बुटवल । राष्ट्रिय जनमोर्चा प्युठान–रुपन्देही सम्पर्क समितिको चौथो भेला आज माघ २२ गते बुटवलमा सम्पन्न भएको छ ।
संगठन सुदृढीकरण, आगामी राजनीतिक कार्यदिशा र संगठन विस्तारका विषयमा केन्द्रीत रहेर भेला आयोजना गरिएको हो।
भेलामा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी प्रमुख वक्ताका रूपमा सहभागी हुनुभएको थियो । उहाँले वर्तमान राष्ट्रिय राजनीतिक परिस्थितिबारे धारणा राख्दै राष्ट्रियता, जनजीविका र सुशासनका पक्षमा संगठनलाई अझ सक्रिय बनाउनुपर्ने आवश्यकता औंल्याउनुभयो ।
त्यसैगरी राजमो नेता वासुदेव पोख्रेल, चेतनाथ आचार्य तथा राजमो प्युठान जिल्ला सचिव कृष्णप्रसाद पोख्रेलले पनि मन्तव्य राख्नुभएको थियो ।
वक्ताहरूले संगठनात्मक एकता, जनसम्पर्क विस्तार र आगामी दिनमा आन्दोलन तथा राजनीतिक गतिविधिलाई सशक्त बनाउने विषयमा जोड दिएका थिए ।
भेलाको अध्यक्षता सम्पर्क समितिका अध्यक्ष दीपक योगीले गर्नुभएको थियो भने सञ्चालन सचिव नन्दु पोख्रेलले गर्नुभएको थियो ।
कार्यक्रममा दुबै जिल्लाबाट आएका नेता तथा कार्यकर्ताको उल्लेख्य सहभागिता रहेको थियो ।