बुटवल । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीले पुराना नोकरबाट स्वार्थ पुरा भएपछि साम्राज्यवादले नयाँ नोक्कर बनाउन जोडतोडले लागेको बताउनु भएको छ ।
माघ २० गते सम्पन्न रुपन्देही निर्वाचन क्षेत्र न. २ को भेलालाई सम्बोधन गर्दै साम्राज्यवादले एमाले, काँग्रेस, माओवादीबाट जति आफ्नो स्वार्थ लिनु थियो त्यो लिइसकेकोले अब अर्को नोकरको खोजीमा रहेको केसीले जोड दिनुभयो ।
‘मैले राजनीतिमा लागेको ६५ वर्षको अवधिमा यतिधेरै मुलुक संकटमा परेको कहिल्यै देखेको थिएन, अनुभव पनि गरेन ।’ अध्यक्ष केसीले भन्नुभयो– ‘भारतले नेपालको कैयौँ भुभाग खायो, जबरजस्ती नेपाललाई संघीय प्रणालीमा लग्यो तर अहिले जति संकटमा नेपाल कहिल्यै परेको थिएन ।’
गणेश गौतमको सञ्चालन तथा लिलबहादुर केसीको अध्यक्षताबाट अगाडि बढेको सो कार्यक्रममा कम्युनिस्ट संग्राहलयका अध्यक्ष चेतनाथ आचार्य, किसान संघका केन्द्रीय सल्लाहकार चन्द्रबहादुर केसी, बुद्धिजिवी संघका केन्द्रीय सचिवालय सदस्य दुर्गानाथ खरेल, निर्वाचन क्षेत्र नंं २ का उम्मेद्वार रुकबहादुर पराजुली लगायतले आतिथ्यता एवं मन्तव्य दिनुभएको थियो ।
भेलाले १३ सदस्यीय सचिवालय सहित ५१ सदस्यीय निर्वाचन परिचालन समिति निर्माण गरिएको छ ।
भेलाले विभिन्न ११ स्थानमा सभा, कोण सभा सहित जनभेटघाट कार्यक्रम तय गरेको छ ।