा इतिहाससम्बन्धी कतिपय तथ्य फरक परेको सम्भावनालाई अस्वीकार गर्न सकिन्न तर त्यो सबै विवरण ती ३ ओटै जातिको इतिहासको सम्भव भएसम्म अध्ययनको आधारमा नै चर्चा गरिएको छ । उपन्यासमा गुरुङ जातिको पनि केही चर्चा गरिएको छ ।

    उपन्यासमा कर्णाली प्रदेशको पनि विस्तृत रूपले विवरण दिने प्रयत्न गरिएको छ । त्यस सन्दर्भमा कर्णाली नदी र रारातालको प्राग्ऐतिहासिक महत्त्व वा ती दुवै प्राग्ऐतिहासिक टेथिस सागरका अवशेष भएको कुरा पनि वास्तविक हो । कर्णाली प्रदेशको इतिहास, संस्कृति, देउडानाच, त्यहाँका विभिन्न जाति, त्यहाँका मतवाली क्षेत्री, मष्टा आदिको जुन चर्चा गरिएको छ, त्यो पनि वास्तविकतामाथि नै आधारित छ ।
    उपन्यासमा नेपाल र भारतबाहेक युरोपका कैयौँ देशको जस्तै कि फ्रान्स, जर्मनी, रुस, युनानको इतिहास, संस्कृति, त्यहाँका राजनैतिक घटनाक्रम हिटलर र फासिज्म, स्तालिनग्राडको युद्ध, लेनिनग्राडको नाकाबन्दी, रुसको प्रतिक्रान्ति आदिबारे पनि बढीभन्दा बढी प्रकाश हाल्ने प्रयत्न गरिएको छ । त्यहाँ ती देशको जुन विवरण दिइएको छ, त्यो त्यहाँको स्थलगत भ्रमण र ती देशसम्बन्धी सामग्रीको अध्ययनमाथि नै आधारित छ ।

    उपन्यासमा जलजलाले अन्तरिक्षमा भ्रमण गरेको उल्लेख गरिएको छ । त्यस प्रकारको भ्रमण काल्पनिक नै भएको कुरा प्रस्ट छ तर उपन्यासमा अन्तरिक्ष, सौर्यजगत्, दुधपथ, आकाशगङ्गा र अन्य कैयौँ सुपर आकाशगङ्गा आदिबारे जुन चर्चा गरिएको छ, तिनीहरूबारे विस्तृत अध्ययन गरेर त्यो सबै विवरणलाई बढीभन्दा बढी यथार्थ रूपमा प्रस्तुत गर्ने प्रयत्न गरिएको छ ।

    जलजला अन्तरिक्षबाट फर्कदा उनले संसारका सबै महाद्वीप, महासागर, संसारका विभिन्न दृश्य आदिको अवलोकन गरेको बताइएको छ । त्यसो गर्दा उपन्यासको मुख्य विषयवस्तुमा परेका फ्रान्स, जर्मनी, रुस र युनानबाहेक पृथ्वीका अन्य भूभागको पनि चर्चा गर्ने प्रयत्न गरिएको छ । बताइरहनुपर्ने आवश्यकता छैन कि त्यस प्रकारको चर्चा वास्तविकतामाथि नै आधारित छ । त्यसरी भन्न सकिन्छ, उपन्यासमा ठुलो मात्रामा कल्पनाको पनि प्रयोग गरिएको छ तर त्यसका साथै उपन्यासको कथानकलाई बढीभन्दा बढी यथार्थ धरातलमा स्थापित गर्ने पनि प्रयत्न गरिएको छ ।

    उपन्यासको अन्तमा अजित र सुनन्दाको बनारसको गङ्गा नदीमा एउटा मोटरबोटमा विवाह भएको देखाइएको छ । त्यहाँको त्यो प्रसङ्ग काल्पनिक हो तर गङ्गामा मोटरबोटमा पार्टीका साथीहरूको विवाह हुने गरेको कुरा सत्य हो । पहिले हाम्रो पार्टीका एक जना साथी निनु चापागाईंको गङ्गा नदीमा नै मोटरबोटमा विवाह सम्पन्न भएको थियो । त्यही घटनालाई आधार बनाएर सुनन्दा र अजितको पनि गङ्गा नदीमा मोटरबोटमा विवाह भएको काल्पनिक प्रसङ्ग जोडिएको छ । त्यो विवाहको प्रसङ्गका साथै उपन्यासको अन्त्य हुन्छ ।

    आइतबार, चैत ०१, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति
    मुन्धुम पैदलमार्ग र प्रिय सुदीप
    जुन गाउँले मलाई धेरै दियो
    जीवन र मृत्यु
    बाल स्रष्टाहरूको सिर्जनात्मक उत्सव सम्पन्न, सिर्जना डबलीको वेबसाइट विमोचन
    ‘१२ मे’ नाटक भदौ २१ गते मञ्चन हुने

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ५.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • २.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ३.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ४.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ५.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ६.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ७.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ८.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.