• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

प्रेमतत्त्व–१

"सन्दर्भ कामरेड जलजला उपन्यास–४५ "

  •   आइतबार, माघ ११, २०८२ मा प्रकाशित
  • मोहनविक्रम सिंह ##

    Advertisement

    ‘कामरेड जलजला’ उपन्यासलाई प्रारम्भमा नै “प्रमको कथा, विश्वको दर्शन” को दर्शन बताइएको छ । वास्तवमा उपन्यासले प्रेमलाई उच्च मानवीय, दार्शनिक र क्रान्तिकारी स्तरमा स्थापित गर्ने प्रयत्न गरेको छ । उपन्यासका प्रमुख पात्रलाई त्यही आधारमा चित्रण गर्ने प्रयत्न गरिएको छ भने प्रेमलाई व्यक्तिगत स्वार्थका रूपमा प्रयोग गर्ने खलनायकको पनि चित्रण गरिएको छ तर त्यस प्रकारका खलनायकको चित्रणको मुख्य उद्देश्य प्रेमलाई अरू उच्चस्तरमा स्थापित गर्नु नै रहेको छ ।

    उपन्यासमा का. जलजला र का. अजित, सुनन्दाको अजितप्रतिको प्रेम र विवाह, हर्के र उजेलीको प्रेम, अवेलार्ड र हेलोसीबिचको दुखान्त प्रेम, सरस्वती र स्वतन्त्र सेनानी काल्याण सिंहका बिचको प्रेम, सात्रे र सिमन डेलको प्रेम आदिलाई आदर्श प्रेमको रूपमा लिन सकिन्छ तर अर्कातिर डा. जगदीशको सुनन्दाप्रतिको प्रेम सिद्धान्तहीन र स्वार्थपरायणको प्रेम थियो भने प्रेमको अत्यन्त विकृत रूप दिव्यामा पनि देख्न सकिन्छ । त्यसैले समग्र रूपमा उपन्यासले प्रेमलाई उच्च धरातलमा स्थापित गर्ने प्रयत्न गरेको छ ।

    निश्चय नै का. जलजला र का. अजितका बिचको प्रेम धेरै नै विवादास्पद रहेको छ र उपन्यासमा त्यो एउटा गल्ती भएको कुरालाई पनि अस्वीकार गरिएको छैन । अजित एउटा विवाहित व्यक्ति थिए र जलजला अविवाहित युवती । उनीहरूका बिचको प्रेमलाई पार्टी र समाजले पनि अस्वीकार गर्‍यो र त्यसका लागि उनीहरू दुबैका विरुद्ध अनुशासनको कारबाही पनि गरियो ।

    त्यस सिलसिलामा जलजला भन्छिन्– “हामीले जुन अवस्थामा एकअर्कालाई प्रेम गरिरहेका छौँ, त्यो सही नै छ भनेर दावी गर्ने ता हामीलाई कुनै अधिकार छैन ।” त्यस सिलसिलामा उपन्यासमा अगाडि लेखिएको छ– “हामीबाट कुनै गल्ती भएको अवस्थामा हामीमाथि कुनै कारबाही गर्नुलाई हामीले गलत मान्दैनौँ र विरोध पनि गर्दैनौँ । हामीमाथि त्यो कारबाही भइसकेको पनि छ ।”

    त्यसरी जलजलाले उनीहरूमाथि जुन अनुशासनको कारबाही गरिएको थियो, त्यसलाई उनीहरूले गलत मानेका थिएनन् र त्यसलाई स्वीकार पनि गरेका थिए तर उनका मनमा यो प्रश्न अवश्य उठिरहन्थ्यो– के उनीहरूमाथि गरिएको त्यो कारबाही पूरै सही थियो ? त्यस सिलसिलामा उपन्यासमा अगाडि लेखिएको छ– “त्यससित जोडिएको अर्को पक्ष पनि छ । एकातिर जुन पतिपत्नीका बिचमा प्रेम टुटिसकेको हुन्छ, उनीहरूका बिचमा सम्बन्धविच्छेद हुनु नै राम्रो हो भने अर्कातिर, जसका बिचमा प्रेम हुन्छ, उनीहरूका बिचमा विवाह हुनुपर्दछ । माक्र्सवादी सिद्धान्तले पनि त्यही कुरामा जोड दिन्छ ।”

    त्यस सिलसिलामा अगाडि लेखिएको छ– “जलजलाले सायद अरू केही भन्न चाहन्थिन् । उनको भनाइबाट यो कुरा बुझ्न गाह्रो पर्दैनथ्यो, माक्र्सवादी सिद्धान्तअनुसार नै उनीहरूप्रति जुन व्यवहार गरिनुपर्दथ्यो, त्यो गरिएको थिएन । उनीहरूका बिचमा प्रेम भएपछि उनीहरूलाई विवाह गर्ने अधिकार दिनुपर्दथ्यो तर त्यो अधिकारबाट उनीहरूलाई वञ्चित गरिएको थियो । उनको भावबाट प्रस्ट हुन्थ्यो कि उनीहरूप्रति गरिएको त्यस प्रकारको व्यवहारका लागि उनका मनमा तीव्र असन्तोष थियो तर उनले आफ्नो त्यो असन्तोषलाई मनभित्र नै दबाएर राखेकी थिइन् । त्यसलाई उनले प्रकट गर्न चाहदिनथिन् । त्यसका लागि उनका अगाडि सायद कुनै सीमा थियो । सायद कुनै बाध्यता थियो । त्यसैले सायद बोल्दाबोल्दै उनी चुप लागेकी थिइन् ।

    एक दिन बनारसमा जलजला, सुनन्दा र कान्ता सँगै बसेका थिए । उनीहरूका बिचमा बेग्लाबेग्लै विषयमा कुराकानी भइरहेका थिए । त्यही बेला जलजलासितको उनको पे्रमको कुराकानी चलिरहेको बेलामा जलजलाले भनेकी थिइन्– ‘मानिसहरूले हाम्रो प्रेमलाई अनैतिक…’ । सुनन्दाले जलजलाको कुरा काट्दै बिचैमा भनेकी थिइन्– “के कुरा नैतिक हुन्छ ? के कुरा अनैतिक त्यो कुराको कुनै शाश्वत र सर्वमान्य नियम छैन । विभिन्न देश, काल मात्र होइन, एउटै देश र कालमा पनि विभिन्न व्यक्ति र समूहका मान्यतामा भएका भिन्नताअनुसार नैतिक र अनैतिक कुराको निर्धारण गर्ने मापदण्ड बेग्लाबेग्लै हुन्छन् । एउटै देश, कालमा पनि विभिन्न समाज वा समूहमा त्यससम्बन्धी बेग्लाबेग्लै मापदण्ड हुन्छन् ।

    बिएमा सुनन्दाको एउटा विषय दर्शन थियो । त्यो उनको धेरै नै प्रिय विषय थियो । दर्शनमा एउटा पेपर नीतिशास्त्रको पनि हुन्थ्यो । कलेजमा दर्शनबारे हुने छलफल, अन्तरक्रिया आदिमा उनले धेरै उत्साहपूर्वक भाग लिने गर्दथिन् । कलेज वा युनिभर्सिटीमा उनी एउटा सफल वक्ता पनि मानिन्थिन् । अहिले जलजला र अजितको प्रेम र उनीहरूमाथि भएको कारबाहीको प्रकरणमा उनले (जलजलाले) नैतिकताको प्रश्न उठाउँदा उनको कलेजका दिनको दर्शनसम्बन्धी उत्साह जागेर आएको थियो ।”

    उपन्यासमा अगाडि लेखिएको छ– सुनन्दाले भन्न थालिन्, “के नैतिकता हो र होइन ? त्यसबारे धेरै लेखकले बेग्लाबेग्लै बिचार प्रकट गरेका छन् र धेरै पुस्तक पनि लेखेका छन् । कट्टर हिन्दुवादी दृष्टिकोणअनुसार ईश्वर, धर्म वा छुवाछुत प्रथालाई नमान्नु पनि अनैतिकता हो । तर भौतिकवादीका लागि त्यस प्रकारको नियम वा नैतिकताले कुनै अर्थ राख्दैन । अझ सत्यता यो हो कि कम्युनिस्टको बिचमा कसैले ईश्वर, धर्म वा देवीदेवतालाई मान्न थाल्यो भने उसलाई अवहेलना गर्न थालिन्छ ।

    पुँजीवादी र माक्र्सवादीका बिचमा पनि नैतिकतासम्बन्धी बेग्लाबेग्लै प्रकारका धारणा हुन्छन् । मलाई पनि माक्र्सवादी दर्शनसम्बन्धी केही पुस्तक र लेख पढ्ने अवसर प्राप्त भएको थियो । तिनीहरूमा नैतिकताबारे पनि धेरै नै चर्चा गरिएको छ । माक्र्सवादी दर्शनले यो बताउँछ, सर्वहारा वा शोषित वर्गको हितको लागि काम गर्नु नै सबैभन्दा ठुलो नैतिकता हो । त्यसको अर्थ हुन्छ, पार्टी, क्रान्ति र मिहिनेतकश जनताको हितका लागि लगातार, इमानदारीपूर्वक र दृढतापूर्वक काम गर्नु नै सबैभन्दा ठुलो र उच्च नैतिकता हो । कुनै कम्युनिस्टका लागि नैतिकताको कसी त्यही नै हुन्छ । नैतिकतासम्बन्धी माक्र्सवादी–लेनिनवादी दर्शनको सार त्यही हो । माक्र्स, एङ्गेल्स, लेनिन, स्टालिन वा माओले नैतिकताबारे त्यही प्रकारको विचार प्रकट गरेका छन् । तपाईंहरू दुबै जनाले आफ्नो सिद्धान्त र उद्देश्यप्रति लगातार र दृढतापूर्वक काम गरिरहनु भएको छ । त्यसकारण तपाईंहरूलाई अनैतिक भन्न मिल्दैन । तपाईंहरू कति नैतिक हुनुहुन्छ वा अनैतिक ? तपाईंहरू आफ्नो सिद्धान्त, उद्देश्य वा आस्थामा जनमभरि नै लागिरहनु हुनेछ वा छैन ? त्यसले नै त्यो कुराको फैसला गर्नेछ । तपाईंहरूको भावी जीवन वा कामले त्यो कुराको फैसला गर्ने छन् ।

    त्यसपछि जलजलाले भनिन्– “के नैतिकता हो र के नैतिकता होइन ? त्यसबारे समाजमा वा विभिन्न लेखकका कृतिमा धेरै छलफल हुँदै आएको छ । अजित र मेरो प्रेमबारे पनि पार्टीभित्र र बाहिर धेरै नै छलफल भएको छ । टीकाटिप्पणी भएका छन् । सायद आउने दिनमा पनि त्यसबारे अरू छलफल र टीकाटिप्पणी भइरहनेछन् । बेग्लाबेग्लै कालमा वा बेग्लाबेग्लै समाजमा नैतिकताको प्रश्नलाई बेग्लाबेग्लै कोणबाट हेर्ने गरिएको कुरा सत्य हो तैपनि अहिलेको हाम्रो पार्टीको सिद्धान्त, प्रचलन वा अभ्यासमाथि विचार गर्दा हाम्रो प्रेमलाई सही छ भनेर मैले दाबी गर्न सक्दिनँ । अजितले पनि त्यस प्रकारको दाबी गर्नुभएको छैन । त्यसैले पार्टीले हामीमाथि गरेको कारबाहीलाई पनि हामीले गलत मानेका छैनौँ र त्यो कारबाहीलाई हामी दुबै जनाले सहर्ष स्वीकार गरेका छौँ तैपनि ती सबै कुरा मान्दामान्दै पनि हाम्रो प्रेम गलत थियो भनेर मान्नका लागि हाम्रो मन कहिल्यै पनि तयार भएको छैन । कानुन वा अहिलेको सामाजिक प्रचलनका दृष्टिकोणले हाम्रो प्रेम गलत हुन सक्छ तर भावनात्मक दृष्टिकोणले हाम्राबिचको प्रेम हाम्रो जीवनको अभिन्न अङ्ग बनेको छ । त्यसका लागि हामीमाथि सयपल्ट कारबाही भए पनि वा समाजले हामीमाथि जति प्रहार गरे पनि हामी त्यो प्रेमबाट अलग हुन सक्दैनौँ ।

    उनले सुनन्दातिर इसारा गर्दै भनिन्– तिमीले भनेजस्तै हाम्रो प्रेमलाई अनैतिक मान्न पनि हामी तयार छैनौँ । हामी नैतिक छौंँ वा छैनौँ ? त्यसको कसी यो हुनेछ– आफ्ना सिद्धान्त र आस्था तथा पार्टी र क्रान्तिप्रति हामीले कति इमानदार र दृढ रहन सक्नेछौँ ? त्यो कुराको फैसला हाम्रो भावी जीवन र भविष्यले नै गर्नेछ ।”

    उपन्यासमा सुनन्दाको प्रेमलाई पनि उच्च स्तरमा चित्रण गरिएको छ । उनको मनमा अजितप्रति त्यो बेलादेखि नै सकारात्मक भावना, आदरभाव वा अंशत: आत्मीयताको भाव पनि पैदा भएको थियो, जुन बेला उनले विद्याले उनलाई पढ्न दिएको ‘कामरेड जलजला’ लेख पढेकी थिइन् तर जलजलाप्रति उनको मनमा अगाध स्नेह पैदा भएको थियो । जलजलाको मृत्युपछि उनीप्रतिको उनको प्रेम उनले थाहै नपाईकन अजितप्रतिको प्रेममा रूपान्तरित हुँदै गएको थियो । जुन कुरा स्वयम् उनलाई थाहा थिएन, त्यो कुरा भेलेन्टिनाले उनलाई बताएकी थिइन् । एथेन्समा उनीहरू उनी र भेलेन्टिनाका बिचमा कुराकानी हुँदा उनले बताएकी थिइन्– तपाईंको मनमा अजितप्रति प्रेमको भावना पैदा भएको छ ।

    सुनन्दाले एकटक लगाएर भेलेन्टिनाको मुखमा हेरिरहिन् । उनको मुखबाट सानो आवाज निस्क्यो– “सायद ।”

    भेलेन्टिनाले अगाडि भनिन्– “दिदी, मेरो तपाईंलाई शुभकामना छ । तपाईंलाई उहाँको नाम, ठेगाना केही थाहा नभए पनि तपाईंको उहाँसित भेट हुनेछ । उहाँसितको प्रेमले नै तपाईंलाई सुख र सन्तोष प्राप्त हुनेछ । जलजला दिदीको मृत्युबाट अजितको जीवनमा जुन घाटा भएको छ, त्यसलाई पनि तपाईंको प्रेमले पूरा गर्नेछ अनि तपाईं दुबै जना तपाईंहरूको सिद्धान्त र उद्देश्यको दिशामा सँगसँगै अगाडि बढ्नुहुनेछ भन्ने कुरामाथि मलाई पूरा विश्वास छ ।”

    सुनन्दाले भनिन्– “तर मलाई उहाँको नाम र ठेगाना पनि थाहा छैन ।”

    भेलेन्टिनाले भनिन्– “नाम र ठेगाना ता तपाईंलाई पहिले जलजला दिदीको पनि थाहा थिएन तर तपाईंले हिम्मत हार्नुभएन र अन्त्यमा उहाँलाई पत्ता लगाउनुभयो । मैले एउटा कुरा थाहा पाएको छु र राम्ररी थाहा पाएको छु, राम्ररी बुझेको पनि छु ।”

    “के थाहा पाएकी छौ । तिमीले ? के बुझेकी छौ तिमीले ?”

    “तपाईं दृढ इच्छाशक्ति भएको मान्छे हुनुहुन्छ नत्र भने भारतबाट जगदीश अङ्कलसित विवाह गर्न भनेर रुससम्म आएकी मान्छेले उहाँसितको विवाहलाई अस्वीकार गर्न सक्नुहुँदैनथ्यो । साधारण महिलाले कहिल्यै पनि त्यसो गर्ने हिम्मत गर्न सक्दैनथे । वास्तवमा तपाईं लौह महिला हुनुहुन्छ । सायद कुरा त्यति मात्र होइन, तपाईं स्पातले बनेकी मान्छे हुनुहुन्छ । तपाईंका लागि कुनै पनि कुरा असम्भव छैन । आवश्यक पर्‍यो भने—तपाईंले मलाई समाचार दिनुहोला—म रुसबाट भारतमा आउनेछु र तपाईंले र मैले मिलेर अजितलाई खोजौँला । तपाईंहरू दुबै जनाको भेट गराएपछि म रुस फर्केर आउनेछु । जस्तो कि कुनै दिन जलजलालाई खोज्ने तपाईंको मिसन भएको थियो, त्यस्तै तपाईंको अजितसित भेट गराउने मेरो मिसन हुनेछ ।”

    सुनन्दा आफ्नो ठाउँबाट उठिन् र उनले गएर भेलेन्टिनालाई अँगालो हालिन् ।

    सुनन्दा इन्डिया फर्केर गइन् र त्यहाँबाट लखनऊ पुगिन् । त्यहाँ उनलाई जलजलाको मृत्युपछि अजितले लेखेको एउटा डायरी फेला पारिन् । त्यो डायरी पढेपछि जलजलाको मृत्युपछि अजितलाई कति धेरै आघात पुगेको थियो र उनको जीवनमा कति धेरै क्षति पुगेको थियो, त्यो कुरा उनलाई थाहा भयो । त्यो डायरीमा लेखिएको थियो– “अब घाम अस्ताउन थालेको थियो तर मलाई यस्तो लागिरहेको थियो, स्वयम् मेरो जीवनमा नै सूर्यास्त भएको थियो । केही वर्षपहिले जेलमा छँदा मैले एउटा कविता लेखेको थिएँ– ‘…प्रत्येक दिन पश्चिममा अस्ताउने सूर्यले यो सन्देश दिएर जान्छ, अर्को दिन त्यो पुन: पूर्वमा उदाउनेछ ।’

    “क्रान्ति र पार्टीको भविष्यबारे सधैँ त्यो कुरा सत्य हो । जतिसुकै ठुलो दमनबाट पनि जनताको आन्दोलन रोकिन्न । कुनै क्रान्तिलाई प्रतिक्रान्तिले दलाउन सक्दैन । त्यो सत्यमाथि मेरो अगाध विश्वास छ तर मेरो जीवनमा के पुन: सूर्याेदय आउनेछ वा छैन ? यस प्रश्नको मसित कुनै जवाफ छैन । त्यस प्रकारको सूर्योदयको मैले टाढासम्म पनि कुनै आशाको किरण देख्दिनँ । मलाई यस्तो अनुभव भइरहेको छ, जलजलाको मृत्युको साथै मेरा जीवनमा पनि सधैँका लागि सूर्यास्त भएको छ ।”

    सुनन्दालाई चिच्याएर, टाढासम्म अजितले सुन्ने गरेर भन्न मन लाग्यो– “होइन, होइन, कामरेड अजित । होइन । तपाईंको जीवनमा म सूर्यको नयाँ किरण ल्याएर आउनेछु । मैले तपाईंको जीवनमा सधैँका लागि सूर्यास्त हुन दिन्न ।”

    उपन्यासमा लेखिएको थियो : “डायरी सिद्धियो ।”

    “…………”

    सुनन्दाले कैयौँबेरसम्म त्यो डायरीलाई समाती राखिन् । उनलाई त्यो डायरी छाड्न मन लागिरहेको थिएन । त्यसबाट यस्तो भान हुन्थ्यो, उनले मनमनै कुनै निश्चय गर्न थालेकी छन् । एकछिनपछि उनी एक्लै बड्बडाइन्– “म…. अब म जौलजीवी जान्न । दाँतु पनि जान्न र म ट्रेकिङ र पर्वतारोहणका लागि पनि जान्न । म अब जलजला दिदीले देखाएको बाटोमा नै अगाडि बढ्नेछु ।”तर फेरि उनी केही अकमकाइन् ।

    जलजलाले देखाएको बाटोमा अगाडि बढ्नका लागि कम्युनिस्ट पार्टीमा सामेल हुनु आवश्यक थियो । अजितको पत्रबाट थाहा भएको थियो, उनले पार्टीको सदस्यताका लागि दिएको दर्खास्त अजितले प्राप्त गरेका थिए । त्यसरी कम्युनिस्ट पार्टीमा प्रवेशका लागि उनको बाटो सोझिएको थियो तर अजित भनेका को हुन् ? उनी कहाँ छन् ? उनीसित कसरी भेट हुन्छ ? त्यो कुरा नै अनिश्चित थियो तर उनी निराश भइनन् । उनले हिम्मत हारिनन् । उनले जसरी भए पनि अजितलाई खोज्ने र भेट्ने निश्चय गरिन् ।

    सुनन्दाले अजितलाई भेट्न जाने निश्चय गरिन् तर उनलाई कहाँ भेट्ने ? उनलाई अजितको वास्तविक नाम पनि थाहा थिएन । कुनै ठेगाना पनि थाहा थिएन । अनि उनलाई कहाँ गएर के भनेर खोज्ने ?

    अब अजितलाई कहाँ खोज्ने ? त्यसका लागि उनका अगाडि कुनै मार्गचित्र थिएन । उनले उनलाई अन्धकारका बिचमा नै छामछुम गर्दै खोज्नुपर्नेछ तर उनलाई आशा थियो, कतै कुनै उपाय निस्कनेछ । सायद अन्धकारका बिचमा कतै कुनै किरण देखापर्नेछ ।

    अकस्मात् उनको मनमा एउटा विचार आयो, गएर कान्तालाई भेट्ने । अब उनका अगाडि कान्ता मात्र एक जना व्यक्ति थिइन्, जोद्वारा अजितको पत्ता लाग्न सक्दथ्यो । त्यो सोचाइले उनलाई अकस्मात् अन्धकारको बिचमा एउटा ज्योति फेला परेजस्तो लाग्यो ।

    उनले पहिले कान्तालाई भेटेर अजितको परिचय सोध्ने विचार गरिन् । त्यही सोचेर उनी बनारस लागिन् । त्यहाँ पुगेपछि थाहा भयो, दिदीको मृत्यु भएदेखि उनी एकपल्ट मात्र त्यहाँ आएकी थिइन् । उनले सोचिन्, चितवन उनको घर पुगेपछि उनको पत्ता लाग्न सक्छ । त्यो सोचेर चितवन जान उनी गोरखपुरका लागि हिँडिन् ।

    बनारसबाट उनी गोरखपुर आइन् । मछली दफ्तर गएर भोविलाललाई भेटिन् । त्यहाँ उनको भेट खगुलालसित भयो । उनी पेन्सन बुझ्न गोरखपुर आएका थिए । उनीसित भेट भएपछि उनले चितवन कान्तालाई भेट्न जानुको सट्टा खगुलालसित प्युठान जाने निश्चय गरिन् । उनले सोचिन्, उनीबाट वा प्युठान गएपछि अवश्य पनि अजितको पत्ता लाग्नेछ ।

    उनलाई विश्वास थियो, खगुलालबाट उनको पत्ता लाग्नेछ तर खगुलालसित तुरुन्तै उनले अजितबारे केही सोधिनन् । बाटामा कतै त्यो कुरा सोध्न सकिनेछ । सायद प्युठान पुगेपछि नै त्यसबारे सोध्न राम्रो हुनेछ ।

    खगुलालसित पत्ता नलागे पनि उजेली वा हर्केलाई त्यसबारे सोध्न सकिनेछ । खगुलालबाट अजितको पत्ता नलागे पनि हर्के र उजेलीको पत्ता लाग्न सक्दथ्यो ।

    गोरखनाथबाट रिक्सा रेलवे स्टेसनतिर गइरहेको थियो । उनी खगुलालसित सँगै रिक्सामा बसेकी थिइन् तर उनको ध्यान कुमाउतिर गइरहेको थियो । त्यो बेला उनले राजुला र बालु शाहीको कथा सम्झिरहेकी थिइन् । राजुला पनि बालु शाहीलाई खोज्न घरबाट निस्केर दक्षिणतिर लागेकी थिइन् । उनलाई लाग्यो, आज उनी पनि अजितलाई खोज्न उत्तरतिर जाँदै थिइन् । उनलाई लागिरहेको थियो, कहीँ उनको यात्रा पनि राजुलाको जस्तै त थिएन ? राजुलाको कथा दु:खान्त रूपमा टुङ्गिएको थियो तर उनको कथा पनि त्यसरी नै दु:खान्त रूपमा टुङ्गिने त होइन ? तर उनलाई लागिरहेको थियो, उनका विषयमा त्यस्तो हुने छैन । उनको विश्वासका लागि कुनै आधार थिएन तैपनि उनको मनभित्रबाट आवाज आइरहेको थियो, उनको कथाको अन्त्य राजुलाको जस्तो हुने छैन ।

    उनले सोचिन्, यस अर्थमा राजुला उनीभन्दा भाग्यशाली थिइन् किनभने उनलाई बालु शाहीको वास्तविक नाम र ठेगाना थाहा थियो । उनलाई सपनामा नै त्यो कुराको ज्ञान भएको थियो तर उनले मनमनै सोचिन्, उनलाई पनि सपनामा त्यस प्रकारको ज्ञान हुन सकेमा कति राम्रो हुन्थ्यो तर उनी राजुलाजस्तो भाग्यमानी थिइनन् र सपनामा राजुलालाई जस्तो ज्ञान हुन सकेको जिएन तैपनि उनी निराश थिइनन् । उनलाई विश्वास थियो, अन्तमा मैले अजितलाई फेला पार्नेछु, सायद त्यसका लागि मैले सारा संसारको पनि चक्कर लगाउन किन नपरोस् ।

    सुनन्दा खगुलालसित तौलिहवा गइन र त्यहाँ शिव पौडेलको घरमा पनि बसिन् । त्यहाँ उनको भेट दुर्गासित भयो । राति उनीहरू सँगै सुते । उनीहरूले राति अबेलासम्म धेरै कुरा गरिराखे र सँगै धेरै बेरसम्म रोइरहे । त्यहाँबाट खगुलाल र सुनन्दा ओखरकोट पुगे । त्यहाँ उनको भेट हर्के र उजेलीसित भयो । त्यहाँबाट हर्के र सुनन्दा सँगै नारिकोटको खगुलालको घर भएको कोइरामा पुगे । त्यहाँबाट खगुलाल र सुनन्दा लुङको दोभाइको देवी बहादुरको घरमा पुगे । त्यहाँबाट उनीहरू सँगै बिजुवारको रामहरिको घरमा पुगे । त्यहाँ एक दिन बसेर उनीहरू थबाङतिर लागे तर ती सबै ठाउँमा उनलाई अजितबारे केही पनि थाहा हुन सकेको थिएन । अजितको कुरा उठेपछि सबैले एउटै जवाफ दिन्थे– हामीले अजित नाम गरेको कुनै व्यक्तिलाई चिन्दैनौँ ।

    थबाङ गाउँबाट सुनन्दा, खगुलाल र उमा जलजला धुरीतिर लागे । जलजला धुरी हेर्नका लागि सुनन्दाका मनमा धेरै नै उत्सुकता थियो । त्यसैले उनी त्यतातिर लागेकि थिइन् ।

    उपन्यासमा लेखिएको थियो– “जलजला धुरीको यात्रापछि उनलाई आफ्ना अगाडिका सबै बाटा बन्द भएजस्तो लाग्थ्यो । उनलाई आफ्ना अगाडि पूरै अन्धकार भएजस्तो लाग्थ्यो तर उनको एउटा स्वभाव नै बनेको थियो । घना अन्धकारका बिचमा पनि उनले प्रकाशको किरण खोज्ने प्रयत्न गर्दथिन् । चरम निराशा र असफलताको बेलामा पनि आशाको रेखा कोर्ने प्रयत्न गर्दथिन् । त्यसकारण जस्तोसुकै प्रतिकूल अवस्थामा पनि उनीभित्र अगाडि बढ्नका लागि अदम्य उत्साहको सञ्चार भइरहेको हुन्थ्यो । त्यसकारण अहिले पनि उनी निराश भएकी थिइनन् । अहिले पनि उनलाई लागिरहेको थियो– कुनै न कुनै उपाय निस्कनेछ । त्यसैले उनी अलिकति पनि विचलित थिइनन् । उनी भविष्यप्रति ढुक्क थिइन् । आखिर उनको त्यस प्रकारको आत्मविश्वास र आत्मबलले नै उनलाई जस्तोसुकै अवस्थामा पनि अगाडि बढ्नका लागि प्रेरणा र शक्ति प्रदान गरिरहन्थ्यो । त्यस प्रकारको आत्मविश्वास र आत्मबलको कारणले नै उनलाई लाग्थ्यो– सम्पूर्ण संसार उनका विरुद्ध भए पनि एक्लै ती सबैको सामना गर्न सक्दथिन् ।”

    उनलाई कताकता यो विश्वास लागेर आउँथ्यो, आखिर उनले अजितलाई पत्ता लगाउनेछन्, सायद त्यसका लागि उनलाई सारा संसारको यात्रा किन गर्न नपरोस् ।

    जलजला धुरीमा सबैतिर हिउँ थियो । उनीहरूले त्यही हिउका बिचमा एउटा ढुङ्गामाथि चुपचाप बसेको एउटा मान्छे देखे । नजिक गएर हेर्दा थाहा भयो, त्यो मानिस अजित नै थियो ।

    त्यस सन्दर्भमा उपन्यासमा लेखिएको छ– “आफ्ना अगाडि अजितलाई देखेर उनी प्रसन्नताले पागलजस्ती भइन् । यो कुराप्रति पनि उनको ध्यान गएन, उनका नजिकै उमा थिइन् । उनले आफूलाई रोक्न सकिनन् र उनले अजितलाई अँगालो हाल्दै भनिन्, ‘का. अजित !’

    एउटी अपरिचित महिलाले आफूलाई अँगालो हालेको देखेर अजित पहिले त केही आश्चर्यचकित भए तर उनलाई अजितको नामले जलजला र कान्ताले बाहेक अरू कसैले चिन्दैनथे । तेस्रो व्यक्ति सुनन्दाबाहेक अरू कोही हुन सक्दैनथ्यो । उनी खगुलालसित थबाङ आएको कुरा उनलाई थाहा थियो र उनी उनलाई खोज्न नै थबाङतिर आएका थिए । त्यसकारण उनलाई यो अनुमान गर्न मुस्किल परेन कि ती युवती सुनन्दा नै थिइन् । उनले उनलाई आफ्नो अँगालोमा कस्दै भने– का. भामा, तिमी यहाँ ? मैले त तिमी थबाङमा छौ भन्ने सोचेको थिएँ ।”

    उपन्यासमा लेखिएको छ– “अजितले आफ्नो अगाडि बसेकी सुनन्दालाई हेरिराखे अनि माथि आकाशतिर हेर्न थाले । सायद त्यो शून्य आकाशमा उनले जलजलालाई खोज्दै थिए । सायद कुरा त्यति मात्र थिएन, उनले आफ्ना अगाडि उभिएकी सुनन्दामा कताकता जलजलाको प्रतिबिम्बलाई हेर्ने प्रयत्न गर्दै थिए ।”

    अजितले भने– “तपाईंले जलजलालाई पार्टीको सदस्यका लागि दर्खास्त दिनुभएको रहेछ ।”

    “मैले त्यो दर्खास्त पार्टीमा राखेको थिएँ । पार्टीले तपाईंलाई उम्मेदवार सदस्यका रूपमा स्वीकार गरेको छ ।” त्यो कुरा सुनेर सुनन्दाको मुख उज्यालो भयो ।

    उपन्यासमा अगाडि लेखिएको छ– “सुनन्दाले भनिन्, मैले त तपाईंलाई पत्ता लगाउन नसकेपछि पार्टीमा सामेल हुने कुराको एक प्रकारले आशा मारिसकेकी थिएँ तर मनभित्र कताकता तपाईसित अवश्य पनि भेट हुनेछ भन्ने आशा पनि थियो । जलजला दिदीले मलाई जुन कुराका लागि विश्वास गर्नुभएको थियो, त्यो जिम्मेवारी कहिल्यै पूरा गर्न सक्दिनँ भन्ने लागेको थियो तर म निराश भने भएकी थिइनँ । आकाशपाताल एक गराएर पनि तपाईंलाई खोज्ने निश्चय गरेकी थिएँ । पार्टीले मलाई उम्मेदवार सदस्यका रूपमा स्वीकार गर्‍यो । त्यसका लागि म धेरै नै खुसी छु ।”
    अजितले भने– “म बनारस गएको थिएँ । त्यहाँ शान्ति दिदीले तपाईं चितवन जान्छु भनेर गोरखपुर गएको थाहा पाएँ । गोरखपुर आउँदा तपाई का. खगुलालसित प्युठान लागेको थाहा पाएँ । बिजुवार आउँदा तपाईं थबाङतिर लागेको थाहा पाएँ ।” त्यसपछि म यतातिर लागेंँ ।

    अजित त्यसरी आफूलाई खोज्दै आएको थाहा पाएर उनलाई धेरै खुसी लाग्यो । उनले मनमनै आफूलाई प्रश्न गरिन्, “के उनले पनि उनलाई प्रेम गर्दथे ?”

    “सुनन्दालाई यो देखेर आश्चर्य लागेको थियो कि अजितले केही बेर पहिले उनलाई अँगालो हाल्दा ‘तिमी’ भनेर सम्बोधन गरेका थिए तर अहिले ‘तपाईं’ भनेर सम्बोधन गरेका थिए । उनको सम्बोधनमा अकस्मात् त्यस प्रकारको परिवर्तनको अर्थ के थियो ? त्यस कुराले उनलाई केही दु:ख लाग्यो तर फेरि सोचिन्– पहिलेको उनको सम्बोधन उनको मनभित्रको वास्तविक उद्गार थियो । अहिलेको सम्बोधन सामान्य शिष्टाचार तर फेरि सोचिन्, पहिलेको सम्बोधन उनको मनबाट निस्केको आवाज थियो र त्यो नै सच्चा थियो । त्यो सोचेर उनको मनको दु:ख हल्का भयो र उनले आफ्नो मनमा अजितप्रति गहिरो स्नेह र आत्मीयताको अनुभव गरिन् । सायद उनीप्रतिको आफ्नो प्रेमको पनि ।”

    उपन्यासमा लेखिएको छ– सुनन्दाले एकटक लगाएर धेरै बेरसम्म आकाशमा हेरिरहेकी थिइन् । उनले के हेरिरहेकी थिइन्, त्यसरी आकाशमा ? अजितलाई आश्चर्य लागेर आयो । आकाशमा हेर्दा उनको चेहरामा पनि कैयौँ भाव बन्दै र बिग्रिँदै गइरहेका थिए । त्यस प्रकारका भावका बिचमा उनको (सुनन्दाको) चेहरा एक प्रकारले जलजलाको जस्तो देखिन थालेको थियो । अजितले उनको ध्यान भङ्ग गर्न उचित ठानेनन् र उनले पनि एकटक लगाएर सुनन्दाको चेहरामा हेर्न थाले ।

    केही बेरपछि सुनन्दाले आकाशबाट उनका आँखा हटाइन् । अहिलेसम्म उनलाई (सुनन्दालाई) आफ्नो आसपासको कुनै चिजको ज्ञान थिएन । यो कुराप्रति पनि उनको ध्यान गएको थिएन कि उनी जलजला धुरीमा थिइन् र अगाडि अजित, खगुलाल र उमा थिए ।

    आकाशबाट ध्यान हटेपछि उनले पाइन्, अजितले एकटक लगाएर उनको चेहरामा हेरिरहेका थिए । दुबै जनाका आँखा जुधे । दुबैले एकअर्कासित कैयौँ प्रश्न गरेजस्तो वा एकअर्कासित कैयौँ प्रश्नको जबाफ खोजेजस्तो देखिन्थ्यो । उनीहरूले के प्रश्न गरिरहेका थिए ? एकअर्काेसित के जवाफ खोजिरहेका थिए ? त्यो कुरा उनीहरूलाई पनि थाहा थिएन होला ।

    अजितले भने– “तपाईंले के हेर्नुभएको थियो त्यसरी आकाशमा ?”

    त्यो प्रश्नको सुनन्दाले जबाफ दिन सक्दैनथिन् । त्यो प्रश्नको जबाफ दिन सजिलो थिएन ।

    सुनन्दाले भनिन्– “केही हेरिरहेकी थिइन । त्यहाँ केही थिएन । आकाशमा अरू के हुन्छ र ? खाली शून्य आकाश ।” केही रोकिएर उनले भनिन्– “सायद त्यहाँ केही थियो ।”

    “त्यहाँ के थियो ?”

    “शब्दमा वर्णन गर्न सम्भव छैन । मैले वर्णन गर्न सक्दिनँ ।”

    “तैपनि तपाईंले के देख्नुभएको थियो ?”

    “जलजला दिदीलाई ।”

    “जलजलालाई ?”

    “उहाँको एउटा चित्र । आकाशमा उहाँको एउटा भव्यचित्र बनेको थियो । त्यो चित्र यति भव्य थियो कि त्यो सम्पूर्ण आकाशमा व्याप्त भएको थियो ।”

    सुनन्दाको त्यो कुरालाई खगुलाल र उमाले कुनै महत्त्व दिएनन् । आकाशमा जलजलाको चित्र ? त्यो पनि सम्भव हुने कुरा हो र ? तर अजितलाई यस्तो लाग्यो, सुनन्दाले जे भनेकी थिइन, त्यो सत्य थियो । त्यो चित्र आकाशमा होइन, सुनन्दाको मनमा बनेको थियो र उनको मनको त्यो भाव आकाशमा प्रतिबिम्बित भएको थियो । उनको त्यो भावले जलजलाप्रतिको उनको (सुनन्दाको) उच्च भावलाई नै बताउँथ्यो । जलजलाप्रतिको उनको अगाध स्नेह र उच्च सम्मानलाई नै बताउँथ्यो । उनको त्यस प्रकारको भाव नै आकाशमा जलजलाको भव्य चित्रको रूपमा प्रकट भएको थियो ।

    अजितले कैयौँ बेरसम्म सुनन्दालाई हेरिरहे । उनले सुनन्दाको चेहरामा जलजलालाई खोज्ने प्रयत्न गरिरहेका थिए ।

    नोट : मैले सुरुमा नै “सन्दर्भ कामरेड जलजला उपन्यास” मा कामरेड जलजला उपन्यासभित्रका कैयौँ विषयलाई एक वर्षसम्म प्रस्तुत गरेपछि त्यसलाई पुस्तकाकारमा प्रकाशित गर्ने कुरा बताएको थिए । यो अङ्क ‘प्रेमतत्त्व–१’ सहित त्यो क्रमाङ्क ४५ हुनेछ । त्यसपछि अरू सात अङ्क जति लेखेपछि एक वर्ष पुग्नेछ र त्यसपछि सबै लेखलाई मिलाएर पुस्तकाकारका रूपमा प्रकाशित गर्ने मेरो प्रयत्न हुनेछ तर त्यसभन्दा पहिले यस पुस्तकभित्रको “मनोगत संवाद” लाई पनि बेग्लै पुस्तिकाका रूपमा प्रकाशित गर्ने मेरो प्रयत्न हुनेछ ।

    आइतबार, माघ ११, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मुन्धुम पैदलमार्ग र प्रिय सुदीप
    जुन गाउँले मलाई धेरै दियो
    जीवन र मृत्यु
    बाल स्रष्टाहरूको सिर्जनात्मक उत्सव सम्पन्न, सिर्जना डबलीको वेबसाइट विमोचन
    ‘१२ मे’ नाटक भदौ २१ गते मञ्चन हुने
    के गुमाएँ मैले ?

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • २.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ३.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ४.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ५.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ६.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ७.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ८.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.