काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आसन्न निर्वाचन प्रतिनिधि चयन गर्ने संवैधानिक प्रक्रिया मात्र नभई सङ्घीय लोकतान्त्रिक गणतन्त्रको यात्रालाई अझ व्यापक, विश्वसनीय र सुदृढ बनाउने ऐतिहासिक अवसर भएको बताउनुभएको छ ।
प्रतिनिधिसभा सदस्य निर्वाचनको पूर्वसन्ध्यामा आज २०८२ फागुन १८ गते राष्ट्रको नाममा सम्बोधन गर्दै उहाँले सो दाबी गर्नुभएको हो ।
उहाँले लोकतन्त्रको रक्षा, सामाजिक न्यायको प्रवद्र्धन र विकासको यात्रालाई अझ सुदृढ बनाउने सङ्कल्पका साथ यस ऐतिहासिक निर्वाचनमा सहभागी हुन आह्वान गर्नुभयो ।
यस्तो छ सम्बोधनको पूर्णपाठ छ :
“यही फागुन २१ गते सम्पन्न हुन गइरहेको प्रतिनिधिसभा सदस्यको निर्वाचन हाम्रो राजनीतिक इतिहासको एक जटिल परिस्थितिको निकासको रूपमा हुन गइरहेको छ । यो निर्वाचन केवल प्रतिनिधि चयन गर्ने संवैधानिक प्रक्रिया मात्र होइन, यो सङ्घीय लोकतान्त्रिक गणतन्त्रको यात्रालाई अझ व्यापक, विश्वसनीय र सुदृढ बनाउने ऐतिहासिक अवसर पनि हो ।
देशले विगतका केही वर्षमा महत्त्वपूर्ण उपलब्धि हासिल गरेको छ । लामो सङ्घर्ष र त्यागपछि हामीले लोकतान्त्रिक गणतन्त्र स्थापना गरेका छौँ । सबैलाई थाहा छ, आज नयाँ संविधानमार्फत समावेशी राज्य संरचना सुनिश्चित भएको छ ।
हामीले सङ्घीय शासन प्रणालीलाई संस्थागत गर्दै प्रदेश र स्थानीय तहसम्म अधिकार प्रत्यायोजन गरेका छौँ । सामाजिक सुरक्षा कार्यक्रम विस्तार गर्दै ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, दलित, महिला तथा विपन्न समुदायको अधिकारलाई मजबुत बनाउने प्रयास सुरु भएका छन् । पछिल्लो दशकमा शिक्षा, स्वास्थ्य, सडक, ऊर्जा र सञ्चार पूर्वाधारमा देश उल्लेख्य प्रगतिका साथ अगाडि बढिरहेको छ । जगजाहेर छ, यी उपलब्धि सहजै प्राप्त भएका होइनन्, यी जनताको बलिदान र अटुट विश्वासको साथै उनीहरूको सक्रिय सहभागिताको परिणाम हुन् ।
यद्यपि हामीले सुशासन, सामाजिक न्याय, उत्तरदायी शासन र सेवा प्रवाहका क्षेत्रमा अझै काम गनुपर्नेछ । मलाई विश्वास छ, आगामी निर्वाचनले त्यही भावधारालाई संस्थागत गर्दै लोकतन्त्रलाई नयाँ ऊर्जा प्रदान गर्नेछ । यो निर्वाचनले निरङ्कुशता विरुद्ध लामो सङ्घर्ष र बलिदान गरेको अघिल्ला पुस्ता र त्यसमा आफ्नो जीवन बलिदान गर्ने सहिदको सपना, नवयुवाको सुशासनको माग, पारदर्शिता र जवाफदेहिताप्रतिको अपेक्षा पूरा गर्नेछ र हाम्रो लोकतान्त्रिक अभ्यासलाई अझ विश्वस्त र परिपक्व बनाउनेछ ।
यो निर्वाचनले विकास, समृद्धि, सामाजिक न्याय र उन्नतिको यात्रालाई नवीन ढङ्गले परिभाषित गर्नेछ र नयाँ उचाइमा पुर्याउनेछ भन्नेमा म विश्वस्त छु ।
यो निर्वाचन हाम्रा लागि पछिल्ला उपलब्धिको रक्षा र प्रवद्र्धन गर्दै नयाँ सम्भावनातर्फ अघि बढ्ने युगीन आवश्यकता हो । त्यसैले यो निर्वाचनलाई सफल बनाउनु हाम्रो साझा काम र ऐतिहासिक दायित्व पनि हो । म सबै राजनीतिक दल, उम्मेदवार, नागरिक समाज, सञ्चारमाध्यम र सम्बन्धित निकायलाई निर्वाचन प्रक्रियालाई शान्तिपूर्ण, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न पूर्ण प्रतिबद्ध रहन आग्रह गर्दछु ।
मतभिन्नता स्वाभाविक हो तर सहिष्णुता, मर्यादा र विधिको शासनप्रति सम्मान हाम्रो साझा मूल्य हुनुपर्छ । आउनुहोस्, हामी सबै मिलेर लोकतन्त्रको रक्षा, सामाजिक न्यायको प्रवद्र्धन र विकासको यात्रालाई अझ सुदृढ बनाउने सङ्कल्पका साथ यस ऐतिहासिक निर्वाचनमा सहभागी बनौँ ।”