धनगढी । राष्ट्रिय जनमोर्चाका महासचिव तथा डोटी प्रतिनिधिसभा क्षेत्रका उम्मेदवार मनोज भट्टले विद्यार्थी हत्या र सिंहदरबार जलाउनेलाई नेपाली जनताले अस्वीकार गर्नुपर्ने आवश्यकता दिनुभएको छ ।
गत भदौ २३–२४ गतेको जेनजीको नाममा भएको विध्वंसको प्रसङ्ग उठाउँदै महासचिव भट्टले यस्तो अभिव्यक्ति दिनुभएको हो ।
ढिलो गरी प्राप्त समाचारअनुसार गत २०८२ माघ १७ गते गते राजमो कैलालीको निर्वाचनकेन्द्रित भेलामा मन्तव्य राख्दै उहाँले यस्तो धारणा राख्नुभएको थियो ।
‘विद्यार्थीहरू स्कुली ड्रेसमा शान्तिपूर्ण प्रदर्शनका लागि नयाँबानेश्वर पुगेका थिए’ उहाँले भन्नुभयो– ‘तर प्रशासनले ताकी ताकी विद्यार्थीको हत्या गर्यो । त्यसले गर्दा सोही दिन १९ जनाको हत्या हुन पुग्यो ।’
गोली कसले चलायो ? त्यसको छानबिन गरेर दोषीमाथि कारबाही हुनुपर्ने आवश्यकतामा उहाँले जोड दिनुभयो ।
उहाँले भन्नुभयो– ‘गोली सुरक्षाकर्मीले नै चलाएको हो र त्यसका लागि कसैले आदेश दिएको हुनुपर्दछ । यस घटनाको निष्पक्ष छानबिन गरेर कारबाही गरिनुपर्दछ ।’
महासचिव भट्टले भदौ २४ गते छानी छानी देशका ऐतिहासिक धरोहर, प्रशासनिक भवन ध्वस्त गर्ने जोकसैलाई पनि कानुनी कारबाहीको दायरामा ल्याउनुपर्ने बताउनुभयो ।
‘असामाजिक तत्त्वहरूले छानी छानी सिंहदरबार, संसद् भवन, राष्ट्रपति निवास, सर्वोच्च अदालत, महान्यायाधिवक्ताको कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायत भौतिक संरचना जलाएर ध्वस्त पारेका छन्’ उहाँले भन्नुभयो– ‘यस खालको राष्ट्रविरोधी असामाजिक तत्त्व को को थिए ? त्यसको छानबिन गरेर कारबाही हुनुपर्दछ ।’
उहाँले जोड दिएर भन्नुभयो– ‘यस खालका असामाजिक तत्त्वलाई आगामी निर्वाचनमार्फत नेपाली जनताले अस्वीकार गरिनुपर्दछ ।
उहाँले त्यस खालको ध्वंसका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका नेता बालेनजस्ताको हात रहेको इसारा गर्नुभयो ।
मन्तव्यको क्रममा उहाँले जेनजीको नाममा राजनीतिक गर्नेहरूलाई पनि आमचुनावमार्फत् अस्वीकार गरिनुपर्ने बताउनुभयो ।
भेलाको उद्घाटन राजमो केन्द्रीय सदस्य तथा सुदूरपश्चिम प्रदेश समितिका अध्यक्ष नन्दराज भट्टले गर्नुभएको थियो ।
भेलामा वामपन्थी नेता आरसी भट्ट र राजमो नेता हरिकृष्ण पाण्डेले पनि मन्तव्य राख्नुभएको थियो ।
राजमो कैलालीका कावा अध्यक्ष शोभामणि भट्टको अध्यक्षता तथा मेर्जन शाहीको सञ्चालनमा अघि बढेको उक्त कार्यक्रममा हेमराज भट्टले स्वागत गर्नुभएको थियो ।
भेलाले हरिकृष्ण पाण्डेको संयोजकत्वमा नौ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरेको आयोजकले जानकारी दिएको छ ।
त्यस्तै कैलाली ३ नं. निर्वाचन क्षेत्रको भेला माघ २४ गते सम्पन्न गरेर फागुन १५ गतेसम्म कार्यक्रम बनाइने बताइएको छ ।
एवम् प्रकारले ४ नं. निर्वाचन क्षेत्रको भेला माघ २३ गते सम्पन्न गर्दै माघ २४ गतेदेखि फागुन १७ गतेसम्म प्रचारप्रसारको कार्यक्रम बनाइने आयोजकले बताएको छ ।
यता, निर्वाचन क्षेत्र नं. ५ को माघ २० गते सम्पन्न भेलाले फागुन १५ गतेसम्मका लागि निर्वाचन प्रचारप्रसारको कार्यक्रम बनाइएको राजमो नेता नन्दराज भट्टले जानकारी दिनुभयो ।

