बागलुङ माघ २८ गते । नेपालको कम्युनिष्ट राजनैतिक मंचमा देखिने बिरलै दृश्य बागलुङमा प्रचण्ड र मोहन बिक्रम सिंह एउटै मञ्चमा एउटै उदेश्यका साथ देखिएका छन् । गणतन्त्र र राष्ट्रियताको रक्षाको लागि प्रचण्ड र एमवी सिंह एउटै मञ्चमा जुटेका हुन् ।
बागलुङमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र राष्ट्रिय जनमोर्चाले आयोजना गरेको संयुक्त चुनावी प्रशिक्षण कार्यक्रममा नेकपा मसालका महामन्त्री मोहन विक्रम सिंह र पूर्वप्रधानमन्त्री तथा नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गरेका छन् ।
राजनैतिक संकट टार्न निर्वाचनमा गएको मसालका महामन्त्री मोहन विक्रम सिंहले बताउनु भएको छ । युवाहरूको आन्दोलन पवित्र भएपनि आन्दोलनमा घुसपैठ भएको सिंहले बताउनु भयो । नेपाललाई अस्थिरता कायम गर्न विदेशी तत्व सक्रिय भएको जनाउँदै सिंहले नेपालको भविष्य जोगाउन कम्युनिष्टहरू एक हुन आवश्यक रहेकोमा जोड दिनुभयो । राष्ट्रियताको रक्षाकालागि सबैले हातेमालो गर्न आवश्यक रहेको सिंहको भनाई थियो ।
राष्ट्रिय जनमोर्चा ‘राजमो’ र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का बागलुङ क्षेत्र नम्बर १ का साझा वाम उम्मेदवार कृष्ण प्रसाद शर्मा अधिकारीको निर्वाचन प्रतिवद्धतापत्र प्रचण्ड र मोहन विक्रम सिंहलेसँगै सार्वजनिक गर्नुभएको थियो ।
प्रचण्डले यो क्षणलाई ऐतिहासिक भएको बताए । ‘हामी दुई जना एउटै मञ्चमा विरलै हुन्छौँ ।’ उनले भने– ‘मोहन विक्रम सिंहजीसँगको यो क्षण ऐतिहासिक हो ।’ सिंहसँगको राजनैतिक मञ्च बिरलै रहने र ऐतिहासिक भएको बताएका छन् ।
प्रचण्डले बागलुङमा आएर गिलास चिन्हमा भोट माग्दै राजमोका कृष्ण अधिकारीलाई जिताउन आग्रह गरे । प्रचण्डले यो चुनावी एकता मात्रै नभएर राष्ट्रिय रुपमा कम्युनिष्ट एकताको सकरात्मक सन्देश भएको बताएका छन् ।
कार्यक्रममा बागलुङ क्षेत्र नंम्बर १ का नेकपा र राजमोको साझा वाम उम्मेदवार कृष्णप्रसाद शर्मा अधिकारीले आफनो निर्वाचन प्रतिवद्धतापत्रको बारेमा जानकारी दिएका थिए ।
कार्यक्रम नेपाली कम्युनिष्ट पार्टी नेकपाका केन्द्रीय सदस्य चन्द्रबहादुर बुढा ‘सागर’ को अध्यक्षता र राष्ट्रिय जनमोर्चा बागलुङका अध्यक्ष तथा निर्वाचन परिचालन समितिका संयोजक तिलक थापाको सञ्चालनमा सम्पन्न भएको थियो ।
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीको आधार इलाकाको रुपमा रहेको बागलुङ क्षेत्र नम्बर १ मा नेकपाले जनमार्चाका कृष्णप्रसाद शर्मा अधिकारीलाई सघाएको छ भने क्षेत्र नम्बर २ मा जनमोर्चाले नेकपाका उम्मेदवार ज्ञामनाथ गैरे अनिललाई सघाएको छ ।