काठमाडौँ । राष्ट्रिय जनमोर्चाले युरोपको पोर्चुगलबाट दुई हजार बढी नेपालीलाई निष्काशन गरिएकोमा विरोध जनाएको छ ।
उपाध्यक्ष तथा प्रवक्ता दुर्गा पौडेलको हस्ताक्षरमा २०८२ फागुन ४ गते सोमबार प्रेसवक्तव्य जारी गर्दै राजमोले सो विरोध गरेको हो ।
अहिले पनि अमेरिकाबाट नेपालीलाई निष्काशन गरिँदै आएको प्रसङ्ग जोड्दै आगामी दिनमो यो सिलसिला अरू बढेर जाने सम्भावना व्यक्त गरिएको छ ।
राजमोले देशमा उद्योग र कृषिको विकासपछि मात्रै त्यो समस्याको समाधान हुन सक्ने निष्कर्ष प्रस्तुत गरिएको छ ।
यस्तो छ, प्रेसवक्तव्यको पूर्ण पाठ :
“पोर्चुगलमा करिब २ हजार नेपालीलाई त्यहाँबाट निस्कासित गर्ने र उनीहरूमध्ये कतिपयलाई जेलमा हाल्ने कुरा पनि आएको छ । त्यो कुराप्रति राष्ट्रिय जनमोर्चाले गम्भीर चिन्ता प्रकट गर्दछ र त्यो समस्याको समुचित समाधानका लागि नेपाल सरकारको ध्यान आकर्षित गर्न चाहन्छ ।
हालसालैका दिनमा नेपालीलाई त्यसरी ठुलो सङ्ख्यामा निस्कासित गर्ने कार्य अमेरिकामा देखा पर्यो । अब एक वा अर्काे प्रकारले त्यही प्रकारको सिलसिला पोर्चुगलमा पनि देखा परेको छ । यो कुराको अनुमान गर्न सकिन्छ कि सायद त्यस प्रकारको स्थितिको सामना अन्य देशका नेपालीले पनि गर्नुपर्नेछ । पुँजीवादी देशमा आर्थिक सङ्कट र बेरोजगारी बढ्नुका साथै विदेशी आप्रवासीप्रति कडा नीति अपनाउने वा उनीहरूलाई निस्काशित गर्ने प्रक्रिया बढ्दै जाने कुरा स्पष्ट छ । त्यसअनुसार संसारका अन्य देशमा पनि नेपालीप्रति त्यस प्रकारको व्यवहार बढ्दै जानेछ ।
त्यस प्रकारको स्थितिमा संसारका कुनै पनि देशमा नेपालीको न्यायोचित हितको रक्षाका लागि सरकारले ध्यान दिनुपर्ने आवश्यकता छ तर त्यसका साथै त्यो समस्याको मूल कारण नेपालमा कृषि, उद्योगको विकास हुन नसक्नु र त्यसरी रोजगारीको अवसरमा वृद्धि हुन नसक्नु नै हो । त्यसका लागि नेपालका सरकारका भ्रष्ट र गैरजिम्मेवार नीति नै जिम्मेवार छन् । त्यसकारण त्यो समस्याको समाधानको लागि विभिन्न सरकारले अपनाउने भ्रष्ट र गैरजिम्मेवार नीतिमा सुधारको आवश्यकता छ । त्यसका लागि विद्यमान व्यवस्थामा नै परिवर्तनको आवश्यकता छ । त्यसरी नेपालमा कृषि र उद्योगको अवस्थामा सुधार हुन सकेमा नै अहिले नेपालीले संसारका विभिन्न देशमा भोग्नु परिरहेको समस्याको पनि समाधान हुन सक्नेछ र त्यसका लागि हामीले सम्पूर्ण जनताको ध्यान आकर्षित गर्न चाहान्छौँ ।”