काठमाडौँ । एसोसिएसन अफ नेपाली ओरिजिन (एएनओ) को शनिबार हङकङमा सम्पन्न सम्मेलनले पछिल्लो समय मध्यपूर्वी मुलुकमा कार्यरत नेपालीहरूको सुरक्षामा ध्यान दिन नेपाल सरकारको ध्यानाकर्षण गराएको छ ।
विश्वमा देखापरिरहेको सुरक्षा चुनौतीका सन्दर्भमा हाल मध्यपूर्वमा बसोवास गरिरहेका नेपालीहरूको सुरक्षाप्रति विशेष चासो दिन र आवश्यक पहल गर्न सरकारले ध्यान पुर्याउनुपर्ने प्रस्ताव सो सम्मेलनमा पारित भएको हो ।
सम्मेलनले विश्वका जुन ठाउँमा जन्मे पनि र जुन देशको नागरिकता बोके पनि नेपाली मूलको पहिचान गरी नेपालीभाषी नागरिकहरूका बीचमा आपसी एकता कायम गर्दै नेपाली जातिको संरक्षणा र सम्वद्र्धन गर्दै सो शक्तिलाई नेपालको हितमा प्रयोग गर्नुपर्ने प्रस्ताव पनि पारित गरेको छ ।
हङकङ सरकारका डिस्ट्रिक काउन्सिलर प्रथम नेपाली अरुणा गुरुङ र एएनओका अन्तर्राष्ट्रिय कमिटी महासचिव चूडामणि भट्टराईद्वारा शनिबार साँझ उद्घाटन गरिएको सो सम्मेलनमा हङकङमा रहेका नेपाली मूलका तथा नेपालीभाषी ठूलो संख्याका नागरिकको सहभागिता रहेको एएनओले विज्ञप्तिमार्फत जनाएको छ ।