काठमाडौँ । निर्वाचनलाई लक्षित गर्दै नेपाल पर्यटन बोर्डले आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई यात्रुहरूको सहज आवागमनका लागि निशुल्क सटल बस सेवा सञ्चालन गरेको छ ।
नेपाल पर्यटन बोर्डका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आवतजावत गर्ने यात्रुहरूलाई लक्षित गरी विमानस्थलदेखि काठमाडौँका विभिन्न पर्यटकीय होटल तथा मुख्य स्थानसम्म सटल बस सेवा उपलब्ध गराइएको छ ।
उक्त सेवा बिहान ५ बजेदेखि सुरू गरिएको छ भने बिहीबार साँझ ७ बजेसम्म सञ्चालन हुनेछन् ।
निर्वाचनका दिन सवारी सञ्चालनमा सम्भावित असहजतालाई मध्यनजर गर्दै पर्यटक तथा हवाई यात्रुको आवागमन सहज बनाउन सेवा सञ्चालन गरिएको बोर्डले जनाएको छ । सटल बस सेवा तोकिएका मार्गमार्फत नियमित रूपमा आवतजावत गर्नेछन् ।
पहिलो मार्गअन्तर्गत नेपाल वायुसेवा निगम, न्युरोड, कान्तिपथ, ठमेल, लैनचौर, मल्ल होटल, नयाँबजार, शंकर होटल, र्याडिसन, दरबारमार्ग, याक एन्ड यति, नागपोखरी, गौशाला हुँदै द्वारिका होटलमार्फत विमानस्थलसम्म सेवा सञ्चालन हुनेछ।