काठमाडौँ । सरकारले तत्कालका लागि खाडी मुलुक जाने कामदारको श्रमस्वीकृति स्थगित गरेको छ ।
मध्यपूर्वमा देखा परेको असामान्य परिस्थितिलाई मध्यनजर गर्दै सरकारले २०८२ फागुन १७ गते आइतबार श्रमस्वीकृति स्थगित गरेको हो ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले बढ्दो तनाव मध्यनजर गर्दै ती देशमा श्रमस्वीकृति दिने कार्य स्थगित गरिएको बताए ।
वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई श्रम स्वीकृति प्रदान गर्दै आएको छ ।
इजरायल र अमेरिकाले इरानमा मिसाइल आक्रमण गरेपछि इरानले मध्यपूर्वका विभिन्न देशमा रहेका अमेरिकी सैन्य क्याम्पमा आक्रमण गर्दै आएको छ ।
इरानले युनाइटेड अरब इमिरेट्स (युएई), कतार, ओमान, कुवेतलगायत देशमा रहेका अमेरिकी सैन्य बेसक्याम्पमा आक्रमण थालेको हो, जसले गर्दा त्यहाँ रहेका नेपालीको सुरक्षा चासो बढ्दै गएको छ ।
मन्त्री भण्डारीले अर्को सूचना जारी नभएसम्मका लागि वैदेशिक रोजगारीमा जानेका लागि सम्पूर्ण श्रमस्वीकृति प्रदान कार्य स्थगित गरिएको बताए ।
सम्बन्धित देशमा जान विमानस्थलमा बसेका मानिसलाई फर्केर आफ्नो घर जान अनुरोध गरिएको छ । बढ्दो तनावबिच ती देशमा सुरक्षा सतर्कता बढेको भन्दै सरकारले विमानस्थलमा रहेका नेपालीलाई घर फर्किन अनुरोध गरेको हो ।
त्यस्तै श्रम मन्त्रालयमा रहेको कल सेन्टर चौबिसै घण्टा तयारी अवस्थामा राखिएको मन्त्री भण्डारीले बताए ।
सरकारले तनाव बढेर नेपालीको उद्धार गर्नुपर्ने अवस्था आएको खण्डमा त्यसका लागि समेत तयारी अवस्थामा रहेको जनाएको छ ।
‘परिस्थिति के कसरी विकसित हुन्छ, त्यो विकसित हुने घटनाक्रमको आधारमा भोलि–पर्सि गएर उद्धार गर्नुपर्यो भने त्यसका लागि पनि योजना बनाउने काम गरिराखेका छौँ’ मन्त्री भण्डारीले भने ।

