वासिङ्टन । बढ्दो तनावका बिचमा अमेरिकाले मध्यपूर्व र खाडी मुलुकका दूताबास तथा कूटनीतिक मिसन बन्द गर्ने घोषणा गरेको छ भने तनावग्रस्त देशमा रहेका कर्मचारी र नागरिकलाई देश छोड्न आदेश दिएको छ ।
साउदी अरबको रियादस्थित अमेरिकी दूताबासमा मङ्गलबारदेखि अर्को सूचना नआउन्जेलसम्मका लागि सबै कार्य बन्द गरिएको छ ।
सामाजिक सञ्जाल एक्समा दूताबासले साउदी अरबमा रहेका अमेरिकी नागरिकलाई दूतावास परिसरबाट टाढा रहन आग्रह गरेको छ ।
यसअघि साउदी अरबका अधिकारीले रियादमा रहेको दूताबासमा दुईओटा ड्रोन प्रहार गरेको पुष्टि गरेका थिए ।
कुवेतस्थित अमेरिकी दूताबासले सामाजिक सञ्जाल एक्समार्फत अर्को सूचना जारी नभएसम्म सम्पूर्ण सेवा निलम्बन गरेको छ ।
अमेरिकी विदेश विभागले गैरआवासिय कर्मचारी उनीहरूका परिवारका सदस्यलाई बहराइन, जोर्डन र इराक छोड्न आदेश दिएको छ ।
विभागले सरकारी कर्मचारी र उनीहरूका परिवारलाई स्वैच्छिक प्रस्थानको अनुमति दिन बहराइन, जोर्डन र इराकलाई अनुरोधसमेत गरेको जनाइएको छ । (रासस/क्युएनए)