सुर्खेत । राष्ट्रिय जनमोर्चा सुर्खेत निर्वाचन क्षेत्र नम्बर १ का उम्मेद्वार मोहन थापाले सुर्खेतका जनता अहिले पनि मिटरव्याजबाट पीडित रहेको बताएका छन् । थापाले युगदर्शनसँगको अन्तर्वार्ताका क्रममा सो समस्या बारे जानकारी गराएका हुन् ।
‘सुर्खेतका जनता अहिले पनि मिटरव्याजको समस्याबाट पिडीत छन्, मिटरव्याजीहरूले धेरै मान्छेहरूको घरजग्गा खाइदिएर सुकुम्बासी बनाउने र बनाउने प्रक्रिया छ ।’ थापाले अगाडि भने– ‘यो समस्यालाई पनि हामीले रोक्नु पर्नेमा जोड दिंदै आएका छौँ ।’ आफुले चुनाव जितेमा मिटरव्याज समस्याको बारेमा पनि संसदमा उठाउने बताए ।
अबको वैकल्पिक राजनीतिक शक्ति राष्ट्रिय जनमोर्चा हुनुपर्दछ भन्ने जनताको चाहना रहेको थापाले बताए ।
राष्ट्रियता र गणतन्त्रको रक्षाको सवालमा भनौँ वा संघीयताको खारेजी लगायतको विषयमा राजमोले गर्दै आएको संघर्ष गर्दै आएको छ । जनताले राष्ट्रिय जनमोर्चा मात्रै निष्कलंक पार्टी रहेको प्रचारप्रसार जनतामाझ पुर्याएको थापाको भनाई छ ।
जेनजी आन्दोलनमा विषयमा थापाले भने– ‘जुन उदेश्यका लागि भएको थियो, त्यस अनुरुपको काम हुन सकिरहेको छैन । आन्दोलनको माग उपयुक्त हुँदाहुँदै पनि विदेशी शक्तिहरूले आफ्नो स्वार्थ अनुरुप आन्दोलनलाई उपयोग गरे ।’
सामाजिक सञ्जाल लगायत इन्टरनेटको माध्यमबाट युवाहरूले प्रचारप्रसार गर्ने दौरानमा आन्दोलनलाई सतही ढंगले बुझेको थापाले बताए । त्यस बारेमा युवाहरूलाई राजनीतिक विचार तथा विषयहरूलाई अलिक गहन र गहिराईमा पुग्नेगरी बुझाउनुपर्ने आवश्यकता रहेको थापाले औंल्याए ।
‘यदि त्यो खालको स्थिति सिर्जना भएन भने स्टनवाज गर्ने अथवा नयाँ भनिएका तथा विदेशी शक्तिहरूबाट सञ्चालित पार्टीहरूको उपस्थिति हुनेछ ।’ थापाले अगाडि भने– ‘उनीहरूको उपस्थितिले नेपाल पनि युक्रेन बन्न सक्ने स्थिति पनि हुन सक्ने अवस्था देखिन्छ । त्यसकारणले यो सन्देश आम रुपमा जनताको माझमा बुझाउन जरुरी छ ।’
रोजगार नहुँदा आम युवाहरू विदेश पलायन हुनेुपर्ने वाध्यता रहेको थापाको भनाई थियो ।
थापाले आफूले चुनाव जितेमा सुर्खेत निर्वाचन क्षेत्र नम्बर १ को भौतिक पूर्वाधारहरू निर्माणका कामहरूलाई व्यवस्थित बनाउने बताए । थापाले अगाडि भने– ‘अहिले जुन विकास भइरहेको छ, त्यो सबै पहुँच र शक्तिको आधारमा भइरहेको छ । समानुपातिक तथा समान वितरण प्रणालीको अधारमा भइरहेको छैन । त्यसलाई व्यवस्थित गर्नेछु ।’
चुनावमा मतदान कुन ठूलो पार्टी र कुन सानो पार्टी भन्ने आधारमा होइन, सहि नीति, कार्यक्रम एवं दृष्टिकोण भएको आधारमा जनताले मतदान गर्न मतदाताहरूलाई थापाले अपिल गरे ।