• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

कर्णाली प्रदेश र मतवाली क्षेत्री–१

"सन्दर्भ ‘कामरेड जलजला’ उपन्यास–५० "

  •   आइतबार, फागुन १७, २०८२ मा प्रकाशित
  • मोहनविक्रम सिंह ##

    Advertisement

    सुनन्दाको पिएचडीको विषय थियो– कर्णाली प्रदेश र गढवालकुमाउकँो मध्यकालीन इतिहासको तुलनात्मक अध्ययन ।

    अहिले कर्णाली प्रदेश भन्नाले सूदुरपश्चिम प्रदेशभन्दा पूर्वको र लुम्बिनी प्रदेशभन्दा पश्चिमको बिचको भागलाई नै लिइन्छ तर सुनन्दाको शोधपत्रमा कर्णाली भन्नाले त्यसमा अहिलेको सुुदूरपश्चिम पनि समावेश हुन्थ्यो । उनको शोधप्रत्रमा पर्ने कर्णाली प्रदेशको विवरण दिदैँ ‘कामरेड जलजला’ उपन्यासमा लेखिएको छ– सुनन्दाको अध्ययनक्षेत्रभित्र नेपालका १४ अञ्चलमध्ये ५ अञ्चल र ७५ जिल्लामध्ये २३ ओटा जिल्ला पर्दथे । पाँचओटा अञ्चल यी थिए– राप्ती, भेरी, कर्णाली, सेती र महाकाली । उनको अध्ययनक्षेत्रभित्र पर्ने अन्य अञ्चलमा तराई वा भित्री मधेस र पहाडी भाग मिलेका थिए तर कर्णाली अञ्चल पूरै पहाड र हिमालयमा पर्दथ्यो ।

    नेपालका १४ ओटा अञ्चलमध्ये कर्णाली अञ्चल पश्चिम नेपालको एउटा अञ्चल पर्दथ्यो तर उनका लागि त्यहाँको एउटा अञ्चलको नाम कर्णाली अञ्चल राखिएको भए पनि त्यो पूरै क्षेत्र नै कर्णाली प्रदेश थियो, जसभित्र त्यहाँका पाँचओटै अञ्चल र २३ ओटै जिल्ला आउँथे ।

    नेपालको सरकारले पूरै देशलाई चार विकासक्षेत्रमा बाँडेको थियो । तिनीहरूमध्ये एउटा सुदूर पश्चिमाञ्चल विकास क्षेत्र थियो, जसभित्र उनको अध्ययनक्षेत्र आउँथ्यो । उनले त्यो पूरै विकासक्षेत्रलाई कर्णाली प्रदेशको रूपमा लिएकी थिइन् ।

    नदीको जलाधारका दृष्टिकोणले भूगोलविद्ले नेपाललाई तीन भागमा बाँडेका थिए– कोशी, गण्डकी र कर्णाली । उनको अध्ययनक्षेत्र कर्णाली प्रदेशमा पर्दथ्यो, जो सुदूर पश्चिमाञ्चल विकासक्षेत्र पनि थियो ।

    उनको अध्ययनको क्षेत्रमा पर्ने २३ जिल्ला ४ भागमा बाँडिएका थिए : तराई, भित्री मधेस, मध्य पहाड र हिमालय । तिनीहरूमध्ये हिमालय क्षेत्रमा हुम्ला, मुगु, तिब्रिकोट, जुम्ला, बझाङ, बाजुरा र दार्चुला गरी ७ ओटा जिल्ला पर्दथे ।

    मध्यपहाडी क्षेत्रमा रुकुम, रोल्पा, सल्यान, प्युठान, जाजरकोट, दैलेख, सुर्खेत, अछाम, डोटी, बैतडी र डडेलधुरा गरी ११ जिल्ला पर्दथे ।

    तराईमा बाँके, बर्दिया, कैलाली, कञ्चनपुर गरी चार जिल्ला र भित्री मधेसमा दाङ–देउखुरी पर्दथ्यो । सुर्खेत पहाडी जिल्लामा पर्दथ्यो वा भित्री मधेसमा पर्दथ्यो । त्यसबारे बेग्लाबेग्लै मत पाइन्थे । कसैले त्यसलाई पहाडी जिल्लामा राखेका थिए भने कसैले त्यसलाई भित्री मधेसमा भएको पनि बताउँथे ।

    उनले पश्चिम नेपालको जुन इतिहास पढेकी थिइन्, त्यो खस राज्यको स्थापनादेखि नै सुरु हुन्थ्यो । त्यो इतिहास बाह्रौँ शताब्दीदेखि सुरु हुन्थ्यो ।

    यो देखेर उनलाई दु:ख लाग्यो, त्यसभन्दा पहिलेको उनीहरूको कुनै इतिहास प्राप्त थिएन । खसले कसका विरुद्ध सङ्घर्ष गरे र कसलाई पराजित गरेर आफ्नोे राज्यको स्थापना गरेका थिए ? त्यसभन्दा पहिले त्यहाँ कुन जाति बस्थे ? उनले त्यो जान्न कैयौँ प्रयत्न गरिन् तर उनले त्यससम्बन्धी कुनै इतिहास प्राप्त गर्न सकिनन् ।

    उनको ध्यान पश्चिम नेपालमा बसोबास गर्ने अन्य जनजातितिर गयो । उनले सोचिन्, सायद ती जनजातिले नै खस जातिको आगमनभन्दा पहिले त्यहाँ शासन गर्दथे । त्यहाँका जनजातिमध्ये कुनैको खस राज्यको स्थापनाभन्दा पहिले त्यहाँ प्रभुत्व रहेको हुन सक्दथ्यो । त्यस्ता जनजाति कुन हुन सक्दथे ?

    खस राज्यको स्थापनाभन्दा पहिले ती जातिको कुन प्रकारको स्थिति वा इतिहास रहेको थियो होला ? उनी कैयौँ बेरसम्म घोरिरहिन् ।
    उनको ध्यान राउटेतिर गएको थियो । कहीँ त्यो जाति नै त्यस क्षेत्रको मूल बासिन्दा त थिएन ? उनको मनमा बारम्बार यो प्रश्न घुम्न थाल्यो– उनीहरूको प्राचीन इतिहासबारे जानकारी प्राप्त हुन सके त्यो कति खुसीको कुरा हुन्थ्यो ? आफ्नोे अनुसन्धानद्वारा त्यस दिशामा केही योगदान दिन सकेमा त्यो उनका लागि धेरै नै खुसीको कुरा हुन्थ्यो ।

    नेपालका कतिपय जिल्लामा त्यस जातिलाई कुसुन्डा पनि भनिन्थ्यो । प्युठानदेखि डोटीसम्मको क्षेत्र त्यसको परिभ्रमण क्षेत्र थियो । उनीहरू सबैभन्दा बढी सुर्खेतमा बसेको पाइन्छ । त्यसपछि उनीहरू क्रमश: बर्दिया र जाजरकोटमा पाइन्छन् ।

    उनीहरूका विषयमा सोच्दासोच्दै उनका मनमा अकस्मात् एउटा अर्को कुरा उठ्यो– कहीँ तिनीहरू ढुङ्गेयुगीन मानवका वंशज ता थिएनन् ? तर त्यो कुरा पत्ता लगाउनका लागि उनीसित कुनै माध्यम थिएन । त्यसकारण उनले त्यसबारे निश्चित रूपले केही भन्न सक्दैनथिन् । जे होस्, यो कुरा निश्चित थियो, पहिले उनीहरू नेपालको ठुलो भूभागमा फैलिएका थिए र उनीहरू नै नेपालका आदिवासी थिए । वास्तवमा त्यो नेपालको एउटा महान् जाति थियो, जो समय र इतिहासको विकासक्रममा लुप्त हुँदै गएको थियो र त्यसको थोरै सङ्ख्या मात्र बाँकी रहेको थियो ।

    सम्भवत: धेरै पहिले पश्चिम नेपालको यस क्षेत्रमा राउटे वा कुसुन्डाको ठुलो सङ्ख्या वा प्रभाव रहेको हुन सक्दथ्यो तर अहिलेको त्यसको सीमित सङ्ख्या र लोप हुन थालेको सङ्ख्यामाथि ध्यान दिँदा खस राज्यको स्थापनाभन्दा पहिले त्यसको कुनै खास प्रभाव वा राज्य नै थियो भनेर मान्न मुस्किल पर्दथ्यो । पहिले त्यसको त्यस क्षेत्रमा प्रभाव वा ठुलो आवादी भए पनि खस राज्यको स्थापनाभन्दा धेरै पहिले नै त्यसको प्रभाव कम वा समाप्त भइसकेको हुनुपर्दथ्यो अनि के त्यो कुनै प्राग्ऐतिहासिक जाति थियो, जसको सम्बन्ध कुनै प्राचीन इतिहाससित थियो ?
    सायद अहिले वनको आसपासमा बस्ने, समाजबाट अलग्गिएका र अत्यन्त पिछडिएकाजस्ता देखिने त्यो जातिले आफूभित्र अत्यन्त लामो र सम्पन्न इतिहास लुकाएर बसेको थियो । के त्यो जातिका साथै त्यो इतिहास सधैँका लागि हराएर जानेछ ? मानवजातिका लागि त्यो कति ठुलो क्षति हुनेछ ?

    उनीहरूको इतिहास जान्नका लागि कुनै सामग्री पनि थिएनन् । अब पुरातत्त्वशास्त्री र मानवशास्त्रीको मिहिनेत, अध्ययन वा अनुसन्धानद्वारा नै त्यो नष्ट हुन थालेको इतिहासको केही भाग भए पनि प्रकाशमा आउन सकेमा त्यो मानवजातिको लागि नै ठुलो उपलब्धिको कुरा हुन्थ्यो ।
    उनले एउटा लामो सास फेरिन् । त्यसले बताउँथ्यो, त्यस जातिका साथै त्यसको इतिहास समाप्त हुन थालेकोमा उनलाई ठुलो मानसिक पीडा पुगेको थियो । यो हुन सक्दथ्यो, भविष्यमा कुनै नयाँ वैज्ञानिक पद्धतिको विकास होस् र त्यसरी त्यो जातिको लुप्त वा अज्ञात इतिहासबारे जानकारी प्राप्त हुन सकोस् । त्यसो भएमा त्यो कति धेरै खुसीको कुरा हुन्थ्यो ?

    उनले आफ्ना नोट पढ्न थालिन् । उनका नोटमा देउकी समुदायसम्बन्धी पनि केही विवरण थियो । दार्चुला, बैतडी र डडेलधुराका केही गाउँमा देउकी प्रथा थियो । केही मानिसले साना बालिकालाई मन्दिरमा चढाउने गर्थे । त्यसपछि उनीहरूले विवाह गर्न पनि पाउँदैनथे र उनीहरूको सम्पूर्ण जीवन त्यही बित्दथ्यो । बालिकालाई शिवसित विवाहको नाममा मन्दिरमा चढाउने गरिन्थ्यो ।

    कतिपय मानिसले आफ्नोे छोरा नभएमा छोरा होस् भनेर वा त्यही प्रकारका अन्य कुनै भाकल गरेर बालिकालाई मन्दिरमा चढाउँथे । त्यसो गर्दा उनीहरूले प्राय: विपन्न वर्गका छोरीलाई किनेर नै मन्दिरमा चढाउने गर्दथे । त्यस कार्यलाई ठुलो धार्मिक महत्त्वको कार्य मानिन्थ्यो तर त्यसरी मन्दिरमा चढाइएका बालिकाको जीवन बर्बाद हुन्थ्यो र उनीहरू वेश्यावृत्तिको पेसा अपनाउन पनि बाध्य हुनुपर्दथ्यो ।

    देउकी प्रथाबारे पढेर सुनन्दा एक प्रकारले विक्षिप्तजस्तै भइन् । धर्मको नाममा त्यो कति ठुलो अत्याचार थियो ?

    देउकी प्रथा पश्चिम नेपालका दार्चुला, बैतडी र डडेलधुराका केही गाउँमा प्रचलन थियो । बैतडीका तल्ली र मल्लदेई, त्रिपुरासुन्दरी, पुनचैडी, डिलासैनी, डागेश्वर, उदभदेव, विभिन्न भगवती सिमुवा, बगाली, नाक्कर, डडेलधुरा जिल्लाका उग्रतारा, रुपाल र दार्चुलाको गोकुले आदिका मन्दिरमा देउकी चढाउने गरिन्थ्यो । उनीहरूलाई बाजागाजासहित लगेर मन्दिरमा चढाउने गरिन्थ्यो । त्यो कार्यलाई ठुलो धार्मिक उत्सव मानिन्थ्यो ।

    बैतडीका मेलौली, गोइला, धेउटी, जर्खु, नागिनी, मार्खिन आदि गाउँमा देउकी बसोबास गर्ने गर्दथे । ती देउकीबाट जन्मेका छोरीलाई देउकी र छोरालाई देउका भन्ने गरिन्थ्यो । नेपालबाट कतिपय बालिकालाई किनेर भारतमा लगेर विभिन्न मन्दिरमा चढाउने प्रचलन पनि थियो तर उनीहरूलाई त्यहाँबाट लगेर भारतको कुन मन्दिरमा चढाउने गरिन्थ्यो ? त्यसबारे उनलाई कुनै जानकारी थिएन । सुदूरपश्चिमसित जोडिएको पिथौरागढको कुनै मन्दिरमा नै उनीहरूलाई चढाइन्थ्यो । उनले कतै कतै त्यस्तो लेखिएको पनि पढेकी थिइन् तर त्यसबारे उनलाई निश्चित रूपले केही थाहा थिएन ।

    उनलाई लाग्यो, त्यो कुरा जे भए पनि त्यो अत्यन्त घृणित, असामाजिक र अमानवीय कार्य थियो । यो कुरा सोचेर उनलाई धेरै दु:ख लाग्यो, त्यो कार्य ईश्वर र धर्मका नाममा नै गरिन्थ्यो र त्यस प्रकारको प्रचलनको पक्षमा व्यापक जनमत पनि थियो ।

    सुनन्दाको ध्यान सुदूरपश्चिम नेपालमा प्रचलित देउकी प्रथाबाट हटेर भारतमा व्यापक रूपले प्रचलित देवदासी प्रथातिर गयो । त्यो प्रथा पनि देउकी प्रथाजस्तै थियो ।

    भारतका कैयौँ राज्यमा तेह्र वर्षमुनिका बालिकालाई लगेर मन्दिरमा चढाइन्थ्यो । त्यहाँ बाजागाजासहित उनीहरूको भगवान्सँग विवाहको कार्यक्रम रचिन्थ्यो । त्यसपछि मन्दिरका पुरेतको माध्यमद्वारा भगवान्सँग यौनक्रिया गरेको बताइन्थ्यो । त्यसपछि उनीहरूको कुनै विवाह हुँदैनथ्यो र उनीहरू जीवनभरि नै मन्दिरमा दासी भएर बस्नुपर्दथ्यो । वास्तविकता यो हुन्थ्यो कि देवदासीको सम्पूर्ण जीवन वेश्याको जस्तो हुन्थ्यो । कुनै पनि पुरुषले उनीहरूलाई उपभोग गर्न सक्थे ।

    खासगरी दक्षिण भारतमा त्यो प्रथा धेरै नै प्रचलित थियो । कर्नाटकको यलम्बा मन्दिर, जसलाई रेनुकादेवीको मन्दिर पनि भन्ने गरिन्थ्यो, देवदासीको सबैभन्दा ठुलो केन्द्र थियो । कतिपय लेखकले दिएको विवरणअनुसार कर्नाटक र तमिलनाडुमा मात्र करिब ८० हजार देवदासी थिए । कर्नाटक र तमिलनाडु प्रदेशमा बाहेक आन्ध्र प्रदेश, महाराष्ट्र, उडिसा, गोवा र मध्य प्रदेशका कतिपय मन्दिरमा समेत देवदासीलाई चढाउने प्रथा थियो ।

    सुनन्दाका दिमागमा एकैसाथ यी हजारौँ देवदासीका चित्र घुमे । ती सबै देवताका नाममा चढाइएका थिए र उनीहरूले जीवनभर वेश्याको जीवन बिताउनुपर्दथ्यो । कति अमानवीय र क्रूर चलन थियो त्यो तर त्यो सबै कार्य ईश्वर र धर्मको नाममा गरिन्थ्यो ।

    अब उनले छाउपडी प्रथाबारे सोच्न थालिन् ।

    सुदूरपश्चिमका केही पहाडी जिल्लामा छाउपडी प्रथा थियो । त्यस प्रथाअनुसार महिनावारी भएको बेलामा कुनै महिला घरमा बस्न हुँदैनथ्यो र घरभन्दा टाढाको जङ्गलको कुनै थारो वा छाप्रोमा गएर बस्नुपर्दथ्यो ।

    परम्परादेखि नै मानिसमा यो विश्वास थियो, महिनावारी भएकी कुनै महिलालाई घरमा राखेमा देवता रिसाउँछन् र अनिष्ट हुन्छ । त्यसैले उनीहरूलाई घरभन्दा टाढा बेग्लै राख्ने गरिन्थ्यो । त्यसरी घरबाट टाढा बस्दा कैयौँ महिलाको सर्पले टोकेर मृत्यु हुन्थ्यो वा कतिपयमाथि बलात्कार पनि गरिन्थ्यो ।

    सुनन्दाको मनमा पुन: त्यही कुरा घुम्यो । उनीहरूमाथि त्यस प्रकारको अन्यायपूर्ण व्यवहार पनि धर्मको नाममा नै गरिन्थ्यो । धर्म धर्म धर्म ।
    सुनन्दा केही बेरसम्म एक्लै बर्बराइन् । धर्मको नाममा कति धेरै अन्याय र अत्याचार भएका थिए ? उनले सोचिन्, आखिर धर्म भनेको के हो ? त्यसको उद्देश्य मानवको कल्याण गर्ने बताइन्छ तर त्यसको नाममा मानव समुदायमाथि कैयौँ प्रकारका अन्याय र अत्याचार हुने गरेका थिए । त्यस कुराबाट उनलाई धेरै दु:ख लागेर आयो । उनको मनमा तीव्र क्षोभ पनि पैदा भयो ।

    उनका आँखाका अगाडि विश्वभरिमा धर्मका नाममा भएका अत्याचारका पाना घुम्न थाले । भारतमा धर्मका नाममा नै हिन्दुमुस्लिम दङ्गा भएका थिए । युरोपमा धर्मका नाममा इसाई र मुस्लिमका बिचमा कति धेरै अत्याचार र युद्ध भएका थिए ? मुसलमानका सिया र सुन्नी सम्प्रदायका बिचमा भएका युद्धका उदाहरण पनि उनका आँखाका अगाडि थिए ।

    धर्मका नाममा शताब्दीयौँसम्म पतिको मृत्युपछि पत्नीलाई जिउँदै चितामा जलाइने सतिप्रथाका दृश्य पनि उनका आँखाका अगाडि घुमे । उनले अगाडि केही सोच्न सकिनन् । उनी बिस्तरामा पल्टिन् । उनले उनको अध्ययनक्षेत्र, कर्णाली प्रदेशबारे नै सोच्न थालिन् । सुनन्दाले कर्णाली प्रदेशबारे लेखिएका आफ्नो नोट पढ्न थालिन् ।

    कर्णाली प्रदेशको बनावट गढवाल–कुमाउँको जस्तै थियो– उत्तरतिर हिमालय, बिच भागमा पहाड र दक्षिणतिर तराई । तराईको उत्तरपट्टि चुरेडाँडाको शृङ्खला । महाभारत पर्वत शृङ्खला र चुरेडाँडाका बिचमा दुईओटा उपत्यका बनेका थिए– देउखुरी र दाङको उपत्यका ।
    चुरेको उत्तरतिर महाभारत पर्वत शृङ्खला थियो, त्यसको उत्तरपट्टि मुख्य पहाडी भाग पर्दथ्यो । त्यहाँ कैयौँ उच्च लेक, पर्वत, शिखर थिए; जस्तै : बर्बरियालेक, रूपालेक, भालुलेक, खप्तडलेक, कुरासाईलेक, मालिकालेक, ऋणमोक्षलेक, रियानलेक, मुचुलालेक, मन्टुडाँडा, च्याखुरेलेक, ठाकुरजीलेक, सुर्मसरोवरलेक आदि । सबैभन्दा उत्तरतिर हिमाल क्षेत्र पर्दथ्यो ।

    पश्चिम नेपालका जिल्लामध्ये हुम्ला र मुगुको स्थितिले उनलाई विशेष रूपले आकर्षित गर्‍यो । ती जिल्लाका केही गाउँ मुख्य हिमालयभन्दा उत्तरतिर थिए । उनलाई लाग्न थाल्यो, ती गाउँ पनि कहीँ उनको दारमा जस्तै ता थिएनन्, जो हिमालयभन्दा उत्तरतिर बसेको थियो ।
    उनले मनमनै विचार गरिन्, यदि आफ्नो अध्ययनको सिलसिलामा त्यहाँ जाने मौका पर्‍यो भने उनले पक्कै पनि त्यहाँ पुग्ने प्रयत्न गर्नेछिन् । उनले पुन: आफ्ना नोटहरू पढ्न थालिन् ।

    उनको ध्यान रारा तालतिर गयो । मुगु जिल्लामा पर्ने त्यो ताल १० हजार फिटको उचाइमा थियो । त्यो नेपालको सबैभन्दा ठुलो ताल थियो । त्यसका चारैतिर हरियो वन थियो । वनले त्यस ताललाई धेरै सुन्दर बनाएको थियो । त्यो ताल नैनीतालजस्तै टेथिस सागरबाट हिमालय पहाड बन्न थालेपछि त्यहाँको पानी रोकिएर बनेको थियो । त्यसरी त्यो ताल अत्यन्त रमणीय हुनुका साथै त्यो प्राग्ऐतिहासिक महत्त्वको ताल थियो ।

    रारा प्राग्ऐतिहासिक ताल भएको नोट पढेपछि उनको ध्यान पुन: प्राग्ऐतिहासिक महत्त्वको कर्णाली नदीतिर गयो । त्यो नदी पनि प्राग्ऐतिहासिक महत्त्वको थियो । उत्तरतिरबाट दक्षिणतिर बग्ने कैयौँ नदी पहाडमा मूल फुटेर बनेका थिए भने कतिपय हिमालयका हिमनदी पग्लेर तर कर्णाली नदीको बेग्लै प्रकारको इतिहास थियो । त्यो नदी हिमालयभन्दा उत्तरतिर तिब्बतमा मानसरोवरको दक्षिणमा माम्चा चुङ्गोमा उत्पन्न भएर हिमालय काटेर हुम्लाको बाटो नेपालतिर पसेको थियो । त्यस नदीको इतिहास हिमालयको उत्पत्तिभन्दा पुरानो थियो । त्यो टेथिस सागरबाट उत्पन्न भएर त्यहाँ उत्पन्न भएका पहाडलाई काटेर प्राग्ऐतिहासिक कालदेखि बग्दै नेपाल आएको नदी थियो । त्यस नदीको विषयमा पढ्दापढ्दै उनी भावुक बनिन् : टेथिसकालदेखि बग्दै आएको नदी । उनका मनमा त्यो नदी बगेको ठाउँमा पुग्ने तीव्र इच्छा उत्पन्न भयो ।
    त्यहाँ खप्तडलेक पनि थियो । त्यो डोटी जिल्लाको सबैभन्दा अग्लो पहाड थियो । त्यो बझाङ र बाजुरासम्म फैलिएको थियो । त्यहाँ पहिले स्वामी सचिदानन्द भन्ने एक जना महात्मा बस्दथे, जसलाई खप्तड बाबा पनि भन्ने गरिन्थ्यो ।

    त्यहाँ घना जङ्गल र ठुला चौर थिए । प्राकृतिक सौन्दर्य, जैविक विविधतासमेतका दृष्टिकोणले पनि त्यो क्षेत्र धेरै नै महत्त्वपूर्ण थियो र त्यसको विस्तृत भूभागमा विस्तार भएको थियो । त्यो खप्तड पर्वत सुदूरपश्चिम नेपालका कैयौँ जिल्लासँग जोडिएको थियो† जस्तै : बाजुरा, बझाङ, डोटी, अछाम ।

    त्यस क्षेत्रका कैयौँ चालचलन देखेर उनी धेरै नै आश्चर्यचकित भइन् । उनलाई यस्तो लाग्यो, उनले अकस्मात् सयकडौँ वर्ष पुरानो समाजमा, मध्ययुगमा वा सायद त्योभन्दा प्राचीन समाजमा पुगेजस्तो अनुभव गरेकी छिन् ।

    हुम्ला जिल्लाका कतिपय गाउँमा अहिले पनि बहुपति प्रथा विद्यमान थियो । घरको जेठो दाइको विवाह गरेपछि भाउजू नै अरू सबै भाइकी पनि स्वत: पत्नी हुन्थिन् ।

    हुम्लाका सिमिकोट, मुचु–लिमी, बरगाउँ, खगालगाउँ, जोरखोल्सी, हेप्का, बैजीबाघ, दोजाम हल्जीगाउँ, जाँग र तिल आदि गाउँमा त्यो प्रथा प्रचलित थियो । नेपालमा अन्यत्र वा सभ्य समाजमा अन्यत्र कतै नपाइने वा विरलै पाइने त्यो प्रथा हुम्ला वा त्यसका आसपासका जिल्लामा अहिलेसम्म कसरी कायम रह्यो ? त्यसका लागि उनलाई धेरै नै आश्चर्य लागेर आयो । त्यस प्रकारको प्रथा तिब्बतसँग जोडिएका गाउँमा नै थियो । कहीँ त्यो तिब्बती प्रचलनको असर ता थिएन ? तर उनले तिब्बतको सामाजिक प्रचलनबारे ज्ञान नभईकन त्यो कुरा निश्चित रूपले भन्न सक्दैनथिन् र अहिले उनलाई तिब्बतमा त्यस प्रकारको चलन भएको कुनै कुरा थाहा थिएन ।

    कर्णाली प्रदेशमा बेग्लाबेग्लै जाति वा जनजातिको बसोबास भएको हुनाले सांस्कृतिक रूपमा पनि त्यहाँ धेरै नै विविधता थियो । त्यसबारे उनले बढी अध्ययन गरेकी थिइनन् र त्यसैले त्यसबारे उनलाई बढी थाहा थिएन तर डोटी र त्यसका आसपासका जिल्लामा पाइने देउडागीत र त्यस गीतमा नाचिने नृत्यबाट उनी धेरै नै प्रभावित भएकी थिइन् । त्यसको सबैभन्दा महङवपूर्ण पक्ष उनलाई यो लागेको थियो, त्यसमा पुरुष र महिलाले ठुलो सङ्ख्यामा सामूहिक रूपले त्यो गीत गाउँथे र नाच्दथे । अझै उनलाई राम्ररी थाहा त भएको थिएन तर उनले सुनेकी थिइन्, थारूको नाच पनि त्यसरी नै अर्थात् सामूहिक रूपले नाच्ने गरिन्थ्यो ।

    उनका नोटमा दाङका थारूको बर्कानाच, कैलालीको लठुवानाच, बर्दियाको सखियानाच आदिको पनि उल्लेख गरिएको थियो । उनका नोटमा मगरको मारुतीनाच, प्युठानका दलितको सोरठीनाच, बझाङको भुवो नाच आदिको पनि उल्लेख गरिएको थियो । त्यसरी कर्णाली प्रदेश सांस्कृतिक विविधताका दृष्टिकोणले पनि धेरै नै सम्पन्न भएको कुरा थाहा हुन्थ्यो ।

    नेपालतिर हिँड्नुभन्दा पहिले एक दिन सुनन्दा जेएनयुको पुस्तकालयको एउटा कक्षमा बसेकी थिइन् । उनका अगाडि केही किताब थिए र उनले लेखेका केही नोटबुक पनि उनका अगाडिको टेबुलमा थिए ।

    उनले कर्णाली प्रदेशको इतिहासबारे अध्ययन गर्दै थिइन् । त्यो अध्ययनद्वारा उनलाई यस्तो लाग्न थालेको थियो, त्यो प्रदेशको इतिहास धेरै नै सम्पन्न थियो । त्यो इतिहास प्राचीन वा भनौँ, प्राग्ऐतिहासिक कालसित नै जोडिएको थियो तर उनलाई यो देखेर दु:ख लागेको थियो, त्यो इतिहासका कैयौँ कडी टुटेका थिए । अर्को शब्दमा भन्ने हो भने त्यसमा बारम्बार क्रमभङ्गता हुने गरेको थियो । त्यो इतिहासका टुटेका सबै कडी जोड्न पाए कर्णाली प्रदेशको एउटा उज्ज्वल र गौरवमय इतिहास तयार हुन्थ्यो ।

    कर्णाली प्रदेशको इतिहास ढुङ्गेयुगबाट सुरु हुन्थ्यो तर सायद यो कुरा त्योभन्दा बढी महत्त्वपूर्ण थियो, त्यस प्रदेशमा प्राग्ऐतिहासिक महत्त्वका राराताल र कर्णाली नदी थिए । त्यसरी यो भन्न सकिन्थ्यो, कर्णाली प्रदेशको इतिहास अहिलेको हिमालय, महाभारत पहाड, चुरेपहाड वा तराईका भूभागको निर्माण हुनुभन्दा पहिलेदेखि नै अर्थात् टेथिस महासागरको कालदेखि सुरु हुन्थ्यो ।

    टेथिस महासागरदेखिको इतिहास । सुनन्दा केहीबेर रोकिइन् । उनले मनमनै सोचिन्, कर्णाली प्रदेशको इतिहासलाई वास्तवमा टेथिस महासागरको कालदेखि नै जोडेर हेर्न सकेमा—त्यो कति महŒवपूर्ण कुरा हुन्थ्यो होला तर सायद त्यो कार्य इतिहासको क्षेत्रभित्र आउँदैनथ्यो र त्यो भूगर्भशास्त्रको अध्ययनको विषय हुन सक्दथ्यो ।

    टेथिस सागरको समयदेखिको इतिहासको विषयबारे सोच्न छाडेर उनले ढुङ्गेयुगदेखिको कर्णाली प्रदेशको इतिहासबारे सोच्न थालिन् ।

    कर्णालीमा पहिले ढुङ्गेयुगका मानिस बस्दथे वा बस्दैनथे ? त्यसबारे उनलाई कुनै जानकारी प्राप्त भएको थिएन । एउटा जर्मन महिला भूगर्भशास्त्रीले अवश्य पनि दाङ–देउखुरी उपत्यकामा ढुङ्गेयुगीन मानिसका औजार फेला पारेकी थिइन् र त्यसरी त्यहाँ ढुङ्गेयुगीन मानिसको बसोबास भएको कुरा प्रमाणित भएको थियो तर सुनन्दालाई त्यसबारे कुनै जानकारी थिएन ।

    पूर्वपश्चिमको सम्पूर्ण तराई, चुरेपहाड, महाभारत पर्वत शृङ्खला वा उच्च पहाड र हिमालयमा पनि उनीहरूको बसोबास हुन सक्थ्यो । उनीहरूका लागि अहिलेको राजनीतिक सीमाले कुनै अर्थ राख्दैनथ्यो । त्यसकारण नेपालको सीमाभन्दा बाहिर पूर्वपश्चिम वा दक्षिणका ठुला भूभागमा पनि उनीहरू फैलिएका हुन सक्थे । त्यसबाट कर्णाली प्रदेश पनि अपवाद हुन सक्दैनथ्यो होला ।

    ढुङ्गेयुगीन मानवको सभ्यता करिब १० लाख वर्ष पुरानो थियो । त्यो कालमा उनीहरू संसारका कैयौँ भागमा फैलिएका थिए । त्यो क्रममा कर्णाली प्रदेशका कतिपय भागमा पनि उनीहरूको विस्तार भएको सम्भावनालाई अस्वीकार गर्न सकिँदैनथ्यो । उनीहरू संसारका जुन भागमा बसेको प्रमाण प्राप्त भएको भए पनि उनीहरूको जीवनसित सम्बन्धित केही औजार प्राप्त हुनुबाहेक उनीहरूको इतिहासबारे जे जति जानकारी प्राप्त भएको थियो, त्यो अत्यन्त कम थियो तैपनि विज्ञानको विकासद्वारा त्यो अज्ञात वा लुप्त इतिहासको जानकारी प्राप्त गर्न कुनै उपाय निस्कने सम्भावनाप्रति उनी आशावादी थिइन् । त्यो क्रममा टेथिस महासागर कालदेखि ढुङ्गेयुगीन सभ्यतासम्मको कर्णाली प्रदेशको इतिहासको ज्ञान हुन सके मानव जातिका लागि त्यो कति धेरै प्रसन्नताको कुरा हुन्थ्यो ? तैपनि विज्ञानको विकासले इतिहासका टुटेका ती कडीलाई जोड्नका लागि कुनै वैज्ञानिक विधि वा उपाय निस्कियो भने ढुङ्गेयुगदेखि अहिलेसम्मको इतिहासको क्रम जोडिन पनि सक्छ ।

    त्यस सोचाइले उनलाई धेरै प्रसन्नता दियो तर सायद त्यो उनको कल्पना मात्र थियो । यस्तो कल्पना, जो भविष्यमा कहिल्यै पूरा नहुन पनि सक्दथ्यो तर उनी त्यस प्रकारको नकारात्मक निष्कर्षमा पुग्न चाहँदिनथिन् किनभने उनको स्वभाव नै यस्तो थियो : उनले जतिसुकै अन्धकार भएको बेलामा पनि प्रकाशको ज्योति खोज्ने प्रयत्न गरिरहेकी हुन्थिन्† जतिसुकै प्रतिकूल र निराशाको बेलामा पनि आशाको कल्पना गरिरहेकी हुन्थिन् र जतिसुकै दु:खको बेलामा पनि सु:खको अनुभूति गर्ने प्रयत्न गरिरहेकी हुन्थिन् । त्यसैले टेथिस महासागरदेखि अहिलेसम्मको क्रमबद्ध इतिहास तयार पार्नको लागि भविष्यमा कुनै विधि वा उपाय निस्कनेछ भन्ने कुरामा उनलाई विश्वास थियो ।

    उनको ध्यान पुन: कुसुन्डातिर गयो । उनलाई लाग्यो कहीँ अहिले लोप हुँदै गएको त्यो जाति नै ढुङ्गेयुगीन मानवको निरन्तरता त थिएन । त्यो कुरा सम्भव नहुन पनि सक्थ्यो तर सायद सम्भव हुन पनि सक्थ्यो ।

    फेरि उनलाई लाग्यो, अहिलेका कुसुन्डा ढुङ्गेयुगीन मानवका सन्तान भए पनि—तर त्यो कुरा निश्चित रूपले भन्नका लागि कुनै ऐतिहासिक आधार थिएन—उनीहरूले त्यो सम्पूर्ण इतिहास आफूभित्र नै सीमित राखेका थिए । उनीहरूको इतिहास जान्नका लागि कुनै उपाय थिएन तर भाषाका माध्यमद्वारा उनीहरूको इतिहास थाहा हुन नसके पनि उनीहरूको शरीरको अध्ययन गरेर त्यो इतिहास पत्ता लाग्न सक्दथ्यो कि ?
    आखिर संसारको कुनै पनि प्राणी वा मानव पनि अकस्मात् त संसारमा पैदा भएको होइन । त्यसको शरीर, नसा, डिएनए, जिन, मस्तिष्क लाखौँकरोडौँ वर्षको विकासको अविक्षिन्न प्रक्रियाको परिणाम हो । कुनै मानिसले वा कुनै जातिले त्यसबारे केही भन्न नसके पनि—भन्नु सम्भव नभए पनि—शरीरको सूक्ष्म अङ्गको वा तिनीहरूभित्र लुकेको इतिहासको अध्ययन गरेर उनीहरूको सम्पूर्ण पूर्व इतिहासको, यहाँसम्म कि उनीहरूको लाखौँकरोडौँ वर्षको विकासक्रमको ज्ञान हुन सक्थ्यो । त्यसो गर्नु सम्भव हुन्थ्यो वा हुँदैनथ्यो? त्यो कुरा उनलाई थाहा थिएन ।

    अहिलेसम्म ज्ञानविज्ञानबारे उनलाई जे जति थाहा भएको थियो, त्यसको आधारमा त्यसरी पूर्व इतिहासको ज्ञान प्राप्त गर्नु सम्भव थिएन तर उनले आशा गरिन्, उनले कल्पना गरिन्, सायद त्यो सम्भव थियो ।

    त्यसो भएमा अहिले उनका अगाडिका कुसुन्डाको इतिहास ढुङ्गेयुगीन मानवसित जोडिन सकेमा त्यो कति खुसीको कुरा हुन्थ्यो । त्यसरी उनीहरूको इतिहासको सम्पूर्ण विकासक्रमलाई किताबका पानाजस्तै पढ्न पाएमा त्यो कति धेरै खुसीको कुरा हुन्थ्यो ? उनी कल्पनाबाट पुन: यथार्थमा उत्रिन् ।

    अहिलेसम्म कर्णाली प्रदेशको लिच्छवि वंशभन्दा पहिलेको कुनै इतिहास ज्ञात थिएन तर केही समय पहिलेसम्म त्यहाँको मध्ययुगीन इतिहास वा बाइसे राज्यको इतिहासबारे पनि केही थाहा थिएन । कतिपय विदेशी शोधकर्ता एड किनसन, हेमिल्टन वा पछिल्ला दिनमा योगी नरहरिनाथको अथक प्रयत्नले त्यस बेलाको इतिहासबारे पनि केही न केही, सायद धेरै नै, जानकारी प्राप्त भएको थियो । त्यसै गरेर अरू गहन अध्ययन र अनुसन्धानद्वारा त्यहाँको इतिहासबारे, यहाँसम्म कि लिच्छवि कालभन्दा पहिलेको इतिहास पनि प्रकाशमा आउनेछ भन्ने कुरामा उनलाई विश्वास थियो ।

    आखिर इतिहास त सबैतिर छ । त्यो माटामुनि लुकेर बसेको छ । त्यसलाई पत्ता लगाउनु इतिहासकारको जिम्मेवारी हुन्छ । इतिहास पुरातत्त्वशास्त्र, मानवशास्त्र वा ज्ञानविज्ञानका अरू कैयौँ शाखाद्वारा क्रमश: कुनै कुनै बेला अकस्मात् रूपले पनि त्यो इतिहास प्रकट हुँदै जानेछ । खालि समयको मात्र कुरा हो । कुनै बेला त्यो कार्य केही ढिलो हुनेछ, कुनै बेला छिटो पनि हुन सक्छ ।

    जुम्ला, दुल्लु, डोटी आदिबारे जे जति इतिहासको ज्ञान भएको छ, त्यो इतिहास ती क्षेत्रमा मात्र सीमित छ भन्ने होइन, अन्यत्र पनि कर्णाली प्रदेशका सबै जिल्लामा त्यही प्रकारले इतिहास लुकेर बसेको हुन सक्छ, खालि त्यसलाई खोज्ने वा पत्ता लगाउने काम मात्र बाँकी छ । क्रमश:

    आइतबार, फागुन १७, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मुन्धुम पैदलमार्ग र प्रिय सुदीप
    जुन गाउँले मलाई धेरै दियो
    जीवन र मृत्यु
    बाल स्रष्टाहरूको सिर्जनात्मक उत्सव सम्पन्न, सिर्जना डबलीको वेबसाइट विमोचन
    ‘१२ मे’ नाटक भदौ २१ गते मञ्चन हुने
    के गुमाएँ मैले ?

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • २.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ३.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ४.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ५.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ६.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ७.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ८.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.