मोहनविक्रम सिंह ##
उपन्यासमा प्रेमको चर्चा गर्ने सिलसिलामा उल्लेख गरिएका दुईओटा पात्रहरू दिव्या र विद्याका उदाहरण पनि उल्लेख गरिनेछन् । दिव्या पहिले अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (छैठौँ) की कार्यकर्ता थिइन । उनको विचार प्रगतिशील प्रकारको थियो । उनको विवाह एउटा सिडियोसित भएको थियो । पहिले उनी एउटा प्रगतिशिल सोचाइ राख्ने विद्यार्थी (पाल्पाको त विद्यार्थी नेता नै) थिइन् । त्यो अवस्थामा एउटा पञ्चेसित विवाह गर्ने कुरा उनले स्वीकार गर्न सक्दैनथिन् ।
पहिले उनको दिदीको विवाह एउटा सिडियोसित भएको थियो तर चितवनको नारायणी नदमीा डुङ्गा तरेर आफ्ना पतिसित काठमाडौँ जाँदा डुङ्गा पल्टेर उनको मृत्यु भएको थियो । दिदीको मृत्युपछि उनका बाबुआमाले उनको विवाह उनका भिनाजु सिडियोसित नै गरिदिन खोजेका थिए । त्यसबारे आफ्नो विचार प्रकट गर्दै उनले भनेकी थिइन्– “दिदीको मृत्यु भएपछि बुबाआमाले मेरो विवाह भिनाजुसित गर्दिनुभयो । पहिले ता मैले त्यो प्रस्ताव मानिनँ । कहाँ म एउटा क्रान्तिकारी अखिलकी सक्रिय कार्यकर्ता, कहाँ भिनाजु सिडिओ पार्टीलाई छाडेर पञ्चायती तानाशाही व्यवस्थामा लागेको मान्छेसित विवाह गर्न म तयार भइनँ । पाल्पाकी म विद्यार्थीकी नेता नै थिएँ । साथीहरूले के भन्लान् भन्ने लाग्यो तर पछि म तयार भएँ ।”
“के सोचेर तयार हुनुभयो दिदी ?” विद्याले सोधिन् ।
“मैले सोचेँ, विद्यार्थीको नेता भनेको २/४ दिनको कुरा हो । घरका जहानले खर्च दिँदासम्म, पढ्दासम्म नेता बन्ने हो । आखिर विवाह नगरीकन हुन्न । घरगृहस्थी गर्नैपर्दछ । घरगृहस्थी गर्न पैसा चाहिन्छ । अहिलेको जमानामा पैसा सबैभन्दा ठुलो कुरा हो । भिनाजुसित पैसा थियो । खानलाउन, सुखसयल गर्न कुनै दु:ख थिएन । दिदीका थुप्रै गहना र कपडा थिए । मैले ती सबै देखेकी थिएँ । अब ती सबै मेरै हुन्थे ।
मैले उहाँसित विवाह नगरे उहाँले अरू कसैसित विवाह गर्नुहुन्थ्यो र ती सबै गहना कपडा अरूका हुन्थे । भावनामा उडेर मात्र के गर्ने ? पछि मैले व्यावहारिक भएर सोचेँ । मैले सोचेँ, भिनाजुजस्ता धनसम्पत्ति, जग्गाजमिन, मानइज्जत भएको मान्छे पाउनु सजिलो हुन्न । दिदीले भिनाजुसित विवाह गर्दा उहाँहरूको कुनै सम्पत्ति थिएन । दिदीले कति दु:ख गरेर भिनाजुलाई ठुलो मान्छे बनाउनुभएको थियो तर मैले कुनै दु:ख गर्नुपर्ने आवश्यकता थिएन । मैले दिदीले प्रयत्न गरेर कमाएको धनसम्पत्तिमा राज गर्न सक्दथेँ । साथीभाइले २/४ दिन कुरा काट्थे । भिनाजुले पार्टी छोडेर पञ्चायती व्यवस्थामा सामेल हुँदा पनि उहाँका बारेमा मान्छेहरूले कति कुरा काटेका थिए ? मैले नै उहाँको विरोध गरेकी थिएँ तर उहाँले धनसम्पत्ति कमाएपछि सिडिओ भएपछि सबैले उहाँको इज्जत गर्न थाले । सिडिओको पत्नी भएपछि मेरो पनि इज्जत हुनेछ । विवाह हुनेबित्तिकै सिडिओ साहेबनी बन्न पाउनु—त्यो भाग्यले मात्र पाइने कुरा थियो । ती सबै कुरा सोचेर मैले विवाह गर्न मञ्जुर गरेँ ।”
माथिको दिव्याको भनाइबाट उनले प्रेम र विवाहलाई कुन अर्थमा लिन्थिन् ? त्यो कुरामा कुनै शङ्का रहन्न । उपन्यासमा यो कुरा पनि बताइएको छ, पहिले उनले एउटा साइकलवाला केटालाई प्रेम गर्दथिन् तर पछि एउटा मोटरसाइकलवाला केटा पाएपछि पहिलोलाई छाडेर त्यसैलाई प्रेम गर्न थालिन् तर सिडियो भइसकेको आफ्नो भिनाजुसित विवाह गर्न पाएपछि उनले मोटरसाइकलवाला केटालाई पनि छाडेकी थिइन् । यो स्पष्ट थियो, उनले आफ्नो भिनाजुलाई प्रेमका कारणले होइन, उनको पद र सम्पत्ति देखेर नै विवाह गरेकी थिइन् ।
उनले सुनन्दा र विद्यालाई आफ्ना कपडा, गहना, आलमारीमा राखेका पैसा आदि सबैको प्रदर्शन गरेकी थिइन् । त्यसरी कुनै दिन आफूलाई प्रगतिशील र क्रान्तिकारी ठान्ने विद्यार्थी नेताको लागि अब धनसम्पत्ति नै जीवनको मुख्य उद्देश्य र त्यही नै उनको प्रसन्नता र गौरवको कुरा पनि बनेको थियो ।
पहिले उनले भ्रष्टाचारलाई गलत बताउँथिन् । त्यसलाई अनैतिकता ठान्दथिन् तर अब त्यसबारे उनको दृष्टिकोणमा पनि परिवर्तन भएको थियो । त्यसबारे उपन्यास लेखिएको यो भनाइबाट प्रष्ट हुन्छ : “सिडिओ, अञ्चलाधीश भएपछि मान्छेहरू एकसेएक काम ल्याएर आउँछन् । आफ्नो कामका लागि ५०/५० हजार, कुनै कुनै बेला लाख लाख रुपैयाँसम्म दिन तयार हुन्छन् । भिनाजुले ता पहिले घुस खान हुन्न भन्नुहुन्थ्यो । नैतिकता र इमानदार भएर काम गर्नुपर्दछ भन्नुहुन्थ्यो तर दिदीले भिनाजुलाई साफ झपार्नुभयो । नैतिकता र इमानदारिताको कुरा गर्ने विचार भए पार्टी छाड्न हुँदैनथ्यो । एकपल्ट सिद्धान्त बेचेपछि, पार्टीसित गद्दारी गरेपछि केको नैतिकताको कुरा ? एकपल्ट दिदीले भिनाजुलाई त्यस्तो भन्दा म अगाडि नै थिएँ । मैले पनि भिनाजुको पक्ष लिएर कुरा गरेँ । दिदीले हाँस्दै मलाई भन्नुभयो– ‘पछि थाहा पाउलिस् ।’ त्यस बेला ता म दिदीका अगाडि उफ्रेँ तर मैले अहिले बल्ल बुझेँ । दिदीले कति टाढा भविष्यसम्म देख्न सक्नुभएको रहेछ ।
एकपल्ट घुस खान सुरु गरेपछि ता त्यो सिलसिला नै चल्यो । कैयौँले कुरा पनि काटे । पत्रपत्रिकाले पनि लेखे । बदनामी पनि भयो । बिचबिचमा भिनाजु आत्तिनुहुन्थ्यो तर दिदीले भन्नुहुन्थ्यो– सधैँ पञ्चायती व्यवस्था रहनेछ भन्ने पनि केही छैन । सिडिओ पनि सधैँ हुन पाइनेछ भन्ने पनि छैन । मौका पाएको बेलामा सकेसम्म पैसा बटुल्नुपर्दछ । भिनाजुले त्यही गर्नुभयो । भ्रष्टाचारको आरोपमा नै उहाँ सिडिओबाट खारेज हुनुभयो तर त्यसका लागि कुनै चिन्ता छैन । तीन वर्ष सिडिओ हुँदा भिनाजुले लाखौँ रुपैयाँ कमाउनुभयो । २ लाख खर्च गरेर भ्रष्टाचारको आरोपबाट सफाइ पाउनुभयो । अब एकपल्ट उहाँ अञ्चलाधीश हुन पाउनुभयो भने लाखौँ होइन, हामीले करोडौँ रुपैयाँ कमाउनेछौँ । दिदीले केही पढ्नुभएको थिएन र ता त्यतिका पैसा कमाउनुभयो भने मैले ता आइएसम्म पढेकी छु, करोडौँ पैसा कमाउने उपाय निकाल्नेछु ।”

दिव्याका ती सबै कुरा सुन्दा विद्यालाई एक प्रकारको आनन्द लागिरहेको थियो । उनका अगाडि एउटा पिछडिएको व्यक्तित्वका कैयौँ पृष्ठ एकपछि अर्को गर्दै खुल्दै गइरहेकोजस्तो लागिरहेको थियो तर सायद पुस्तकका पृष्ठ होइन, सिनेमामा एउटापछि अर्को गर्दै कैयौँ पात्र उनका अगाडि घुमिरहेजस्तो लागिरहेको थियो । उनी मनमनै हाँसिरहेकी थिइन् तर विद्याले मन्त्रमुग्ध भएर दिव्याका कुरा सुनिरहेकी थिइन् । दिव्याले देखाएका एकसेएक मूल्यवान् कपडा, हीराको औँठी, उनका पतिले अञ्चलाधीश भएपछि किनिदिने भनेको हीराको हार, उनको दराजमा राखिएका नोटका गड्डी, बैङ्कमा भएको २० लाख रुपैयाँ काठमाडौँमा उनको भव्य बङ्गला, अञ्चलाधीश भएपछि करोडौँ रुपैयाँ कमाउने योजना—ती सबै कुरा सुनेर विद्या दङ्गदास भइरहेकी थिइन् ।
त्यही बेला सिडिओ बाहिरबाट नै कराउँदै भित्र पसे । उनी भित्र पसेपछि दिव्याले भनिन्– “उहाँको बोली । निकै पिएर आएजस्तो छ । ठुल्ठुला पार्टीमा जानुहुन्छ । राष्ट्रिय पञ्चायतका सदस्य, मन्त्री, अञ्चलाधीश, विदेशी राजदूत सबै आउँछन् । नपिएर हुन्न । नपिउने हो भने असभ्य भइन्छ । सोसाइटीमा मिल्न नै सकिन्न ।”
माथि दिव्याबारे जुन चित्रण गरिएको छ, त्यसबाट उनको प्रेम, विवाह वा जीवनलाई हेर्ने कुन प्रकारको दृष्टिकोण थियो, त्यो कुरा स्पष्ट हुन्छ । समाज तथा पार्टी वा क्रान्तिको लागि आफूलाई सम्पूर्ण रूपले समर्पण गर्ने—त्यस प्रकारका उद्देश्यलाई आधार बनाएर प्रेम वा विवाह गर्ने सोचाइ र दिव्याको सोचाइमा के कति भिन्नता छ ? त्यसबारे अवश्य पनि कुनै व्याख्याको आवश्यकता छैन । कुन प्रकारको प्रेम, विवाह वा जीवनलाई शिष्ट थान्ने ? त्यो कुरा बेग्लाबेग्लै व्यक्तिको जीवनप्रतिको उनीहरूको दृष्टिकोणका आधारमा निर्धारित हुने कुरा हो । त्यसबारे विद्याको पनि कुन प्रकारको दृष्टिकोण थियो ? त्यसबारे पनि केही उल्लेख गर्नु सायद अप्रासङ्गिक हुनेछैन ।
विद्या थबाङकी एउटा रोका मगरकी छोरी थिइन् । जलजला थबाङ गएको बेलामा जलजला उनका घरमा नै बसेकी थिइन् । उनी गाउँका कैयौँ मानिसका घरमा बस्ने गर्दथिन तर धेरैजसो विद्याकै घरमा नै बस्ने गर्दथिन् । विद्याकी आमाले पनि जलजलालाई आफ्नी छोरीजस्तै माया गर्दथिन् । त्यसले गर्दा विद्याको जलजलासितको धेरै नै आत्मीय सम्बन्ध कायम भएको थियो । जलजलामाथि शङ्का गरेर पुलिसले उनलाई पक्रने कुरा गर्न थालेपछि उनी त्यहाँबाट भागेकी थिइन् । जलजला थबाङबाट हिड्ने बेलामा विद्या पनि उनीसित सँगै आएकी थिइन् । जलजलाले उनलाई लखनऊमा चियापसल गरेर बस्ने उनका बाउकहाँ छाडिदिएकी थिइन् ।
विद्याको कुनै खास सैद्धान्तिक ज्ञान थिएन् तर जलजलासितको सङ्गत, उनको प्रभाव र उनीसितको गहिरो प्रेमका कारणले उनी जलजला वा कम्युनिस्ट पार्टीकी पक्का भक्त भएकी थिइन् । अर्काे शब्दमा उनी कट्टर कम्युनिस्ट बन्दै गएकी थिइन् । वास्तवमा उनको जलजलाप्रतिको अगाध माया देखेर तथा वर्षौंसम्म जलजलाको कुनै समाचार नपाउँदा उनी धेरै नै दुखित भएको देखेर नै सुनन्दाले जलजलालाई खोज्न नेपाल आउने निर्णय गरेकी थिइन् । यहाँसम्म कि जलजलालाई खोज्ने एउटा माध्यमको रूपमा नै उनले पिएचडीमा पश्चिम नेपालको मध्यकालीन इतिहासलाई पनि समावेश गर्ने निर्णय गरेकी थिइन् तर दिव्यासितको केही बेर बसाइ वा उनका कुरा सुनेपछि उनी धेरै प्रभावित भएकी थिइन् र त्यसपछि उनको जीवन पार्टी वा जलजलालाई हेर्ने दृष्टिकोणमा नै परिवर्तन भएको थियो ।
त्यस सन्दर्भमा उपन्यासमा लेखिएको छ– दिव्याका कुरा सुनेपछि विद्यालाई लाग्न थालेको थियो– “पार्टी, क्रान्ति, माक्र्सवाद, लेनिनवाद, साम्यवाद, नयाँ जनवादी क्रान्ति आदि सबै बेकारका कुरा ता थिएनन् ?
कैले नयाँ जनवादी क्रान्ति हुने हो ? कैले समाजवाद आउने हो ? साम्यवाद त झन् धेरै टाढाको कुरा भयो : आकाशको फल आँखातरि मर । त्यो भविष्यको कल्पना गरेर आफ्नो वर्तमान जीवनलाई बर्बाद गर्नु—त्यो कहाँको बुद्धिमानीको कुरा थियो ?
दिव्याप्रति विद्याका मनमा आदर र श्रद्धाको भावना पैदा भयो ।
उनले पनि दिव्याको जस्तै सम्पन्न भविष्यको कल्पना गरिन् । उनले सोचिन्, उनी पार्टीका पछि लागिन् भने त्यस प्रकारको कुनै सम्भावना थिएन । दिव्याको सिडिओसित विवाह भएपछि नै उनको जीवन त्यति सम्पन्न भएको थियो । उनको पनि कुनै ठुलो र धनी मानिससित विवाह हुन सके उनको भाग्य खुल्ने थियो तर त्यस्तो मान्छे कहाँ पाउनु ? भाग्यले मात्र त्यस्तो लोग्ने पाइन्छ । भारतमा ता कुनै ठुलो मान्छेसित उनको विवाहको सम्भावना थिएन । नेपालमा जानलाई वारेन्ट थियो । त्यही जलजलाको पछि लागेर नै उनको नाममा वारेन्ट काटिएको थियो । त्यही जलजलाको पछि लागेर नै उनको भाग्य बिग्रेको हो ।”
त्यस सिलसिलामा उपन्यासमा अगाडि लेखिएको छ– “उनको ध्यान अकस्मात् डा. जगदीशतिर गयो । त्यो मान्छेसित उनको विवाह हुन पाए उनको भाग्य खुल्ने थियो । त्योसित विवाह हुन पाए… । पहिले सोभियत संशोधनवादी भनेर उनले उसलाई घृणा गर्दथिन् तर अब उनलाई लागिरहेको थियो, संशोधनवादी, प्रतिक्रियावादी, गद्दार जे भए पनि अब उनलाई त्यो कुराको कुनै मतलब थिएन तर अब सुनन्दाले नै उनीसित विवाह गर्ने विचार गर्न थालेकी थिइन् ।
पहिले आफू गान्धीवादी भएकाले त्योसित विवाह गर्दिनँ भन्थी, अब त्यसको गान्धीवाद कहाँ गयो ? डा. साहेबको धनसम्पत्ति, पद वा राम्रो नोकरी देखेर त्योसित विवाह गर्ने विचार गर्न थालेकी छे ।
विद्यालाई सुनन्दामाथि रिस उठेर आयो । गान्धीवादी भएर कम्युनिस्टसित विवाह गर्न लाज पनि नलाग्ने ?
सोच्दासोच्दै उनको ध्यान जलजलातिर गयो । अहिलेसम्म जलजला पहाडपर्वत, वनजङ्गलमा घुम्दै जसरी भूमिगत रूपले पार्टीको काम गर्दै आएकी थिइन्, त्यसप्रति उनका मनमा धेरै श्रद्धा थियो तर आज दिव्याको कुरा सुनेपछि उनका मनमा प्रथमपल्ट जलजलाप्रति बेग्लै प्रकारका धारणा उठ्न थाले ।
दिव्याले जलजलाबारे भनेका सबै कुरा सत्य थिए । जलजला एक दिन एक जना मानिससित हिँड्थिन्, अर्को दिन अर्को मानिससित । मध्यरातमा एक्लै जङ्गलमा केटाहरूसित घुम्ने गरेको कुरा पनि सत्य नै थियो । उनको अझैसम्म विवाह पनि भएको थिएन र छोराछोरी पनि थिएनन् । त्यसैले दिव्याले उनलाई आवारा बताएकी थिइन् । त्यो कुरा मान्न उनको मन अझै तयार थिएन तर उनको भूमिगत र पार्टी जीवनप्रति उनका मनमा पहिले जुन श्रद्धाको भावना थियो, त्यो धेरै नै घटेर गएको थियो ।
पहिले विद्याले जलजलाजस्तै पार्टी कार्यकर्ता हुने कुरा सोच्थिन् तर अब उनको मनमा बारम्बार यो कुरा खेल्न थालिरहेको थियो, होइन, एउटी महिलाका लागि त्यस प्रकारको जीवन राम्रो कुरा थिएन । एउटा महिलाको विवाह होस्, सम्पन्न र विद्वान् पति होस् र पतिको राम्रो नोकरी वा आयको स्रोत होस् । खान–लगाउन राम्रो व्यवस्था होस् । छोराछोरी होउन् । आखिर जीवन भनेको सुखका लागि पनि हो । बारम्बार त जीवन पाइन्न । एउटा जीवनमा सुख नपाए कैले प्राप्त गर्ने ?
अध्यात्मवादीले ता मृत्युपछि अर्को जीवन हुन्छ, स्वर्ग जान पाइन्छ भन्ने विश्वास गर्दछन् । त्यसरी यो जीवनमा सुख नपाए… ? त्यसरी यो जीवनमा दु:ख पाएपछि पनि मरेपछि स्वर्गीय सुख भोग्न पाइन्छ भन्छन् तर माक्र्सवादले अर्को जीवनमाथि विश्वास गर्दैन ।”
गोदाबरीमा घुम्न गएको बेलामा उनको अकस्मात् आफ्ना जेठा बा अनुप सिंहसित भेट भएको थियो । उनी एउटा पर्वतारोहण टोलीमा धौलागिरी हिमालयमा आरोहणका लागि नेपाल आएका थिए । उनीहरू त्यो आरोहणमा जानुभन्दा पहिले काठमाडौँ आएर माउन्टेन फ्लाइटद्वारा सगरमाथा हिमालयको अवलोकन गर्न जाने योजना बनाएका थिए । गोदावरीमा अकस्मात् सुनन्दासित भेट भएपछि उनका जेठाबाले उनलाई पनि त्यो माउन्टेन फ्लाइटमा सामेल गर्ने निर्णय गरेका थिए ।
त्यस सिलसिलामा उपन्यासमा लेखिएको छ– “सुनन्दा माउन्टेन फ्लाइटमा गएपछि विद्या एक्लै कोठामा थिइन् । त्यो बेला उनी दिव्यालाई भेट्न गएकी थिइन् र २–३ घण्टासम्म उनी त्यहीँ बसेकी थिइन् । त्यो बेला पनि दिव्याले उनलाई धेरै कुरा बताएकी थिइन् । खास गरेर उनकी दिदीले उनका भिनाजुलाई पार्टीबाट हटाएपछि उनीहरूको जीवन कति राम्रो भएको थियो ? उनले त्यो कुरा नै बढी बताएकी थिइन् । ती कुरा सुन्दासुन्दै विद्याका मनमा यो कुराले गहिरो प्रकारले घर जमाएको थियो कि पार्टी भनेको व्यर्थको कुरा हो र पार्टीमा लागेपछि जीवनमा दु:ख मात्र पाइन्छ । त्यो कुरा सोच्दासोच्दै उनको मनमा जलजलाप्रति पनि घृणाको भाव बलियो बनेको थियो र उनलाई खोज्नका लागि त्यति धेरै कष्ट उठाएकोमा उनलाई धेरै पश्चात्ताप लागेको थियो । त्यसका लागि उनलाई धेरै खुसी लागेको थियो कि दिव्याले उनका आँखा खोलिदिएकी थिइन् ।”
दिव्याका कुराकानी सुनेपछि विद्याको जीवन र सबै चिजलाई हेर्ने दृष्टिकोणमा आमूल परिवर्तन भएको थियो । अब उनलाई जलजला खोज्न नेपाल आएको कुराका लागि पनि धेरै पश्चात्ताप लागिरहेको थियो र अब त्यो कार्यप्रति उनको मनमा कुनै उत्साह वा रुचि थिएन ।
सिडिओबाट जलजलाको चितवन तोरीखेतको ठेगाना पाएपछि सुनन्दा र विद्या उनको घर खोज्दै तोरीखेत पुगे । त्यहाँ उनीहरूको जलजलासित ता भेट भएन तर उनका बाबुआमा र भाइबहिनीहरूसित भेट भएपछि सुनन्दा धेरै खुसी भइन् तर विद्यालाई उनीसँगको भेटघाट पनि बेकारजस्तो लागेको थियो । जलजलाका भाइबहिनीले थबाङमा उनीहरूकी दिदी उनको नै घरमा बसेको र दिदीसित नै उनी भारततिर आएको थाहा पाएर उनीहरूका मनमा सुनन्दाप्रति भन्दा विद्याप्रति नै बढी आत्मीय भाव देखा परेको थियो तर विद्या कसैसित पनि केही नबोलीकन चुपचाप लागेर बसेकी थिइन् । त्यो बेला तिहार नजिकै आउन थालेको थियो । जलजलाकी आमाले उनीहरूलाई तिहारसम्म त्यहीँ बस्न भनेकी थिइन् तर विद्याले मानिनन् र उनीहरू बुटवलतिर लागे ।
त्यो बेला नारायणीमा पुल बनेको थिएन र त्यहाँ डुङ्गाद्वारा नै नदी पार गर्नुपर्दथ्यो र गैँडाकोटबाट बुटवल जाने बस चढ्नुपर्दथ्यो । सुनन्दा र विद्या गैँडाकोटबाट बुटवलको बसमा चढे । त्यो बेला पनि विद्याका मनमा कैयौँ कुरा खेलिरहेका थिए । त्यस सिलसिलामा उपन्यासमा लेखिएको छ– “दिव्याका कुराको विद्याको मनमा धेरै नै असर परेको थियो । उनको (दिव्याको) यो कुराको सबैभन्दा ठुलो असर परेको थियो : सबैभन्दा ठुलो पैसा नै हो ।
उनले मनमनै एउटी धनी र सम्पन्न महिला भएर आफ्नो गाउँ थबाङमा पुग्ने कल्पना गरिन् । उनले मनमनै सोचिन् अनि त्यो गाउँमा उनको कति ठुलो इज्जत हुनेछ । त्यो सोचेर उनी मनमनै धेरै खुसी भइन् ।
दिव्याले जलजलाबारे पनि कैयौँ नयाँ कुररू बताएकी थिइन् । उनले बडो स्पष्ट शब्दमा भनेकी थिइन्– जलजलाको समाजमा कुनै इज्जत छैन । सबैले उनको निन्दा गर्दछन् । उनी एउटी बदनाम आइमाइ हुन् ।
नारी भनेका घरका गहना हुन् । घरभित्र बस्दासम्म नै उनीहरूको इज्जत हुन्छ । घरगृहस्थी, पति, छोराछोरी—त्योभन्दा बाहिर निस्केपछि महिलाहरू वेश्याजस्ता हुन्छन् । दिव्याले सिधैँ भनेकी थिइन्– त्यो जलजला वेश्या हो, वेश्या ।
दिव्याको कुरा विद्यालाई ठिक लागेको थियो । सुनन्दा र विद्या विनाउद्देश्य यताउता घुमिरहेका थिए । जलजलालाई खोज्ने काम पनि बेकारको काम थियो । त्यसबाट उनीहरूलाई के फाइदा हुन्थ्यो ? केही पनि फाइदा हुँदैनथ्यो । जलजलालाई खोज्न त्यतिका दु:ख र कष्ट उठाएकोमा उनलाई पश्चात्ताप लाग्न थालेको थियो ।
अब उनका मनमा जलजलाप्रति पहिलेजस्तो आदर र श्रद्धाको भाव थिएन । उनलाई लाग्न थालिरहेको थियो, पहिले उनका मनमा जलजलाप्रतिको जुन श्रद्धा थियो, त्यो अन्धश्रद्धा थियो । दिव्याले उनको आँखा खोलिदिएकी थिइन् । वास्तवमा भन्ने हो भने उनले (दिव्याले) उनलाई नयाँ ज्ञान दिएकी थिइन् ।
दिव्याले पहिलेका कैयौँ कम्युनिस्ट नेताका बारेमा बताएकी थिइन् । डा. केशरजङ्ग रायमाझी कम्युनिस्ट पार्टीका महामन्त्री नै थिए । उनले कम्युनिज्मबारे कम बुझेका थिए र ? तर उनले सुरुदेखि नै राजा र पञ्चायती व्यवस्थालाई समर्थन गरे । उनले कम्युनिस्ट पार्टी पनि चलाएका थिए । राजा र व्यवस्थालाई पनि समर्थन गरेका थिए । उनको ठुलो घर थियो । उनको प्रशस्त सम्पत्ति थियो । कम्युनिस्ट नेता भनेको त त्यस्तो पो हुनुपर्दछ ।
ती कुरा सुन्दा उनको ध्यान डा. जगदीशप्रति गएको थियो । पहिले उनले उनलाई सोभियत संशोधनवादी भनेर घृणा गर्दथिन् तर अब उनलाई लाग्न थालिरहेको थियो, डा. जगदीश डा. केशरजङ्ग रायमाझीजस्तै बुद्धिमान कम्युनिस्ट थिए । केशरजङ्गको पनि सोभियत सङ्घको कम्युनिस्ट पार्टीसित सम्बन्ध थियो तर त्यसबाट उनले धेरै फाइदा उठाएका थिए । उनलाई अब लाग्न थालेको थियो, डा. जगदीशले पनि सोभियत सङ्घको कम्युनिस्ट पार्टीलाई समर्थन गरेर बुद्धिमानीको काम गरेका थिए । त्यसो गर्दा कुनै दु:खकष्ट र खतराको सामना पनि गर्नुपर्दैनथ्यो ।
आरामसित कम्युनिस्ट भएर पनि काम गर्न पाइन्थ्यो । अब उनलाई डा. जगदीशप्रतिको पहिलेको आफ्नो विचार गलत लाग्न थालिरहेको थियो । सबै कुरामाथि विचार गर्दा उनलाई माओत्सेतुङ विचारधाराभन्दा सोभियत संशोधनवाद सही लाग्न थालिरहेको थियो । होइन, त्यो संशोधनवाद थिएन । त्यो नै सच्चा कम्युनिस्ट सिद्धान्त थियो । त्यो कुरा सोच्दासोच्दै उनलाई जलजला र आफ्ना बिचमा झन् धेरै अन्तर—एक प्रकारको मौलिक अन्तरविरोध—भएजस्तो महसुस हुन थाल्यो । जलजला उनीभन्दा धेरै टाढा भएजस्तो महसुस हुन थाल्यो । जलजलाले माओत्सेतुङ विचारधारालाई समर्थन गर्थिन् । अब उनलाई डा. केशरजङ्ग र डा. जगदीशको विचार सही लाग्न थालिरहेको थियो । अनि उनी र जलजलाका बिचमा कसरी मेल हुन सक्थ्यो ?
उनको ध्यान पुन: सुनन्दातिर गयो । डा. जगदीशले उनी (सुनन्दा) सित विवाह गर्ने प्रस्ताव पठाएका थिए । त्यो (सुनन्दा) गान्धीवादी, डा. जगदीश कम्युनिस्ट । उनीहरूको के जोडी मिल्थ्यो ? तैपनि त्यसले डा. जगदीशको पदप्रतिष्ठा र धनसम्पत्ति देखेर त्योसित विवाह गरिहाली भने उनले त्यसलाई छाडेर मसित विवाह गर्ने छैनन् ।
विद्याको मन भरङ्ग भयो । उनी उदास भइन् । उनले सुनन्दातिर फर्केर हेरिन् तर फेरि टाउको बटारिन् ।
गान्धीवादी भएर कम्युनिस्टसित विवाह गर्न लाज पनि नलाग्ने ? फेरि उनले सम्झिन्, डा. जगदीशको सुनन्दाप्रतिको प्रेम एकतर्फी थियो । उनले (सुनन्दाले) सधैँ उनको विवाहको प्रस्तावलाई अस्वीकार गर्दै आएकी थिइन् । उनलाई केही आशा लागेर आयो, त्यस्तो भए कति राम्रो हुन्थ्यो ? सुनमा सुगन्ध हुन्थ्यो । मेरो भाग्य जाग्ने थियो । मेरो जीवन बन्ने थियो । फेरि उनले सोचिन्, सुनन्दाले त्यो प्रस्ताव स्वीकार गरिन् भने ? उनी मनमनै उदास भइन् ।
विद्याको मनमा फेरि एउटा अर्को द्विविधा देखा पर्यो । सुनन्दाले डा. जगदीशसँग विवाह गर्न अस्वीकार गरे पनि उनले (डा. जगदीशले) उनीसित नै विवाह गर्नेछन् भन्ने कुराको के ग्यारेन्टी थियो ? उनीसित विवाह गर्न उनी (विद्या) भन्दा पढेलेखेका, राम्रा र सम्पन्न घरका सयकडौँ केटी तयार हुनेछन् । उनी त लखनऊमा चियादुकान गरेर बस्ने एउटा सामान्य गरिब मान्छे कि छोरी थिइन् । उनलाई डा. जगदीशले के पत्याउलान् ।
उनलाई आफ्नो बाबुमाथि रिस उठेर आयो । एउटा गरिबकी छोरी भएकोमा उनले आफ्नो भाग्यलाई सरापिन् । उनले मनमनै सोचिन्, उनी कुनै धनी र सम्पन्न बाउकी छोरी भएको भए कति राम्रो हुन्थ्यो ?
विद्या मनमनै धेरै निराश र दु:खित भइन् । उनका आँखाबाट आँसु चुहुलान्जस्तो भयो । त्यही बेला सुनन्दाले विद्यातिर हेरिन् । उनी रुन खोजेकोजस्तो देखेर सुनन्दाले भनिन्– के भयो विद्या ? तिमी रुन खोजेकी छौ कि के हो ? किन रुन खोजेको ? विद्याले भनिन्– केही होइन, जलजला दिदीलाई सम्झेर ।”
दिल्लीको एउटा बस दुर्घटनामा जलजलाको मृत्यु भएको थियो । त्यसले गर्दा सुनन्दा एक प्रकारले विक्षिप्तजस्तै भएकी थिइन् । त्यो घटनाबाट विद्या पनि धेरै दुखित भएकी थिइन् र अब दिव्याको कुरा सुनेर उनका मनमा जलजलाप्रति जुन नराम्रो धारणा बनेको थियो, त्यो पनि पूरै हटेर गएको थियो ।
त्यस सन्दर्भमा उपन्यासमा लेखिएको छ– “काठमाडौँमा दिव्याको कुरा सुनेर नै उनको जलजलाप्रतिको नराम्रो धारणा बनेको थियो । अब उनलाई लाग्न थालिरहेको थियो, जलजलाबारे दिव्याले भनेका सबै कुरा गलत थिए । उनी (जलजला) एउटा सच्चा क्रान्तिकारी थिइन् । देश र जनता तथा पार्टी र क्रान्तिप्रति सम्पूर्ण रूपले समर्पित सच्चा क्रान्तिकारी ।
विद्याले बारम्बार यो सोचेर आफूलाई धिक्कार्ने गर्दथिन्, दिव्याजस्ती महिलाको कुरा सुनेर उनले जलजलाप्रति नराम्रो धारणा बनाएकी थिइन् । अब उनलाई यो स्पष्ट भएर गएको थियो, स्वयम् दिव्या कुनै राम्री महिला थिइनन् । बाइक भएको केटा पाएपछि साइकल चढ्ने केटासितको प्रेमलाई तोड्ने र सिडियोसँग विवाह हुने अवसर आएपछि बाइक चढ्ने केटासितको सम्बन्ध पनि तोड्ने । आफ्नी दिदीले पतिलाई, उनको भिनाजुलाई, घुस खान लगाएर जम्मा गरेको धनसम्पत्ति र गहनाका लागि गर्व गर्ने उनकी दिदीले आफ्नो पतिलाई सिद्धान्त र पार्टीलाई छाडेर पञ्चायती व्यवस्थामा सामेल गराउन सक्नुलाई आफ्नो सफलता मान्ने ? त्यस्ती महिलाको कुरा सुनेर उनले जलजलाजस्ती उनलाई त्यति धेरै माया गर्ने र आफ्नो सिद्धान्त र कर्तव्यपथमा लगातार अगाडि बढिरहेकी दिदीलाई घृणा गर्न थालेकी थिइन् । ती सबै कुरा सम्झेर उनलाई धेरै नै पश्चात्ताप लागिरहेको थियो । तर अब उनले खालि पश्चात्ताप मात्र गर्न सक्थिन् । जलजला दिदीको मृत्यु भइसकेको थियो, सायद उनका कारणले नै ।
उनलाई लाग्न थालिरहेको थियो, जलजलाको मृत्युका लागि सायद उनी नै जिम्मेवार थिइन् । जलजला दिल्लीको लागि हिडेपछि सुनन्दाले उनलाई पनि सँगै जान भनेकी थिइन् तर उनले मानेकी थिइनन् । दिल्लीका बसमा चढ्ने र उत्रने काम अत्यन्त खतरनाक हुन्छ । ती बसमा एक प्रकारले हिँड्दाहिड्दै चढ्नु वा उत्रनुपर्दछ । दिल्लीमा बस चढ्ने मानिसका लागि त्यसरी बसमा चढ्ने वा उत्रने काम अत्यन्त कठिन हुन्छ । जलजला दिल्लमा प्रथमपटक गएको हुनाले उनलाई त्यस प्रकारको अभ्यास थिएन् तर उनी उनीसित सँगै गएको भए सायद उनको मृत्यु थिएन । सायद बसबाट झर्ने बेलामा लोटेर उनको मृत्यु हुने थिएन । त्यो सोचेर उनलाई धेरै पञ्चात्ताप लागेको थियो र एक्लै हुँदा उनी धेरै रुन्थिन् ।
त्यही बेला मास्कोबाट डा. जगदीशले सुनन्दालाई लेखेको एउटा पत्र ल्याएर विद्याले उनलाई दिइन् । त्यो पत्रमा डा. जगदीशले सुनन्दासित विवाहको प्रस्ताव राखेका थिए । त्यो विवाहको लागि उनी भारत आउन पनि तयार थिए वा उनी रुसमा नै आएमा उनीहरूको त्यही पनि विवाह हुन सक्दथ्यो ।
त्यस सन्दर्भमा उपन्यासमा लेखिएको छ– “अब उनी बेग्लै विद्या भएकी थिइन् अथवा त्यो कुरालाई यसरी पनि प्रस्तुत गर्न सकिन्छ : उनी दिव्यासित भेट हुनुभन्दा पहिलेकी विद्याजस्ती भएकी थिइन् । दिव्यासितको कुराकानीपछि उनी धेरै बदलिएकी थिइन् तर जलजलाको मृत्युबाट उनलाई ठुलो चोट पुगेको थियो र त्यसपछि उनीमाथि परेको दिव्याको असर समाप्त भएको थियो । त्यसैले उनको जीवनकालमा भन्दा चिजलाई हेर्ने दृष्टिकोण बेग्लै भएको थियो । अहिले डा. जगदीशको सुनन्दासित विवाहको प्रस्ताव आउँदा उनका मनमा कुनै ईष्र्या, डाह वा रिसको भावना पैदा भएको थिएन ।”
डा. जगदीशले पठाएको विवाहको प्रस्तावको उल्लेख गर्दै सुनन्दाले भनिन्– “उहाँले विवाहका लागि दुईओटा विकल्प दिनुभएको छ : एउटा– उहाँ भारतमा आउने र यहीँ विवाह गर्ने । अर्को म रुसमा जाने र उहीँ विवाह गर्ने । यी दुईओटामध्ये कुन चाहिँ कुरा स्वीकार गर्न राम्रो होला ? यसबारे मैले स्पष्ट रूपले केही भन्न सक्दिनँ ।”
विद्याले भनिन्– “भारतमा नै विवाह गरे म पनि विवाहको बेलामा सँगै हुन्थेँ । तपाईंका इष्टमित्र, बाउआमा, फुपू, अङ्कल आदि सबै पनि त्यो विवाहमा उपस्थित हुन सक्नुहुन्थ्यो । धेरै रमाइलो हुन्थ्यो ।”
सुनन्दाले भनिन्– “अहिले ममा रमाइलो गर्ने कुनै इच्छा पनि छैन । उत्साह पनि छैन । अहिले शोकको बेलामा मलाई सकेसम्म छिट्टै दिल्लीबाट कतै टाढा जान मन लागेको छ । मेरो मनमा केके कुरा आइरहन्छन् । मनमनै के के तर्क गर्न थाल्छु । कैयौँपल्ट एक्लै रुन थाल्छु । मैले भन्न सक्दिनँ, मेरो कहिलेसम्म यस्तो अवस्था रहने हो ? अहिले मलाई कुनै सुख पनि चाहिएको छैन । आनन्द पनि चाहिएको छैन । मैले विवाह गरेँ भने पनि त्यो खालि एउटा औपचारिकता मात्र हुनेछ, यहाँबाट धेरै टाढा जाने एउटा माध्यम मात्र । सायद यहाँबाट धेरै टाढा गएपछि मेरो मन केही हल्का हुनेछ कि मेरो दु:ख केही कम हुनेछ कि ।”
विद्याले पनि त्यसबारे बढ्ता केही भन्न सकिनन् । उनले यति मात्र भनिन्– “सायद” ।
सुनन्दाको कुरा सुनेर विद्यालाई धेरै दु:ख लागेको थियो । उनले (सुनन्दाले) विवाहलाई एउटा औपचारिक र यहाँबाट धेरै टाढा जाने एउटा माध्यम मात्र बताएकी थिइन् । उनको त्यो कुराले बताउँथ्यो, विवाहप्रति उनका मनमा कुनै उत्साह थिएन । खालि दिल्लीबाट टाढा जान तथा आफ्नो मनलाई केही हल्का गर्न नै उनले विवाहको प्रस्तावलाई स्वीकार गर्ने विचार गरेकी थिइन् । त्यस अवस्थामा त्यो विवाहले उनलाई कति सुख र प्रसन्नता देला, विद्याको मनमा एउटा नजानिँदो प्रकारको आशङ्का उत्पन्न भयो । त्यसैले सुनन्दाको कुरा सुनेर उनलाई दु:ख लागेको थियो तैपनि उनले सोचिन्, विवाहपछि सबै कुरा सामान्य हुँदै जानेछ । उनी सुखी हुने छिन् । उनको मनको त्यही प्रकारको अवस्थामा नै उनले (सुनन्दाले) भनेको कुराको जबाफमा बढी केही भन्न नसकेर “सायद” मात्र भनेकी थिइन् तर त्यो “सायद” भित्र धेरै कुरा लुकेका थिए ।
जलजलाप्रति विद्याका मनमा जुन उतारचढाव देखा परेको थियो, त्यसको चर्चा गर्दै उपन्यासमा लेखिएको छ– “जलजला थबाङमा गएको बेलादेखि नै उनले उनलाई धेरै नै माया गर्दथिन् । दिव्याको कुरा सुनेपछि उनले उनलाई घृणा गर्न थालेकी थिइन् । अहिले उनको मृत्यु भएपछि उनले आफूलाई जिम्मेवार भएको बताएर पश्चात्ताप गर्न थालेकी थिइन् र जलजलाप्रतिको उनको माया र आदर पुन: फर्केर आएको थियो ।
जलजलाप्रतिका उनका भावनामा भएको त्यस प्रकारको उतारचढावले उनको निम्नस्तरको वैचारिक स्तरलाई नै बताउँदथ्यो । कुनै दिन उनी पक्का कम्युनिस्ट भएकी थिइन् तर उनको पार्टीप्रतिको त्यस प्रकारको समर्थन कुनै सैद्धान्तिक स्तरमा नभएर भावनात्मक स्तरमा नै थियो ।
जलजलाप्रतिको उनको प्रेम वा आदरभाव वैचारिक स्तरमा स्थापित भएको थिएन । त्यसैले दिव्याका केही कुरा सुन्नेबित्तिकै पार्टी र जलजलाप्रतिको उनका सम्पूर्ण धारणा धरासायी भएका थिए । अहिले जलजलाको मृत्युपछि पुन: उनको जलजलाबारे दिव्यासितको कुराकानीबाट उनको मनमा जुन असर परेको थियो, त्यो सबै हटेर गएको थियो । अब उनी पहिलेकी जस्तै विद्या बनेकी थिइन्, जलजलालाई हृदयदेखि नै प्रेम र आदर गर्ने विद्या ।
उनको चिन्तनमा आएको त्यस प्रकारको उतारचढावअनुसार उनको प्रेम र विवाहसम्बन्धी विचारमा पनि परिवर्तन हुँदै गएको थियो । पहिले उनले डा. जगदीशलाई सोभियत संशोधनवादी भनेर घृणा गर्दथिन् तर दिव्याको कुराकानीबाट उनको विचारमा आएको परिवर्तनपछि उनलाई एउटा बुद्धिमान कम्युनिस्ट ठान्न थालेकी थिइन् र उनीसित विवाह गर्ने कुरा सोच्न थालेकी थिइन् । दिव्याको सिडिओ विवाह भएपछि उनी ठुली, धनी र प्रतिष्ठित महिला बनेको देखेपछि उनले पनि त्यही प्रकारका कुनै व्यक्तिसित विवाह गर्ने र त्यसरी एउटा सम्पन्न महिलाको रूपमा थबाङ जाने कुरा सोच्न थालेकी थिइन् । सुनन्दाले डा. जगदीशसितको विवाहप्रति सकारात्मक दृष्टिकोण अपनाएपछि उनलाई धेरै नै ईष्या र डाहा भएको थियो तर जलजलाको मृत्यु पछि डा. जगदीशले सुनन्दालाई विवाहको प्रस्ताव राखेर पत्र पठाएपछि अब उनको मनमा कुनै ईष्या वा डाहाको भावना पैदा भएको थिएन र उनले त्यो विवाहद्वारा सुनन्दाको जीवन खुसी हुने कामना गर्न थालेकी थिइन् ।