खलङ्गा, प्युठान । नेकपा मसालका महामन्त्री मोहन बिक्रम सिंहले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को नेतृत्वमा अमेरिकाले नेपालमा आफूअनुकूलको कठपुतली सरकार निर्माण गर्न खोजेको बताउनु भएको छ ।
राष्ट्रिय जनमोर्चा झिमरुक गाउँपालिका स्तरीय चुनावी अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै सिंहले एमाले र कांग्रेस पनि साम्राज्यवादी नीतिप्रति झुकाव राख्ने दल भएको बताएता पनि एक–चीन नीतिमा उनीहरू उभिएको कारण अमेरिकाले उनीहरूमाथि पूर्ण विश्वास नगरेको बताउनु भयो ।
एमसीसी पारित गर्न ठूला दल सहमत भए पनि अमेरिकाले चाहेअनुसार काम नहुँदा नयाँ शक्तिको नाममा राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्वमा सरकार गठन गराउने प्रयास भइरहेको सिंहको भनाई थियो । विदेशी शक्तिको स्वार्थअनुकूल काम गर्ने दलहरूलाई पराजित गर्न आम नागरिक सचेत हुनुपर्नेमा सिंहले जोड दिनुभयो ।
राजमो झिम्रुक गाउँपालिकाका अध्यक्ष टिकाबहादुर जिसीको अध्यक्षता र राजमो जिल्ला सदस्य सीताराम पोखरेलको सञ्चालनबाट अगाडि बढेको सो कार्यक्रममा राष्ट्रिय जनमोर्चा लुम्बिनी प्रदेशका सल्लाहकार सुरेश थापा, अखिल छैठौँका अध्यक्ष सुभाष जिसी, अखिल नेपाल युवक संघका केन्द्रीय कोषाध्यक्ष कमल पौडेल लगायतले मन्तव्य राख्नुभएको थियो ।
सहभागिहरूलाई राष्ट्रिय जनमोर्चाको तर्फबाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेद्वार तिलक जिसीले सारगर्भित मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा सहभागिहरूलाई झिम्रुक गाउँपालिकाका सचिव देवेन्द्र जिसीले स्वागत गर्नुभएको थियो ।
भेलाले टिकाबहादुर जिसीको संयोजकत्वमा २५१ झिम्रुक गाउँपालिका स्तरीय प्रचारप्रसार समिति गठन गरेको छ ।


