काठमाडौँ । रामेछापमा मतदान अधिकृत र सुरक्षाकर्मी सवार गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नेपाल प्रहरीका सहायक निरीक्षक पर्शुराम यादव र ५७ वर्षीय डोरप्रसाद घिमिरे छन् ।
२०८२ फागुन १८ गते सोमबार रामेछापमा नगरपालिका–२ स्थित सिरुवारीमा ना७ ख ६७६८ नम्बरको निशान गाडी सडकबाट एक सय मिटर तल खसेको हो ।
नौ जना घाइते भएकामध्ये दुई जनाको मृत्यु भएसँगै बाँकी सात जना घाइतेलाई उपचारका लागि सेनाको हेलिकप्टरमार्फत काठमाडौँ ल्याइएको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट सो गाडी मतपत्र बोकेर मतदानस्थल शीतलदेवी मावि सिरुवारी र रामेछाप नगरपालिका–३ स्थित वडाकार्यालय भवन जाँदै थियो ।
सडकमा मोड नपुगेर गाडी दुर्घटना भएको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ ।
जिल्ला प्रहरी कार्यालय रामेछापका इन्स्पेक्टर कमल राउत नेतृत्वको टोली र सशस्त्रको बिपद उद्धार बेस खुर्कोटको टोलीले घाइतेलाई उद्धार गरेर सदरमुकाम मन्थली पठाएको थियो ।