काठमाडौँ । नेपालको चुच्चे नक्शा लिपुलेक–लिम्पियाधुराका जनताले मतदान गर्न नपाउने भएका छन् । त्यस्तै सोही स्थानको नागुगाउँका जनताले निर्वाचन बहिष्कार गर्ने भएका छन् । राष्ट्रिय जनमोर्चा दार्चुलाका प्रत्यक्ष उम्मेद्वार विर्खराज पन्तले युगदर्शनसँग सम्वादका क्रममा सो जानकारी गराउनु भएको हो ।
पन्तका अनुसार दार्चुला जिल्लाको व्यास गाउँपालिका अन्तर्गत रहेको लिपुलेक–लिम्पियाधुरालाई भारतीय सुरक्षा निकायले निषेधित क्षेत्रको रुपमा घोषणा गर्दा त्यहाँका जनताले यसपटकको निर्वाचनमा पनि मतदान गर्न नपाउने भएका छन् । सो वडामा नेपाल सरकारले छाङरु र तिङ्कर गरी दुईवटा मतदान स्थल तय गरेको छ । छाङरुमा ३७५ मतदाता रहेका छन् भने तिङकरमा २४४ मतदाता रहेका छन् ।
गाउँपालिकाको एउटा वडाले त चुनाव नै बहिष्कार गरेको छ । चरम प्रकारको महंगाईको मारमा पिडित छन् जनता । व्यास गाउँपालिकाको नागुगाउँ जहाँ छसय मतदाता छन् उनीहरूले चुनाव बहिष्कार गर्दैछन् । नागुमा गाउँमा एक स्थानमा मतदान स्थत तय भएको छ ।
‘नेपालको तर्फदेखि नेपाली सुरक्षाकर्मीहरू लिपुलेकतर्फ जान लाग्दा उताबाट पनि भारतीय सेना झरिहाल्छ’ पन्तले भने– ‘नेपालको तर्फबाट भन्दा पनि भारतको तर्फबाट नै विवाद उत्पन्न गराउन चाहिरहेको अवस्था छ ।’
लिपुलेक र लिम्पियाधुरालाई भारतीय सैनिकले निषेधित क्षेत्रको रुपमा घोषणा गरी नेपालीहरूलाई जान नै नदिने गरेको पन्तले सुनाए । ‘विगतमा भन्दा वर्तमानमा स्थिति झनै भयङ्कर बन्दै गएको छ ।’
राष्ट्रिय जनमोर्चाले संसदमा खेलेको भूमिकाको जनताबाट राम्रो रेस्पोन्स पाइरहेको पन्तले बताए । ‘जनताले राष्ट्रिय जनमोर्चा मात्रै भ्रष्टाचार नगर्ने पार्टीको रुपमा बुझिरहेका छन् ।’
‘एमालेले लिम्पीयाधुरा र लिपुलेक भएको चुच्चे नक्शा देखाएर भोट माग्ने भाँडो बनाएका छ ।’ पन्तले अगाडि भने– ‘तर लिपुलेक–लिम्पियाधुरा र नेपालको भन्ने वित्तिकै भारतले सताउँछ । सिमानावासी मान्छेहरू भारतबाट पिडित छन् । स्थानीय बासिन्दाहरू यस विषयमा खासै कुरा गर्न चाहँदैनन् ।’
लिपुलेक लिम्पियाधुरा व्यास गाउँपालिकाको एक नम्बर वडा पर्दछ । त्यस वडाका जनताले जिल्ला सदरमुकाम खलङ्गा पुगेर मात्रै मतदान गर्न पाउने पन्तले बताए ।

