• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘वैध गतिविधिलाई पनि अपराध बनाइँदैछ, विरोध गर्ने विद्यार्थी जेल पुग्छन्’: सर्वोच्च अदालतका न्यायाधीश भुयन

जनजाति मुक्ति आन्दोलन

भारतीय प्रगतिशील विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. जीवन र मृत्यु

कर्णाली प्रदेश र मतवाली क्षेत्री–२

"सन्दर्भ ‘कामरेड जलजला’ उपन्यास–५१ "

  •   आइतबार, फागुन २४, २०८२ मा प्रकाशित
  • मोहनविक्रम सिंह ##

    Advertisement

    उपन्यासमा कर्णाली प्रदेशका मतवाली क्षेत्रीको उल्लेख गर्दै लेखिएको छ– “खसको एउटा समूहले जनै लगाएर तागाधारी बन्ने काम गरेन । उनीहरूले जनै लगाउँदैनथे । रक्सी खान रोक थिएन । उनीहरूले हिन्दु पुरोहितबाट कर्मकाण्ड गराउँदैनथे । आफ्ना धामीझाँक्रीबाट कर्मकाण्ड गराउँथे । त्यसैले उनीहरूलाई मतवाली क्षेत्री भनिन्छ । जुम्लामा उनीहरूलाई पावइ भनिन्छ । खास गरेर जुम्ला र बझाङमा उनीहरूको बाहुल्यता थियो ।

    मतवाली क्षेत्री हिन्दु धर्मको असरमा कम परे । उनीहरूले खस जातिका परम्परागत सामाजिक रीतिथिती, खास गरेर परम्परागत पूजाको विधिलाई बचाएर राखेको देखिन्छ । तिनीहरूबाट खस जातिको प्राचीन चालचलन वा सामाजिक व्यवस्थाबारे धेरै ज्ञान हुन सक्छ । उनीहरूले बचाएर राखेको पूजाको विधि वास्तवमा खस जातिको पुरानो इतिहासको मौलिक सम्पत्ति हो ।”

    त्यस सिलसिलामा उपन्यासमा अगाडि लेखिएको छ : “मतवाली क्षेत्री वा पावइमा कैयौँ प्रकारका पूजाका विधि प्रचलित छन् । त्यसलाई ‘छेका’ भन्ने गरिन्छ । ती छेका उनीहरूका ‘मुन्धुम’ वा ‘वेद’ का अंश हुन्छन् । बेग्लाबेग्लै प्रयोजनका लागि बेग्लाबेग्लै छेकाको प्रयोग गरिन्छ ।

    तिनीहरूमध्ये एउटा हो– ‘मैया बोलाउने छेको’ । त्यो छेको मरेका आत्मालाई बोलाउन प्रयोग गरिन्छ । त्यसका ‘थेगा’ तल लेखिएअनुसार छन् : ‘तावा, तिम्ला, रारा, रुम्स, नाम्ला, स्वावा, भाइसरा, स्वावा गाउँकोट, निम्स जिमुवा, भाइसरा, घुँडा, वादी बन्धन, नाङ्गा, बेला, खुम्से, आमा पत्ताला, नाख, धारादुध, बेलाखुम्से, वाला सिमी, ताइनाख, डाम्लाताता, माथाकेस भयौ, दारी जुँगाफाली, माता–पिता, ज्ञान जुन सोल आदि ।
    उनीहरूका त्यही प्रकारका अन्य कैयौँ छेका छन्† जस्तै कि मूलछेको, रैलासभाइ छेको, धस्देउको छेको, मनचुत्याका छेको, देउको खुसेको छेको, झारल खुरुलको छेको, डाँस डोइलको छेको, व्यास ऋषिको छेको, च्यार्काबुको बाना फेर्ने छेको, फूल छिप्ने तथा स्याउली धारको छेको, पितर पठाउने छेको आदि ।” ती सबैका पहिलो छेकोमा लेखिएजस्तै बेग्लाबेग्लै थेगाहरू थिए ।

    सामान्य रूपले हेर्दा ती छेको वा थेगा अर्थहीन शब्दजस्ता मात्र देखिन्छन् तर सायद तिनीहरूमा कुनै गूढ अर्थ पनि निहित हुन सक्छ । ती छेको वा थेगा शताब्दियौँदेखि उनीहरूमा चल्दै आएका छन् । उनीहरूका स्थानमा हुने परिवर्तन अनुसार तिनीहरूमा प्रयोग गरिने भाषा वा शब्दको परिवर्तन भएको पनि हुनसक्छन् तर त्यस प्रकारको परिवर्तनमा कतिपय निरन्तरताका अंश पनि हुन सक्छन् ।

    सुनन्दालाई लाग्यो, प्रकट रूपमा हेर्दा अर्थहीनजस्ता भएका ती छेको वा थेगाको मानवशास्त्रीय वा भाषाशास्त्रीय अध्ययन हुन सकेमा तिनीहरू भित्रको गुण, अर्थ वा तिनीहरूका पछाडि लुकेको खस जातिको प्राचीन इतिहासका कैयौँ रहस्यको उद्घाटन हुने सम्भावनालाई पनि अस्वीकार गर्न सकिन्न ।

    मतवाली क्षेत्रीका ती छेकाबारे विचार गर्दा उनको ध्यान कुसुन्डा, थारू र मगरतिर गयो कि उनीहरूका पनि त्यही प्रकारका प्राचीनकालदेखि चल्दै आएका छेको वा थेगा पनि हुन सक्दथे । तिनीहरूको अध्ययन गर्न सकेमा उनीहरूको प्राचीन इतिहासबारे धेरै जानकारी हुन सक्थ्यो ।

    त्यस सिलसिलामा उपन्यासमा लेखिएको छ– “मतवाली क्षेत्रीको महत्त्व यो कुरामा छ, कुमाउँ, गढवाल वा नेपालका अन्य खसले आफ्नो मौलिक संस्कृति गुमाइसकेका छन् तर सबै प्रकारको प्रतिकूल परिस्थितिमा पनि मतवाली क्षेत्रीले तिनीहरूलाई बचाएर राखेका थिए ।
    वास्तवमा भन्ने हो भने मतवाली क्षेत्री बिसौँ शताब्दीको चौतर्फी घेराका बिचमा रहेको आदिम प्राचीन जाति हो वा कमसेकम उनीहरूको संस्कृतिभित्र प्राचीन समाजको केही अंश सूक्ष्म रूपमा विद्यमान छ ।”

    प्राचीन आदिम जातिको अध्ययन गर्न समाजशास्त्री वा मानवशास्त्री अफ्रिका, अस्ट्रेलिया, साइबेरिया आदि देशका दूरवर्ती पिछडिएका ठाउँमा जान्छन् तर हाम्रो आफ्नै आधुनिक समाजका बिचमा रहेको त्यो आदिम संस्कृतितिर मानिसको कम ध्यान गएको थियो अथवा त्यसबारे कसैले अध्ययन गरेको भए पनि उनलाई जानकारी नहुन सक्छ । स्वयम् खसले आफ्नो मौलिक समाज र संस्कृतिलाई छाडेर धेरै टाढा गएका थिए तर मतवाली क्षेत्रीले त्यो प्राचीन समाजको एउटा महत्त्वपूर्ण पक्षलाई बचाएर राखेका थिए ।

    सुनन्दाले सोचिन्, त्यसो गर्नु उनीहरूका लागि कसरी सम्भव भएको थियो । वास्तवमा त्यो धेरै नै रहस्यमय र महत्त्वपूर्ण कुरा थियो । लामो र गहन अध्ययनद्वारा नै त्यसको जबाफ प्राप्त हुन सक्थ्यो ।

    कतिपय लेखकले यो विचार प्रकट गरेका थिए, मतवाली क्षेत्री नै खस जातिका मूल अवशेष हुन् । खसमध्ये कोही ठकुरी बने, कोही तागाधारी क्षेत्री तर मतवाली क्षेत्री पूर्ववत् मूल रूपमा रहेका छन् ।

    खसको विषयमा अध्ययन गर्दागर्दै सुनन्दाको ध्यान मस्टा देवतामा गयो । त्यो पनि खस जातिसित सम्बन्धित एउटा महत्त्वपूर्ण सांस्कृतिक पक्ष थियो ।

    मस्टो कर्णाली प्रदेशका खसका मूल कुल देवता हुन् । त्यो प्रदेशभरि नै मस्टाको पूजाको व्यापक प्रचलन छ ।

    त्यस सिलसिलामा उपन्यासमा लेखिएको छ– “खस मूल रूपमा गैरहिन्दु वा अवैदिक आर्य थिए तर पछि उनीहरूको हिन्दुकरण हुँदै गएको थियो । त्यही कुरा मस्टोबारे पनि पाइन्छ ।

    मस्टाबारे पढ्दा सुनन्दाका मनमा यो कुरामा कुनै दुबिधा रहेको थिएन, उनी मूल रूपमा अवैदिक वा गैरहिन्दु देवता नै थिए अथवा मस्टा आदिम जातिमा आम रूपमा पाइने प्राकृतिक पूजाको एउटा रूप नै थियो । पछि उनीहरूको पनि हिन्दुकरण हुँदै गएको थियो ।”

    मस्टोको हिन्दुकरण हुनका साथै उनलाई विभिन्न हिन्दु देवता वा देवीसँग जोडेर प्रस्तुत गर्ने गरिएको छ । मस्टोको उत्पत्ति कसरी भयो ? त्यसबारे विभिन्न धार्मिक कथा वा किंवदन्ती थिए । मस्टोको अवधारणा मूल रूपमा सरल र प्राकृतिक प्रकारको थियो । उनको कुनै आकार हुँदैनथ्यो । एउटा सामान्य ढुङ्गालाई मस्टाको रूपमा पूजा गर्ने गरिन्थ्यो तर उनीसित कैयौँ देवीदेवता, धार्मिक कथा वा किंवदन्तीलाई जोडेर उनलाई रहस्यमय, अलौकिक र दैवी स्वरूप प्रदान गर्ने प्रयत्न गरिएको थियो । कतिपय अवस्थामा उनलाई मानवीकरण गर्ने काम पनि गरिएको थियो ।

    एउटा किंवदन्तीअनुसार शिव मानसरोवरमा भ्रमण गर्न आएका बेलामा उनको वीर्य स्खलन भएको थियो । त्यो वीर्यबाट आगो बल्न थाल्यो । त्यही बेला त्यहाँ आएका दुईओटी अप्सराले त्यो आगो तापे । त्यसबाट उनीहरूको गर्भधारण भयो । त्यसपछि दुईओटीमध्ये एउटीले मस्टालाई जन्म दिएकी थिइन् भने अर्कीले कालिका, मालिका र दुर्गा जन्माएकी थिइन् । कतिपय किंवदन्तीअनुसार दोस्री अप्सराले कालिका, मालिका र दुर्गा मात्र होइन, नौ बहिनी देवीलाई जन्म दिएको पनि बताइएको छ ।

    मस्टाको उत्पत्तिसम्बन्धी अरू पनि कैयौँ कथा वा किंवदन्ती पाइन्छन् ।

    शङ्करले दश दिशाको रक्षा गर्न दश गणलाई पठाएका थिए । तिनीहरूमध्ये मुख्य गण मस्टा थिए । उनलाई कैलाश पर्वतको रक्षाको लागि खटाइएको थियो । हिन्दुकुश पर्वतको आसपासमा विभिन्न पक्षका बिचमा युद्ध हुँदा मस्टोले उनीहरूका बिचमा मध्यस्थताको भूमिका खेलेका थिए । त्यसैले उनको मस्टाको रूपमा पूजा गर्न थालिएको थियो ।

    मस्टालाई इन्द्र र उनकी पत्नी मन्दाकिनीका पुत्र पनि भनिन्थ्यो । अर्जुनलाई पनि इन्द्रको नै पुत्र मानिन्छ । पाण्डव स्वर्ग जाँदा अर्जुनले आफ्ना भाइ मस्टालाई पृथ्वीको सुरक्षाको जिम्मा दिएको पनि भनिन्छ ।

    हुम्लाको एउटा किंवदन्तीअनुसार देवासुर सङ्ग्रामको समयमा देवीहरू असुरको अपहरणमा परेका थिए । उनीहरूलाई मुक्त गर्न गएका देवगणलाई पनि बन्दी बनाइएको थियो । एक जना लसुर भन्ने मस्टाले ती सबै देवी र देवतालाई मुक्त गराएका थिए । उनलाई नै मस्टा भन्न थालियो र देवीले उनलाई दाइ बनाए ।

    कर्णाली प्रदेशका विभिन्न गाउँका मानिसमा उनीहरूका पुर्खाले मस्टालाई ल्याएर स्थापित गरेका कैयौँ किंवदन्ती पनि प्रचलित छन् । मस्टाको उत्पत्तिबारे अरू पनि कैयौँ प्रकारका किंवदन्ती पाइन्छन् ।

    कतिपय लेखकले मस्टा कास्मिरबाट बझाङको ढडारमा आएको भनेर लेखेका छन् । एउटा किंवदन्ती मत मस्टाको उत्पत्ति जुम्लाको रासकोटमा एउटा खर्सुको रुखको टोड्कामा भएको भन्ने पनि छ । त्यस सिलसिलामा मस्टाको उत्पत्ति कैलाशमा भएर जालन्धर, ढँडार, बान्नी, खप्तड आदिबाट कर्णाली प्रदेश र नेपाल राज्यव्यापी रूपमा फैलिएको पनि भनिन्छ ।

    कतिपय लेखकले मङ्गोलिया, तिब्बत, चीन, साइबेरिया, हङ्गेरी, बुल्गेरिया आदि देशका मूल देवता मस्टा भएको पनि लेखेका छन् । एउटा लेखकले चीनको एउटा महाकाव्यको उल्लेख गर्दै दुधपथ (आकाशगङ्गा) मा पैदा भएको पनि लेखेका छन् ।

    तौलिहवामा भेट हुँदा बालकृष्ण पोखरेलले उनलाई बताएका थिए– “कश (जातिले) बेबिलोनबाट नेपाल आउँदा बाह्र भाइ मस्टाको धारणालाई हिमालसम्म ल्याएको हुन सक्छ ।” कश पनि खसको पूर्व रूप थियो र पछि कशबाट खस बनेको थियो । कर्णाली प्रदेशमा आम रूपमा यो विश्वास छ कि मस्टा बाह्र भाइ थिए । उनीहरूका नौओटी बहिनी थिए । कतिपय ठाउँमा उनीहरू मस्टाका बहिनी नभएर अनुचरी भएको बताइएको छ ।

    मस्टाका बहिनीलाई पनि देवीकरण गरियो र उनीहरू सबैलाई देवीका रूपमा प्रतिष्ठापित गरियो । उनीहरूका नाम यस प्रकार छन् : त्रिपुरा, बाला, सुन्दरी, मालिका, काली, वागेश्वरी, कनक सुन्दरी, त्रिपुरेश्वरी, बडीमालिका ।

    मस्टा र उनका बहिनीबारे अरू पनि धेरै किंवदन्ती प्रचलित छन् । विभिन्न ठाउँमा मस्टा र उनका बहिनीको नाम र सङ्ख्यामा पनि कैयौँ भिन्नता पाइन्छन् । कुनै ठाउँमा एउटा दाइमस्टा र उनका सोह्रओटा बहिनी भएको लेखिएको छ तैपनि सामान्यत: बाह्र भाइ मस्टा र उनीहरूका नौ बहिनीको प्रचार सबैभन्दा बढी छ । खस नेपालमा जहाँ जहाँ पुगेका छन्, देवालीको समयमा धामीहरूले बाह्र भाइ, नौ बहिनी भनेर उच्चारण गर्ने गर्दछन् ।

    मस्टाको कुनै रूप वा आकार नभएको मानिन्छ अनि बाह्र भाइ हुने र उनीहरूका नौओटी बहिनी हुने कुरा पछि थपिएको कुरा नै हो तैपनि जनमानसमा उनीहरू बाह्र भाइ र नौ बहिनी भएको विश्वास व्यापक रूपमा प्रचलित छ । कुरा त्योभन्दा पनि बढी छ ।

    मस्टरू बाह्रओटा मात्र होइन, चौरासीओटा भएको पनि बताइन्छ । कतिपय लेखकले तिनीहरूको सङ्ख्या अनगिन्ती छ भनेर पनि लेखेका छन् । वास्तवमा विभिन्न गाउँको नाम र मानिसका बेग्लाबेग्लै उच्चारणअनुसार उनीहरूका नाम र सङ्ख्यामा धेरै नै भिन्नता हुने गर्दथ्यो । समग्रमा मस्टा देवता दुई प्रकारका रहेका छन्– दाह्रेमस्टा र दुधे मस्टा । दाह्रे मस्टालाई बलि चढाइन्छ तर दुधे मस्टालाई दुध र फलफूल मात्र चढाइन्छ । दाह्रे मस्टा कालो, रातो तथा दुधे मस्टा सेतो भएको मानिन्छ ।

    मस्टा निराकार हुने भएको हुनाले उनीहरूको रङ कसैले देख्न सक्दैनथ्यो र धामीद्वारा नै उनीहरूको रङको वर्णन गरिन्छ । खसमा दाह्रे मस्टाको पूजा नै बढी प्रचलनमा छ ।

    कर्णाली प्रदेशका बेग्लाबेग्लै गाउँमा बेग्लाबेग्लै नामका मस्टा पाइन्छन् । प्रारम्भमा सामान्य प्राकृतिक रूपमा एउटा ढुङ्गाका रूपमा मात्र रहेको मस्टालाई एकातिर कैयौँ देवी र देवताहरूसँग जोडेर उनीहरूलाई दैवी वा अलौकिक रूपमा प्रस्तुत गरिएको छ भने अर्कातिर समाजको वा कतिपय गाउँको बनावटअनुसार उनीहरूको मानवीकरण गर्ने र सामाजिक रूप दिने पनि प्रयत्न गरिएको छ । मस्टालाई मानवीकरण गर्ने क्रममा उनीहरूका कैयौँ नातागोता, भतिजा, मामा, भान्जा, भान्जी, इष्टमित्र, सेवक, परिवार आदि पनि भएको बताइन्छ । मस्टाका बहिनीको विवाह भएर उनीहरूका थुप्रै सन्तान भएकाले उनीहरूले (बहिनीका छोराछोरीले) मस्टालाई मामा मस्टा भन्ने गरेको जनश्रुति पनि प्रचलित छ ।

    खसको बेग्लाबेग्लै विवरणबाट आआफ्ना धारणाअनुसार मस्टाको व्याख्या गर्दै वा तिनीहरूबारे नयाँ नयाँ कथा वा किंवदन्ती जोड्दै गएको कुरा प्रस्ट छ तर जे होस्, मस्टो संस्कृतिले कर्णाली प्रदेशमा धेरै नै घर जमाएको देखिन्छ । यो स्पष्ट थियो, खसमा मस्टोको प्रचलन पहिलेदेखि नै थियो तर जहाँ खस हराउँदै गए, त्यहाँ मस्टो संस्कृति पनि हराउँदै गयो तर खसको अस्तित्व रहेको ठाउँमा मस्टोको पनि अस्तित्व रहिरह्यो ।
    खस अन्य जिल्लामा जानुका साथै वा उनीहरूमा हिन्दुकरणको प्रक्रिया बढेर जानुका साथै मस्टाको प्रभाव कम हुँदै गयो तर देवालीको प्रचलन कायम रहिरह्यो । देवाली मान्ने चलन खसमा मात्र छ र दक्षिणबाट आएका विभिन्न क्षत्री वा ब्राह्मण जातिमा त्यो चलन छैन ।

    देवाली खसको कुल पूजा हो र त्यसले उनीहरूलाई मस्टा संस्कृतिसित जोड्छ । मूल खस जातिसित जोडिएका ब्राह्मण, ठकुरी, क्षेत्री, सन्यासी, दलित आदिका विभिन्न थरमा पनि देवालीको चलन पाइन्छ । त्यसले उनीहरूको सम्बन्ध मूल रूपमा खससित भएको कुरालाई नै बताउँछ ।
    प्राय: कतिपय मानिसले खस भनेको क्षेत्री नै हो भन्ने सोच्छन् तर त्यो कुरा सत्य होइन । क्षेत्री हिन्दु वर्णाश्रमअन्तर्गतको एउटा जात हो तर खस एउटा जाति नै हो : एउटा प्राग्ऐतिहासिक वा पूर्ववैदिक जाति । उनीहरूमा हिन्दुकरण हुनुका साथै खस जाति पनि कैयौँ जात वा थरमा बाँडिएको थियो । त्यसभित्र ब्राह्मण, क्षेत्री, ठकुरी, सन्यासी, दलित आदिका विभिन्न थर आउँछन् । ती सबैको सम्मिलित नाम नै खस हो ।

    सुनन्दाले धेरै बेरसम्म मस्टा संस्कृतिबारे विचार गरिरहिन् । प्रारम्भमा एउटा सामान्य ढुङ्गाको रूपमा पूजा गरिएको मस्टाले कति धेरै हाँगाबिँगा हालेको थियो, दैवी र मानवीय दुबै रूपमा । पहिले उनीहरूले मस्टाको कल्पना गरे अनि उनीहरूले आफूलाई सम्पूर्ण रूपले मष्टाको शरणमा समर्पित गरे ।

    मानिसले एउटा शक्तिको रूपमा मस्टाको कल्पना गरेका थिए । त्यो शक्तिको निर्माण स्वयम् मानिसको कल्पनाले नै गरेको थियो अनि उनीहरूले यो सोच्न थालेका थिए, त्यो शक्तिले उनीहरूलाई सबै प्रकारका प्राकृतिक प्रकोप, रोगव्याधि आदिबाट बचाउनेछ । उनीहरूका वस्तुभाउको रक्षा गर्नेछ र उनीहरूलाई सधैँ आपत्बिपत्बाट बचाउनेछ । उनीहरूको यो पनि विश्वास थियो, मस्टाले नै सबै न्यायअन्याय पनि छुट्याउनेछ । धामीको माध्यमद्वारा मस्टाले सधैँ न्यायको रक्षा गर्नेछ ।

    मस्टाको विषयमा सोच्दासोच्दै सुनन्दाको मनमा एउटा विचार उठ्यो– कहीँ संसारभरका सबै देवीदेवता, ईश्वर, भूतप्रेत आदि सबैको उत्पत्ति मस्टाको जसरी उत्पत्ति भयो, त्यसरी नै उत्पत्ति भएको ता थिएन ?

    उनले ईश्वरसम्बन्धी एउटा विश्वकोषमा ईश्वरको सङ्ख्या हजारौँ भएको पढेकी थिइन् । उनले राहुल सांकृत्यानले लेखेको ‘दर्शनदिग्दर्शन’ पुस्तकमा यो पनि पढेकी थिइन्, मानिसले आफ्नो शरीर समाजको स्वरूप, आवश्यकता वा मनोविज्ञानअनुसार नै ईश्वर वा देवी देवताको स्वरूपको निर्माण गर्दछन् । उनले यो पनि लेखेका थिए, साँढेले ईश्वरको कल्पना गर्न सकेको भए उनीहरूले आफ्नो स्वरूपअनुसार नै ईश्वरको रूपको चित्र बनाउँथे ।

    एउटा सामान्य ढुङ्गाको रूपमा खुला आकाशमुनि बस्ने वा एक प्रकारले कुनै आकार नभएको मस्टाको कति धेरै रूपमा चित्रण गरिएको थियो ? सायद—निश्चित रूपले—ईश्वरको पनि बेग्लाबेग्लै देशको अवस्था, समाजको रूप, मानवीय स्वरूप, चेतनाको स्तर वा विभिन्न कालखण्डमा तिनीहरूमा हुने परिवर्तनअनुसार ईश्वरको रूपमा पनि परिवर्तन हुँदै गयो ।

    थारू, मगर र खस जातिको इतिहासको मोटामोटी अध्ययन गरेपछि उनी ती तीनओटै जातिमा देखा परेको एउटा प्रवृत्तिप्रति सुनन्दाको विशेष ध्यान गयो । त्यो प्रवृत्ति थियो, आफूलाई हिन्दुकरण गर्ने प्रवृत्ति । उनीहरूमा हिन्दु धर्मको असर बढेर जानुका साथै आफ्नो उद्गम हिन्दु राजवंशबाट भएको देखाएर उच्चताको प्रदर्शन गर्ने प्रवृत्ति देखा परेका थिए । त्यो स्वयम् आफ्नो जातिप्रतिको हीनभावको द्योतक थियो । सायद लामो समयसम्म हिन्दु शासकको अधीनमा बस्दा उनीहरूमा त्यस प्रकारको हीनभावना देखा परेको थियो । उनीहरूले ठुलो मात्रामा हिन्दुका चाडवाड अपनाउँदै आएका थिए ।

    उनका मनमा फेरि यो प्रश्न उठ्यो– के त्यसरी आफ्नो परम्परालाई बचाएर राख्नु उचित वा सम्भव हुन्छ ? जनजातिमा पाइने हीनभाव वा शासकप्रतिको अन्धानुकरणको प्रवृत्ति अवश्य पनि गलत छ तर विभिन्न जातिका सबै परम्परा वा रीतिरिवाजलाई सधैँका लागि बचाएर राख्नु न सम्भव छ, न उचित नै ।

    जनजातिको जीवनको अवस्थाले उनीहरूको पिछडिएको अवस्थालाई बताउँछ । उनीहरूको विभिन्न जातजातिको पिछडिएको अवस्था, उनीहरूको पिछडिएको आर्थिक, सामाजिक वा सांस्कृतिक स्तरको परिणाम नै हो । समाजको भौतिक अवस्था मानिरूको चेतना र जीवनको अवस्थामा परिवर्तन वा आधुकनकीकरण हुँदै जानुका साथै पुराना परम्परा, मान्यता वा रीतिरिवाज टुट्दै जानु अनिवार्य मात्र होइन, त्यो आवश्यक पनि छ नत्र जीवनको अवस्था अवरुद्ध हुन्छ ।

    सुनन्दाले स्वयम् आफ्नो जीवनलाई हेरिन् । यदि उनले आफ्ना पिताको परम्परागत धारणालाई स्वीकार गरेको भए थैचो प्रथाअनुसार धेरै पहिले नै उनको विवाह भइसकेको हुन्थ्यो र उनको विकास रोकिएको हुन्थ्यो तर उनका जेठा बाको मदतले उनी त्यो पिछडिएको प्रथाबाट बाहिर निस्कन सफल भएकी थिइन् र त्यसका लागि उनलाई प्रसन्नता थियो ।

    सुनन्दाका अगाडि समाज क्रमश: र उच्च अवस्थामा विकास हुँदै गएको दृश्य घुम्न थाल्यो । भविष्यमा त्यस प्रकारको विकासको क्रम अगाडि जानु र अरू विकसित हुँदै जानु अनिवार्य र उचित दुबै थियो । त्यो विकासक्रमलाई रोकेर राख्नु न सही हुनेछ, न सम्भव हुनेछ ।

    त्यस प्रकारको उत्तरोत्तर विकासको क्रम दु:खको होइन, स्वागतयोग्य कुरा हो । त्यो कुरा त्यस्तै थियो, जसरी एउटा विद्यार्थीले उच्च कक्षामा प्रवेश गरेपछि तल्लो कक्षा छाड्दा उसलाई कुनै पीडा हुँदैनथ्यो तर उच्च अवस्थामा पुगेकोमा उसलाई प्रसन्नता नै अनुभव हुन्थ्यो र त्यसका लागि प्रयत्न पनि गर्दथ्यो । त्यसको विपरीत कुनै विद्यार्थीलाई सधैँ एउटै क्लासमा रहनुपर्‍यो भने के उसलाई त्यसबाट प्रसन्नता प्राप्त हुनेछ ?
    त्यस सन्दर्भमा उपन्यासमा लेखिएको छ– “उनका मनमा पूरै पश्चिम नेपालको चित्र घुम्न थाल्यो । उत्तरतिर उच्च हिमालय । मध्यभागमा अग्लाहोचा पहाड वा पर्वत शृङ्खला । तिनीहरूका बिचमा कैयौँ नदीनाला र झरना । भिरका टाकुरा, पाखा वा पहाडका बिचमा बनेका कैयौँ सानाठुला उपत्यका । दक्षिणतर्फ भित्री मधेस र तराईका विशाल फाँट तथा पूर्वदेखि पश्चिमसम्म फैलिएको घना जङ्गल । त्यहाँ काम गरिरहेका महिला र पुरुषका कैयौँ हुल ।

    हिमालयदेखि तराईसम्म फैलिएका विभिन्न प्रकारका जाति र जनजाति । उनीहरूका कैयौँ लोकगीत, लोकनृत्य र सांस्कृतिक जीवनका झाँकी । उनले सोचिन्, कति सुन्दर थियो पश्चिम नेपाल ?

    उनको मनमा त्यो सम्पूर्ण क्षेत्र, त्यहाँको प्रकृति, समाज, त्यहाँका जनता तथा उनीहरूको संस्कृतिप्रति आत्मीयताको भाव पैदा भयो । उनको मन छिट्टै त्यस क्षेत्रमा पुग्न, प्रत्यक्ष रूपले त्यस क्षेत्रको अवलोकन गर्न, त्यहाँका प्राकृतिक दृश्य र सामाजिक जीवनलाई नजिकैबाट हेर्न व्यग्र हुन थाल्यो ।”

    आइतबार, फागुन २४, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति
    मुन्धुम पैदलमार्ग र प्रिय सुदीप
    जुन गाउँले मलाई धेरै दियो
    जीवन र मृत्यु
    बाल स्रष्टाहरूको सिर्जनात्मक उत्सव सम्पन्न, सिर्जना डबलीको वेबसाइट विमोचन
    ‘१२ मे’ नाटक भदौ २१ गते मञ्चन हुने

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      ‘वैध गतिविधिलाई पनि अपराध बनाइँदैछ, विरोध गर्ने विद्यार्थी जेल पुग्छन्’: सर्वोच्च अदालतका न्यायाधीश भुयन

    • २.
      जनजाति मुक्ति आन्दोलन

    • ३.
      भारतीय प्रगतिशील विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

    • ४.
      कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति

    • ५.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • ६.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ७.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ८.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.