शङ्करप्रसाद पोख्रेल, बुटवल ।
राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा समानुपातिक उम्मेदवार चित्रबहादुर केसीले गिलास चिह्न राष्ट्रवादी शक्तिको प्रतीक भएको दाबी गर्नुभएको छ ।
२०८२ फागुन १० गते आइतबार राजमो रुपन्देहीले बुटवलको देवीनगरमा आयोजित सभालाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।
सभालाई सम्बोधन गर्दै अध्यक्ष केसीले राष्ट्रियताको रक्षा, गणतन्त्रको संरक्षण र सङ्घीयता खारेजको एजेन्डालाई जोडदार रूपमा अघि सार्नुपर्ने बताउनुभयो ।
‘राष्ट्रिय जनमोर्चा लोकतन्त्र, राष्ट्रियता र धमनिरपेक्षताको पक्षमा लडिरहेको शक्ति हो’ उहाँले भन्नुभयो– ‘राजमोको चुनाव चिह्न गिलास राष्ट्रवादी शक्तिको प्रतीक हो ।’
केसीले राजमोलाई भोट दिएर राष्ट्रियताप्रेमी शक्तिलाई जिताउन आग्रहसमेत गर्नुभयो ।
अध्यक्ष केसीले देशको वर्तमान राजनीतिक अवस्था चुनौतीपूर्ण रहेको उल्लेख गर्दै राष्ट्रिय स्वाधीनता र आत्मनिर्भर अर्थतन्त्र निर्माण आजको आवश्यकता भएको बताउनुभयो ।
‘राष्ट्रियता कमजोर भयो भने विकास सम्भव हुँदैन । गणतन्त्रको रक्षा गर्दै देशलाई सही दिशामा लैजानु अहिलेको प्रमुख जिम्मेवारी हो’ उहाँको भनाइ थियो ।
उनले सङ्घीय संरचना खर्चिलो र अप्रभावकारी बन्दै गएको दाबी गर्दै त्यसको पुनरवलोकन मात्र होइन, खारेज गरेर सुदृढ र उत्तरदायी शासन व्यवस्था स्थापना गर्नुपर्ने धारणा राख्नुभयो ।
‘जनताको जीवनस्तर उकास्न नसक्ने संरचना बोकेर हिँडिरहनुको अर्थ छैन’ उहाँले थप्नुभयो ।

भ्रष्टाचार नियन्त्रणका विषयमा बोल्दै उनले राज्यका सबै निकायमा शून्य सहनशीलताको नीति अवलम्बन गर्नुपर्ने बताउनुभयो ।
सार्वजनिक पदधारण गरेका व्यक्तिको सम्पत्ति छानबिन गरी अवैध आर्जन प्रमाणित भए कडा कारबाही गर्नुपर्ने उहाँको भनाइ थियो ।
‘भ्रष्टाचारले विकास अवरुद्ध गरेको छ, जनताको विश्वास कमजोर बनाएको छ । अब यस विरुद्ध निर्णायक कदम चाल्नुपर्छ’ उहाँले स्पष्ट पार्नुभयो ।
सभामा उहाँले देशमा विदेशी हस्तक्षेप बढिरहेको आरोप लगाउँदै विशेष गरी अमेरिकी साम्राज्यवादको प्रभाव विस्तार भइरहेको बताउनुभयो ।
‘नेपाल स्वतन्त्र र सार्वभौम राष्ट्र हो । कुनै पनि शक्तिको दबाबमा राष्ट्रिय हित विपरीत निर्णय हुनुहुँदैन’ उहाँले भन्नुभयो ।
राष्ट्रिय जनमोर्चाले सन्तुलित र स्वाधीन परराष्ट्र नीति अवलम्बन गर्नुपर्ने एजेन्डा अघि सारेको उहाँको भनाइ थियो ।
युवाको रोजगारीका विषयमा उनले स्वदेशमै रोजगारी सिर्जना गर्न ठोस योजना आवश्यक रहेको उहाँले बताउनुभयो ।
‘हाम्रो प्राथमिकता कृषि, उद्योग र पर्यटनको विकासमार्फत उत्पादन बढाउने हो । युवा विदेश पलायन हुन बाध्य हुने अवस्था अन्त्य गर्नुपर्छ’ उहाँले भन्नुभयो ।
सिपमूलक तालिम, सहुलियत कर्जा र उत्पादनमुखी शिक्षालाई प्राथमिकतामा राखेर रोजगारका अवसर विस्तार गरिने उहाँले दाबी गर्नुभयो ।
त्यस्तै, विदेशमा रहेका नेपाली नागरिकलाई मतदानको व्यवस्था मिलाउनुपर्ने मागसमेत उहाँले दोहोर्याउनुभयो ।
‘देश निर्माणमा योगदान दिइरहेका प्रवासी नेपालीको मताधिकार सुनिश्चित हुनुपर्छ’ उहाँले भन्नुभयो ।
प्रवासमा रहेका नेपालीको मतलाई व्यवस्थित र सुरक्षित तरिकाले समेट्न आवश्यक कानुनी तथा प्राविधिक तयारी गर्न सरकारसित उहाँले आग्रह गर्नुभयो ।
कार्यक्रमको सञ्चालन समानुपातिक उम्मेदवार लीलाबहादुर केसीले गर्नुभएको थियो ।
यता, राजमो रुपन्देही–२ ले पनि प्रचार अभियानलाई तीव्र बनाएको छ । क्षेत्र नम्बर २ का उम्मेदवार रुकबहादुर पराजुलीले घरदैलो कार्यक्रममार्फत जनतासँग प्रत्यक्ष भेटघाट गर्दै पार्टीका नीति तथा कार्यक्रमबारे जानकारी गराइरहेका छन् ।
‘हामी राष्ट्रवाद, गणतन्त्र र स्वच्छ राजनीतिका पक्षमा छौँ । जनताको समस्या बुझेर समाधान गर्ने प्रतिबद्धता लिएका छौँ’ पराजुलीले भन्नुभयो ।
उहाँले विकास, सुशासन, रोजगारी र सामाजिक न्यायलाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
राजमोका स्थानीय नेताहरूका अनुसार रुपन्देहीका विभिन्न गाउँ तथा टोलमा घरदैलो, कोणसभा र भेटघाट कार्यक्रम निरन्तर सञ्चालन भइरहेका छन् । पार्टीले जनताबाट सकारात्मक प्रतिक्रिया प्राप्त भइरहेको दाबी गरेको छ ।