बागलुङ । अवसरवाद, भ्रष्टाचार र जनविरोधी राजनीतिविरुद्ध बागलुङ–१ मा वाम शक्तिले निर्णायक चुनौती प्रस्तुत गरेको छ । राष्ट्रिय जनमोर्चा (राजमो) र नेपाली कम्युनिष्ट पार्टीको तर्फबाट साझा उम्मेद्वारका रुपमा कृष्ण अधिकारी चुनावी मैदानमा हुनुहुन्छ ।
कृष्ण अधिकारी कुनै हावादारी उम्मेदवार होइनन् । उनी नेपाली कम्युनिष्ट आन्दोलनको भट्टीमा खारिएका, संघर्षबाट उठेका र जनताको पक्षमा उभिएका नेता हुन् । विद्यार्थी आन्दोलनबाट राजनीतिमा होमिएका अधिकारीले जीवनभर शोषण, दमन र अन्यायविरुद्ध संघर्ष गर्दै आएका छन् । संसदलाई सौदाबाजीको थलो बनाउनेहरूका लागि उनी चुनौती नै हुन् र जनताको आवाज दबाउने शक्तिहरूका लागि उनी खतराको प्रतिक ।
त्यसका साथसाथै कृष्ण अधिकारी सामाजिक न्याय, समानता र जनअधिकारका प्रश्नमा सम्झौता नगर्ने नेता हुन् । जातीय छुवाछूत, वर्गीय विभेद, महिला उत्पीडन र श्रमिक शोषणविरुद्ध उनले निरन्तर संघर्ष गर्दै आएका छन् । किसानका पसिना सस्तोमा किन्ने, युवालाई बेरोजगार बनाएर विदेश धकेल्ने र जनताको नाममा राजनीति गरेर दलाल पूँजीको सेवा गर्ने प्रवृत्तिको उनी खुला विरोधी हुन् ।
बागलुङ–१ का किसान, मजदुर, श्रमिक, युवा र महिलाहरू आज परिवर्तनको खोजीमा छन् । कृषि उपजको उचित मूल्य, रोजगारीको ग्यारेन्टी, निःशुल्क र गुणस्तरीय शिक्षा–स्वास्थ्य, सडक र पूर्वाधार विकास तथा युवाको पलायन रोक्ने सवाललाई अधिकारीले चुनावी एजेण्डामात्र होइन, संघर्षको मुद्दा बनाएका छन् ।
राजमोभित्र विभिन्न जिम्मेवारी सम्हाल्दै पार्टी सचिवको भूमिकासमेत निर्वाह गरिसकेका अधिकारी वैचारिक रूपमा स्पष्ट र व्यवहारमा इमान्दार नेताका रूपमा चिनिन्छन् । भाषणमा मात्र होइन, व्यवहारमा पनि जनताको पक्षमा उभिने नेता भएकाले कार्यकर्ता र सर्वसाधारणबीच उनको गहिरो भरोसा रहेको छ ।
नेपाली कम्युनिष्ट पार्टीको साथ र समर्थनले बागलुङ–१ मा वाम तथा प्रगतिशील शक्तिको एकता थप मजबुत भएको छ । दुई पार्टीले संयुक्त रूपमा चुनावी मैदानमा उत्रँदै जनविरोधी नीतिहरू, साम्राज्यवाद र नवउदारवादी शोषणको विरुद्ध सशक्त आवाज उठाइरहेका छन् । यो एकता केवल चुनावका लागि होइन, जनताको पक्षमा दीर्घकालीन संघर्षका लागि भएको त्यहाँका राजनीति जानकारहरूको बुझाई रहेको छ ।
मनोनयन दर्ता सम्पन्न भएसँगै बागलुङ–१ मा चुनावी माहोल तातिएको छ । राजमो र नेपाली कम्युनिष्ट पार्टीका कार्यकर्ता टोल–टोल, गाउँ–गाउँ र बस्ती–बस्तीमा पुगेर जनतालाई संगठित गरिरहेका छन् । कोणसभा, जनसंवाद र घरदैलो अभियानमार्फत “सत्ता होइन, संघर्षशील प्रतिनिधि चाहिन्छ” भन्ने सन्देश जनतामाझ पुर्याइँदैछ ।
कृष्ण अधिकारी स्वयंले पनि यो चुनावलाई व्यक्तिगत जित–हारको विषय नभई जनताको पक्षमा राजनीति स्थापित गर्ने निर्णायक लडाइँका रूपमा लिएको बताएका छन् । उनले भनेका छन्, “संसद जनताको पीडा सुनिने ठाउँ बन्नुपर्छ, दलाल र भ्रष्टहरूको अखडा होइन । म जनताको आदेश लिएर संसद जानेछु ।”
राजनीतिक विश्लेषकहरूका अनुसार बागलुङ–१ मा वाम शक्तिको यो संयुक्त चुनौतीले चुनावी समीकरण बदलिने संकेत देखिएको छ । विगतदेखि नै वैकल्पिक र संघर्षशील राजनीतिप्रति आकर्षण रहेको यस क्षेत्रमा कृष्ण अधिकारीको उम्मेदवारीले जनआकांक्षालाई स्पष्ट दिशा दिएको विश्लेषण गरिएको छ ।
अब सबैको नजर फागुन २१ गतेमा केन्द्रित छ । त्यो दिन बागलुङ–१ का मतदाताले भ्रष्टाचार र अवसरवाद रोज्ने कि इमान्दार र संघर्षशील प्रतिनिधि चयन गर्ने भन्ने निर्णय गर्नेछन् । यो निर्वाचन केवल एक सिटको लडाइँ होइन, जनताको पक्षमा राजनीति बाँच्ने कि मर्ने भन्ने सवालको फैसला हो ।