काठमाडौँ । प्युठानमा राष्ट्रिय जनमोर्चाका उम्मेदवार तिलकबहादुर जिसी नेतृत्वको चुनाव प्रचारप्रसार टोली झिमरुक पुगेको छ ।
२०८२ फागुन १५ गतेसम्मै वडावडासम्म प्रचार गर्ने गरी उक्त टोली फागुन १४ गते झिमरुक पुगेको हो ।
प्रचारमा संलग्न अखिल (छैठौं) का अध्यक्ष तथा समानुपातिक उम्मेदवार सुवास जिसीका अनुसार मुख्यत: जनभेटघाट र घरदैलो गर्दै राजमोले प्रचार अभियान सञ्चालन गरिरहेको छ ।
‘प्रचारप्रसारको क्रममा हामी प्रत्यक्ष रूपमा जनताको घरदैलोमै पुगेका छौँ’ जिसीले भन्नुभयो– ‘झिमरुकमा पहिले पनि आएका थियौँ, अहिले पुन: सबै वडाका जनताको घरदैलोमा पुग्ने गरी अहिले हामी झिमरुकमा छौँ ।’
उहाँले झिमरुकमा फागुन १५ गतेसम्म भेटघाट नसकिए फागुन १६ गते पनि प्रचार अभियान सञ्चालन हुने जानकारी दिनुभयो ।
जिसीका अनुसार उम्मेदवार नेतृत्वका टोलीले सामान्यत: फागुन १५ गतेसम्मका लागि कार्यक्रम निश्चित गरे पनि त्यसपछि छुटेका वडा वा माग भएका ठाउँमा राजमो प्रचारटोली पुग्नेछ ।
उम्मेदवार नेतृत्वको टोलीबाहेक विभिन्न पालिकाका विभिन्न वडामा वडास्तरीय प्रचारटोली परिचालन गरिएको उहाँले जानकारी दिनुभयो ।
उम्मेदवार जिसी नेतृत्वको टोलीमा समानुपातिक उम्मेदवार विनोद विक, अखिल नेपाल किसान महासङ्घ (अप्फा) का केन्द्रीय सचिव वीरबहादुर जिसी, राजमो जिल्ला सदस्य तथा झिमरुक पालिका समितिका अध्यक्ष टिका जिसी, मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय सदस्य खिमबहादुर विकलगायत सहभागी हुनुहुन्छ ।
