गुल्मी । गुल्मी जिल्लाको रुरु क्षेत्रमा राष्ट्रिय जनमोर्चाले आफ्नो चुनावी प्रचार–प्रसार अभियानलाई तीव्र बनाएको छ । परम्परागत रूपमा एमालेको प्रभाव क्षेत्र मानिँदै आएको यस क्षेत्रमा राजमोको सक्रिय उपस्थितिले राजनीतिक माहोल थप चासोपूर्ण बनेको छ।
राजमोका उम्मेदवार रामकुमार क्षेत्री सहित जिल्ला नेता टेक बहादुर केसी र प्रदेश सांसद तार थापाले संयुक्त रूपमा घरदैलो, भेटघाट तथा कोणसभा मार्फत प्रचार अभियानको नेतृत्व गरिरहेका छन् । नेताहरूले मतदातासँग प्रत्यक्ष संवाद गर्दै राजमोको नीति, कार्यक्रम र उम्मेदवारको प्रतिबद्धताबारे जानकारी गराइरहेका छन् ।
स्थानीय तहमा राजमोको बढ्दो सक्रियताले रुरु क्षेत्रमा चुनावी प्रतिस्पर्धा थप कडा हुने संकेत देखिएको छ । प्रचार अभियानका क्रममा नेताहरूले जनजीविकासँग जोडिएका मुद्दा, विकास, रोजगारी र सुशासनका विषयलाई प्राथमिकतामा राखेका छन् ।
राजमोको यस सक्रिय अभियानले परम्परागत राजनीतिक समीकरणमा नयाँ हलचल ल्याएको स्थानीयहरूको भनाइ छ ।