प्रदीप प्रधान ##
धेरै नै नजिक भएर होला, भीष्मजीले प्रस्ताव राख्यो ।
‘अमिताजी नरिसाउनुस् है’ उसले अगाडि भन्यो– ‘तपाईंंको मेरो राजनीति थलो एउटै, युनिभर्सिटीमा एउटै कक्षा, पढाइ पनि सकिन थाल्यो ।
मेरो मनको कुरा कति गुम्साइराखूँ ? उमेरले हामी २५ वर्ष काटिसक्यो । अब तपाईंंलाई विवाह प्रस्ताव रखेको हुँ । तपाईंंलाई कस्तो लाग्छ ?’
‘भीष्मजी तपाईंले कस्तो केटी सम्झिनुभयो ? मेरो यौवनले तपाईंलाई पगाल्यो होला । म त राजनीतिमा लगाव लागेको कन्या केटी, देशको मुहार फेर्ने वाचा लिएर राष्ट्रको माटो छोएर दृढसङ्कल्प गरेकी छु । तपाईं मेरो रूप, छाया, मुस्कानबाट पल्किनुभयो होला तर त्यो मानसपटलबाट हटाउनुस् ।’
भीष्मको अनुहारमा एक्कासि अमिलो निचोरेको कागतीझैँ मलिन भयो । दिमागले केही सोच्न सकेन । बाटामा काला धब्बाहरू देखिरहे । साथीहरूले बोलाउँदा पनि ऊ मौनता लिइराख्यो, कतै ध्यान बसेका ऋषिमुनिजस्तो ।
‘म त पागल भएको रहेछु । धेरै दिनदेखि उहाँ युनिभर्सिटी जान छोड्नुभयो ।’
‘मैले तिनको कसरी हेर्ने होला ? युनिर्भसिटीमा प्याच्च साथीहरूमाझ केटी भनी हालेँ, मैले के गर्ने होला भनेर डराई डराई उहाँ युनिभर्सिटी जानै छोड्नुभयो ।’
धेरै वर्ष पुग्दा पनि, बितिसक्दा पनि अमिता विवाह गरेकी छैनिन् । ४२ वर्ष कटेपछि तिनलाई विवाह महसुस भइरहेको छ ।
मनमनै भन्छिन्– ‘अब त आमाबुबालाई माग्न आउन छोडेको ७/८ वर्षै भयो ।’
गल्ती गरेको महसुस गर्छिन्– भीष्मसितको प्रस्ताव ।
देश बनाउँछु भनेर हिँडिरहेकी अमिताको अनुभवले पछुतो मान्दैछिन् । राती निदाउन सक्दिनन् । घरपारिको दिदीको दुई सन्तान देख्दा लोभै लागिसक्यो । म भन्दा धेरै कान्छी, उमेर २८ वर्षकी होला ।
मेरो रगतको सन्तान देख्न नसक्ने भए ।
आजभोलि भीष्म बाचेको आवाज कतै कानमा गुञ्जिरहन्छ ।
ऊ युनिभर्सिटीमा चलखेल गरेको सम्झना आउँछ । भीष्मजीले मन जितेर भनेका थिए होला । मैले अति घमण्ड गरेजस्तो लाग्छ । आमाबुबाले छोरी मान्छे भएर घमण्ड कत्ति नगरेस् है भन्थे तर बाबाआमाको भनाइ ठिकै रहेछ ।
म देश, देश भनेर हिँडे । शरीर, उमेरलाई भन्दा देशलाई माथि देखेँ । सधैँ गाउँको छाप्रोमा बाँचिरहेको मान्छेलाई सम्झिरहन्थेँ । बच्चाहरू स्कुल नगएर खोलामा नाङ्गै पौडिएको देखेर मनलाई उच्च ठाउँमा पुर्याएकी थिए । गाउँलेहरू आटोसँग खोले बनाएर खाएर बसेको देखेँ । ती गरिबपनको आकाशमा उडेको चरीलाई स्कुल र खानपिनमा सुधार ल्याउन कस्सिएको थिएँ ।
‘मान्छे ताक्छ, मुढो बञ्चरो ताक्छ घुँडो’ भनेझैँ मेरो अग्रज नेताहरू देशभक्तिको कुरा गर्ने तर व्यवहार फरक देखेँ ।
अहिले मेरो उमेर वैश्य खाल्डोमा परिरहेको महसुस भइरहेको छ ।
मलाई घर लैजाऊ भन्दा भीष्मले अर्कै केटीबाट दुई सन्तान भइसकेका छन् । मेरो गोरेटोमा झुटो हुँदै गएको छ । मेरा अग्रज नेता साथीहरू सर्वाेच्च अदालत, अख्तियारमा मुद्दा खेप्दै हदबन्दीमा प्रहरी भ्यानमा बसिरहेको देखिरहेको छु । सिद्धान्त र गराइमा फरकले नेताहरू दु:ख खेपिरहेका छन् ।