बागलुङ । राष्ट्रिय जनमोर्चाले बागलुङ निर्वाचन क्षेत्र नं. १ बाट कृष्ण अधिकारीलाई प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार बनाएको छ । अधिकारी लामो समयदेखि कम्युनिष्ट आन्दोलनमा सक्रिय रहँदै राष्ट्रिय जनमोर्चाको विभिन्न जिम्मेवारी निर्वाह गर्दै आएका छन् ।
कृष्ण अधिकारी विद्यार्थी आन्दोलनबाट राजनीतिमा सक्रिय भएका नेता हुन् । उनले लामो समयसम्म अखिल छैठौँको नेतृत्वको जिम्मेवारीमा रहँदै विद्यार्थी, श्रमिक तथा आम जनताको हक–अधिकारका पक्षमा निरन्तर संघर्ष गर्दै आएका थिए ।
विद्यार्थी आन्दोलनलाई वैचारिक रूपमा सुदृढ बनाउने, संगठन विस्तार गर्ने तथा शैक्षिक सुधारका मुद्दा उठाउने लगायतका विषयमा अधिकारीको भूमिका महत्वपूर्ण रहेको छ ।
कम्युनिष्ट आन्दोलनमा निरन्तर सक्रिय अधिकारीले राष्ट्रिय स्वाधीनता, सामाजिक न्याय, समानता र सुशासनका मुद्दालाई निरन्तर उठाउँदै आएका छन् । देश र जनताको पक्षमा स्पष्ट धारणा राख्ने तथा अन्याय, शोषण र उत्पीडन विरुद्ध दृढ रूपमा उभिने अधिकारीको उम्मेदवारीले बागलुङमा सकारात्मक सन्देश जाने बताइएको छ ।
यसअघि उक्त क्षेत्रबाट राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रतिनिधिसभा निर्वाचन लड्दै आउनुभएको थियो । आगामी निर्वाचनमा कृष्ण अधिकारीको उम्मेदवारीलाई जनमुखी, राजनीति र वैचारिक स्पष्टता नेताको निरन्तरताका रूपमा हेरिएको छ ।

