काठमाडौँ । सुर्खेतकी इनिशा विकको बलात्कारी र हत्यारालाई कारबाही गर्नको लागि राष्ट्रिय जनमोर्चाले जोडदार माग गरेको छ । आज विहिबार फागुन २८ गते राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष तथा केन्द्रीय प्रवक्ता दुर्गा पौडेलले वक्तव्य मार्फत सो माग गर्नुभएको हो ।
‘वास्तवमा त्यो एउटा स्थानीय घटना मात्र होइन र त्यो राष्ट्रिय समस्या नै हो ।’ पौडेलले अगाडि लेख्नुभएको छ– ‘त्यसैले सरकारले सुर्खेतको इनिशा विकको अपहरण र हत्याको घटनाबारे गम्भीरतापूर्वक ध्यान दिनका साथै राष्ट्रिय रुपमा पनि त्यस प्रकारका घटनाहरूको रोकथामका लागि कडा कारबाही गर्नुपर्ने आवश्यकतामा हाम्रो पार्टीले जोड दिन्छ ।’
इनिशा विकप्रति राष्ट्रिय जनमोर्चाले श्रद्धाञ्जाली चढाउँदै उनको सन्तप्त परिवारप्रति हार्दिक समवेदना प्रकट गर्नुका साथसाथै त्यो घटनाको विषयमा देशव्यापी रुपमा आवाज उठाउन पार्टीले सम्पूर्ण नेपाली जनतासित अपिल गरेको छ ।
वक्तव्यमा लेखिएको छः
“सुर्खेतमा इनिशा विकको बलात्कार र हत्याको घटनालाई राष्ट्रिय जनमोर्चाले गम्भीर रुपमा लिएको छ । त्यसबारे छिटै उच्च स्तरिय छानविन गरि दोषीहरू माथि कारबाही गर्नको लागि हाम्रो पार्टीले जोडदार माग गर्दछ ।
प्राप्त जानकारी अनुसार उनी सुर्खेतको एउटा विद्यालयकि ११ कक्षामा पर्ने छात्रा थिइन् । उनी ट्युसन पढ्न गएको बेलामा उनीमाथि सामुहिक बलात्कार भएको हो र बेहोस अवस्थामा नै उनलाई छाडिएको बताइन्छ । पछि उनलाई अस्पताल लैजादा डाक्टरहरूले उनलाई मृत घोषित गरे।
देशमा लामो समयदेखि बलात्कार र हत्याका घटना हुँदै आएका छन् । त्यस सिलसिलामा इनिशा विकको घटना एउटा नविनतव र गम्भीर अपराधजन्य घटना हो । बलात्कार र हत्या देशको नै अत्यन्त गम्भीर समस्या भएको छ । त्यसप्रति गम्भीरतापूर्वक ध्यान दिन हामीले प्रहरी, प्रशासन र केन्द्रीय सरकारको समेतसित माग गर्दछौँ । वास्तवमा त्यो एउटा स्थानीय घटना मात्र होइन र त्यो राष्ट्रिय समस्या नै हो । त्यसैले सरकारले सुर्खेतको इनिशा विकको अपहरण र हत्याको घटनाबारे गम्भीरतापूर्वक ध्यान दिनका साथै राष्ट्रिय रुपमा पनि त्यस प्रकारका घटनाहरूको रोकथामका लागि कडा कारबाही गर्नुपर्ने आवश्यकतामा हाम्रो पार्टीले जोड दिन्छ ।
अन्त्यमा हामीले इनिशा विकप्रति श्रद्धाञ्जाली चढाउँदै उनको सन्तप्त परिवारप्रति हार्दिक समवेदना प्रकट गर्न चाहान्छौँ । त्यसका साथै त्यो घटनाको विषयमा देशव्यापी रुपमा आवाज उठाउन हाम्रो पार्टीले सम्पूर्ण नेपाली जनतासित अपिल गर्दछ ।”

