काठमाडौँ । फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचन बहिष्कार गर्ने घोषणा गरेका ऋषि कट्टेल र धर्मेन्द्र बास्तोला पक्राउ परेका छन् ।
कट्टेल नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष हुन् भने बास्तोला नेकपा (बहुमत) का महासचिव हुन् ।
कट्टेललाई २०८२ फागुन ६ गते कीर्तिपुरस्थित ट्याङला फाँटबाट गिरफ्तार गरिएको सो पार्टीले जनाएको छ ।
बहिष्कार कार्यक्रमलाई अझ सशक्त बनाउने भन्दै संयुक्त बैठक बस्ने तयारी गरिरहेका बेला कट्टेललाई गिरफ्तार गरिएको बताइएको हो ।
सो पार्टीनिकट मानिएका मिडियाले फागुन ५ गतेको सेना दिवसमा विदेशी सेनाको परेड सम्बन्धमा कट्टेलले लेखेको सामाजिक सञ्जालको स्टाटससँग सो गिरफ्तारीलाई जोडे पनि प्रहरीले भने सोसम्बन्धी कुनै जानकारी दिएको छैन तर निर्वाचन बिथोल्ने गतिविधि गरेको आरोपमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कट्टेललाई कीर्तिपुरबाट पक्राउ गरेको बताइएको छ ।
यता, फागुन ५ गते साँझ अर्का बहिष्कार पक्षधर बास्तोला खिँचापोखरीबाट गिरफ्तारीमा परेका थिए ।
उनीसँगै अहिलेसम्म उक्त पार्टीका चार जना पक्राउ परिसकेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रामेश्वर कार्कीले जानकारी दिए ।
बास्तोलासँगै सो पार्टीका विष्णुप्रसाद तिमल्सिना र दुर्गा प्रसाई समूहका एसपी साहलगायत पक्राउ परेको प्रहरीले बताएको छ ।
बहिष्कारका पक्षधर चार दल सम्मिलित संयुक्त सङ्घर्ष समितिका संयोजक सी.पी. गजुरेलले आजै प्रेसवक्तव्य जारी गर्दै सो गिरफ्तारीको विरोध गरेका छन् ।
उनको वक्तव्यमा गिरफ्तार नेताहरूलाई तत्काल रिहा गर्न माग गरिएको छ ।