काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले आसन्न प्रतिनिधिसभा निर्वाचनमा वैकल्पिक भनिने शक्तिहरूले बहुमत हासिल गरे नेपाल गम्भीर संकटमा फस्न सक्ने चेतावनी दिनुभएको छ ।
नेपाली रेडियो नेटवर्कको ‘नेपाली बहस’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै केसीले यस्तो अवस्था आए देशले युक्रेन वा दोस्रो विश्वयुद्धकालीन अवस्थासमेत भोग्नुपर्ने खतरा रहेको दाबी गर्नु भएको छ ।
उनले विशेष गरी राष्ट्रिय स्वतन्त्र पार्टी र त्यसका नेताहरूलाई लक्षित गर्दै अहिलेको राजनीतिक परिस्थितिमा जनताले भावनात्मक लहैलहैमा लागेर मतदान गर्न नहुने बताए । केसीका अनुसार नयाँ र वैकल्पिक भन्दै प्रस्तुत गरिएका शक्तिहरू नै देशका लागि थप जोखिमपूर्ण हुनसक्छन् ।
‘नयाँ शक्ति भनेर देखाइएकाहरूले धेरै कुरा लुकाएर राखेका छन्’ अध्यक्ष केसीले भन्नु भयो– ‘यस्ता समूहबाट राष्ट्रियता, सार्वभौमिकता र अखण्डतामाथि खतरा उत्पन्न हुने संकेत देखिइसकेको छ।’
इतिहासको उदाहरण दिँदै केसीले हिटलरको उदयका बेला जर्मनीले भोग्नुपरेको विनाश सम्झाउँदै चेतावनी दिनुभयो । केसीका अनुसार गलत नेतृत्वलाई समर्थन गर्दा देश नै युद्ध, विभाजन र अस्थिरताको मार्गतर्फ धकेलिन सक्छ ।
केसीले मतदातालाई अहिले सही र गलत छुट्याएर, दीर्घकालीन असरलाई ध्यानमा राखी मतदान गर्न आग्रह गर्दै वैकल्पिक शक्तिप्रति अन्धो भरोसा नगर्न स्पष्ट सन्देश दिनुभएको छ ।