– डिल्ली अम्माई
अमेरिकी साम्राज्यवाद विरुद्ध विश्वभरका देशभक्तहरू एकजुट हुनुको विकल्प छैन ।
“म बाघको बच्चा डमरु हुँ, मलाई सिनो खाने कुकुर नसम्झ।”
—मिल्न आउ भन्ने अंग्रेजको पत्रको जवाफमा देशभक्त कमान्डर अमर सिंह थापा ॅयी सिनो खानेहरू कहाँबाट आए आजकल ? के यिनै हुन् त हाम्रा सन्तान ? हामीले यही सिंह–ओढारमा बसेर नेपाललाई पूर्वको टिष्टा नदीदेखि पश्चिमको सतलज नदीसम्म साँध लगाएका थियौँ । अंग्रेजको छल र बलका कारण मेची–कालीमा खुम्चिएको हाम्रो मातृभूमिको रक्षा कसले गर्छ ?’
यो प्रश्न अहिलेको पुस्तातर्फ लक्षित छ, तर उत्तर दिने मानिसहरूको अनिकाल परेको छ ।
साम्राज्यवाद र नेपालको ऐतिहासिक प्रतिरोध :
जब बेलायती साम्राज्यवादी हस्तक्षेपले कमजोर राष्ट्रहरू ध्वस्त पार्दै थियो, त्यही समयमा जस–जस देशले सशक्त प्रतिरोध गर्न सके, ती देशहरू ब्रिटिश सीमामा गाभिनबाट जोगिए । गोर्खाका राजा पृथ्वीनारायण शाहको राज्य एकीकरण अभियानले नेपाललाई इष्ट इण्डिया कम्पनीको निगलबाट जोगायो मात्र होइन, प्राकृतिक र सांस्कृतिक सम्पदाको संरक्षण पनि गर्यो । यहीँबाट नेपालमा राज्यप्रति उत्तरदायी देशभक्त चेतनाको विकास भयो ।
आज फेरि नेपाल अघोषित संकटमा छ । साम्राज्यवादी शिक्षा प्रणाली र नरम शक्ति (दाम, दण्ड र प्रलोभन) प्रयोग गरेर इतिहास, स्मृति–स्तम्भ र सार्वभौमिकताका प्रमाणहरू मेट्ने प्रयास भइरहेको छ । सिलिकन भ्याली केन्द्रित सूचना साम्राज्यवादले अल्पविकसित देशका संवेदनशील सुचनाहरू ध्वस्त पारिरहेको छ । पश्चिम प्रायोजित ॅगुलाबी क्रान्ति’लाई मुक्ति आन्दोलनका रूपमा प्रस्तुत गरिँदैछ, जुन विश्वका न्यायप्रेमी नागरिकका लागि दुर्भाग्यपूर्ण अवस्था हो ।
भदौ २४ पछिको नेपाल : सूचनात्मक उपनिवेशीकरण
भदौ २४ पछि नेपाली मूलका विदेशी एजेन्टहरूद्वारा नेपालको सार्वभौम अधिकार अमेरिकी हितमा सुम्पने प्रयास तीव्र भएको देखिन्छ । सरकारका अधिकांश संरचना अमेरिकी प्रभावमा रहेको आरोप विदेशी मिडियाहरूले उठाएका छन् ।
नेपाली समाज आज आफ्नै विश्लेषण क्षमताभन्दा सामाजिक सञ्जालका फेक लाइक र कमेन्टमा भरोसा गर्न थालेको छ। इतिहास, बलिदान र राज्य निर्माणको चेतना हराउँदै गएको छ। यहीँबाट देशभक्तिको पुनर्जागरण अनिवार्य बन्छ।
पृथ्वीनारायण शाह : साम्राज्यवादविरुद्धका प्रथम कमान्डर
१८औँ शताब्दीमा पृथ्वीनारायण शाहले एकीकृत स्थल तथा छापामार युद्धमार्फत इष्ट इण्डिया कम्पनीलाई रोक्न नसकेको भए, नेपाल मात्र होइन, तिब्बत र चीनसमेत ब्रिटिश पोल्टोमा पर्ने सम्भावना प्रबल थियो। चीन अफिम युद्धले कमजोर भइसकेको र तिब्बत शान्तिवादी धर्ममा अत्यधिक लिप्त अवस्थामा थियो ।
यदि पृथ्वीनारायण शाहले नेपाल एकीकरण दुई दशक ढिलो गरेका भए, आजको नेपाल र तिब्बतको नक्सा भारतभित्र हुन्थ्यो । आत्मसमर्पण वा शक्ति केन्द्रीकरण—यी दुई विकल्पमध्ये उनले प्रतिरोध रोजे । यही कारण आज नेपाल जीवित छ ।
अफिम युद्ध र बेलायती अमानवीयता :
चीनमा गरिएको अफिम व्यापारले बेलायती साम्राज्यवादको अमानवीय चरित्र स्पष्ट देखाउँछ। १८४०–४२ को पहिलो अफिम युद्धमा २०–२५ हजार चिनियाँ मारिए, जबकि ब्रिटिश पक्षबाट केवल ६९ जनाको मृत्यु भयो। नान्किङको असमान सन्धिले चीनलाई घुँडा टेकायो।
यी सबै घटनाले पृथ्वीनारायण शाहलाई साम्राज्यवादका रणनीति बुझ्न मद्दत गर्यो, जसको प्रतिरोध उनले नेपालमा सशक्त रूपमा गरे।
छापामार युद्ध र किनलकको पराजयः
कप्तान किनलकको नेतृत्वमा आएको २४०० जनाको फौजलाई सिन्धुलीगढीमा गोर्खाली सेनाले छापामार शैलीमा परास्त गर्यो। करिब १६०० सैनिक मारिए। यो भारतीय उपमहाद्वीपमा ब्रिटिशहरूको पहिलो ठूलो पराजय थियो। यही हारले अंग्रेज विद्वानहरूलाई पृथ्वीनारायण शाहप्रति आजसम्म पूर्वाग्रही बनाएको छ।
पादरी जासुसहरूको निष्कासनः
नेपाल एकीकरणका क्रममा केपुचिन पादरीहरूले इस्ट इण्डिया कम्पनीसँग मिलेर षड्यन्त्र गरेको आशंकामा पृथ्वीनारायण शाहले ५७ जना पादरी र उनका नेपाली शिष्यहरूलाई देशनिकाला गरे। यही कारण चर्च संस्थान आजसम्म पृथ्वीनारायण र उनका उत्तराधिकारीविरुद्ध वैचारिक आक्रमणमा छ।
बहादुर शाह र बिसे नगर्ची : भुलिएका नायक
पृथ्वीनारायण शाहपछि बहादुर शाहले साम्राज्यवादविरुद्ध संघर्षलाई निरन्तरता दिए। उनको मृत्युलाई लिएर इतिहासमा गम्भीर प्रश्न छन्।
त्यस्तै, बिसे नगर्ची—दलित समुदायबाट आएका एक असाधारण योजनाविद्—ले घरधुरीबाट एक–एक रुपैयाँ संकलन गर्ने सुझाव दिएर एकीकरण अभियानको आर्थिक आधार तयार गरे। बिसे, मणिराम गाइने, बानादार दमाई, कालु सार्की लगायत दलित समुदाय गोरखाली सेनाका अभिन्न अंग थिए।
निष्कर्षः
नेपाल साम्राज्यवादविरुद्धको प्रतिरोध संघर्षबाट जन्मिएको राष्ट्र हो। पृथ्वीनारायण शाह, बहादुर शाह, अमर सिंह थापा, भक्ति थापा, बलभद्र कुँवर लगायतका नायकहरूको रणकौशल आज पनि सान्दर्भिक छ।
आज पश्चिमी नरम शक्ति र सूचना साम्राज्यवादको लेखोटमा आँखा चिम्लेर विश्वास गर्नु आत्मघाती हुनेछ। नेपालको इतिहासलाई त्यही समयको चेतन परिवेशबाट गम्भीर अध्ययन गर्नु आवश्यक छ। अन्यथा, आधुनिक राष्ट्रिय मुक्ति संघर्षको घडीमा साम्राज्यवादी कारिन्दाहरूलाई पृथ्वीनारायणले जासुस पादरीहरूलाई निकालेझैँ निष्कासन गर्नुको विकल्प रहने छैन।
संसारमा बाँचेका सबै राष्ट्रहरू प्रतिरोध संघर्षकै उपज हुन्।
प्रतिरोधबाट विमुख राष्ट्रहरूको अन्त्य निश्चित हुन्छ।