काठमाडौँ । राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य तथा गुल्मी जिल्ला क्षेत्र नं. १ का प्रत्यक्ष उम्मेदवार रामकुमार क्षेत्री (शेरबहादुर थापा) ले भोट बदल्ने नाममा सही पार्टी नचिने कराहीको माछो भुङ्ग्रोमा खसेजस्तै हुने बताउनुभएको छ ।
युगदर्शन मिडियालाई सङ्क्षिप्त अन्तर्वार्ता दिँदै उहाँले सो धारणा व्यक्त गर्नुभएको हो ।
‘अहिले जनतामा भोट बदल्ने चर्चा चलिरहेको छ । यो राम्रो सोचाइ हो’ उहाँले भन्नुभयो– ‘तर भोट बदल्ने नाममा फेरि गलत राजनीतिक दललाई जिताइयो भने कराहीको माछो फुत्केर भुङ्ग्रोमा खसेझैँ हुनेछ ।’
उहाँले यस खालको गल्ती नगर्न आमजनतासित अपिलसमेत गर्नुभयो ।
पुराना राजनीतिक दल तथा पटकपटक सरकारमा गइसकेका दलले गर्न नसकेको कामको सट्टा हजुरको के योजना छ भन्ने प्रश्नमा उहाँले भन्नुभयो– ‘अहिलेसम्म गरेका विकासको कामलाई सम्मान गर्दै उहाँहरूले गर्न नसकेका अधुरा काम मैले सम्पन्न गर्नेछु भन्ने प्रतिबद्धता म व्यक्त गर्न चाहान्छु ।’
उहाँले अगाडि भन्नुभयो– ‘शिक्षा, स्वास्थ नि:शुल्क गर्नुपर्छ । यो समस्या हाम्रो गुल्मी क्षेत्र नं. १ मा मात्रै नभएर देशैभरिको समस्या भएकाले यसको समाधानमा हामीले आवाज उठाउनेछौँ ।’
शिक्षा र स्वास्थ्य जन्मसिद्ध अधिकार भएता पनि महङ्गीले गर्दा जनताले त्यसलाई थेग्न नसकेको उहाँले बताउनुभयो ।
‘गरिबका छोराछोरी कहिल्यै पनि डाक्टर, इन्जिनियर हुन सकेनन्’ उहाँले भन्नुभयो– ‘सङ्घीयता खारेज गरेर शिक्षा र स्वास्थ्य नि:शुल्क बनाउनुपर्दछ ।’
त्यस्तै उहाँले विदेश पलायन भएको युवाशक्तिलाई देशमै रोक्ने वातावरण मिलाउनुपर्ने आवश्यकतामा समेत जोड दिनुभयो ।
मतदातालाई सम्बोधन गर्दै उहाँले देश जलाएर खरानी बनाएका शक्तिलाई भोट नदिन आग्रह गर्नुभयो ।
‘अहिले मात्रै होइन, हिँजोदेखि नै देश असुरक्षित अवस्थामा छ’ उहाँले भन्नुभयो– ‘पुराना राजनीतिक दलले शासनसत्ता चलाएकै बेलामा देश खरानी पारे । उनीहरूलाई जनताले फेरि चुन्ने गल्ती गर्नुहुँदैन ।’
उहाँले भन्नुभयो– ‘सत्तामा पुगेका दलहरूले देश चलाउन सक्नुुभएन । उहाँहरूले जे काम गर्नुभयो, सम्मान गर्दै अब राष्ट्रिय जनमोर्चालाई मतदान नगर्ने हो भने देशलाई साम्राज्यवादीले युक्रेनजस्तै बनाउनेछन् ।

