डोटी । राष्ट्रिय जनमोर्चाका महासचिव एवं प्रतिनिधिसभा सदस्य उम्मेद्वार मनोज भट्टले असंवैधानिक शुसिला कार्की सरकारलाई फागुन २१ गतेको चुनाबबाट विदाई गरिदिनुपर्ने बताउनुभएको छ ।
भट्टले फागुन १ गते डोटीको शिखर नगपालिका १० बाण्डोरामा मतदाताहरूलाई जनभेटघाटको क्रममा सो धारणा राख्नुभएको हो ।
२०४९ सालदेखि कैयौँ निर्वाचन सम्पन्न भएता पनि फागुन २१ गते हुने चुनावले विशेष महत्व राख्ने भट्टले बताउनु भयो । ‘विशेष महत्व किन राख्दछ भने, २०६२–६३ को जनआन्दोलनबाट नेपालमा स्थापना भएको गणतन्त्र र गतन्त्रात्मक संविधानको लिगबाट बाहिर गएको अहिलेको राजनीतिक स्थितिलाई फागुन २१ गते हुने चुनावले संविधानलाई लिकमा फर्काउने काम गर्नेछ ।’ भट्टले अगाडि भन्नुभयो– ‘अहिले देशमा असंवैधानिक सरकार छ, यो सरकार संविधान भन्दा बाहिरबाट बनेको सरकार हो । संविधान भन्दा बाहिरबाट बनेको सरकारले पहिलो काम प्रतिनिधि सभाको विघटन गर्यो ।’
संविधानभन्दा बाहिरबाट बनेको सरकारलाई हामीले चाँडोभन्दा चाँडो विदा गरेर देशमा गणतन्त्रात्मक प्रणालीलाई वा संवैधानिक प्रणालीलाई वहाल गर्नु पर्ने आवश्यकता भएको भट्टले जोड दिनुभयो । फागुन २१ गतेको चुनाव कुनै पनि हालतमा सम्पन्न हुनपर्ने भट्टको भनाई थियो ।