बुटवल । लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभाका उम्मेदवार बोमबहादुर खत्रीले राष्ट्रिय सभाको निर्वाचनमा मतदाताहरूले उम्मेदवारको नैतिकता, आचरण र क्षमताको गहिरो मूल्याङ््कन गरेर मतदान गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।
उहाँले राष्ट्रिय सभाको निर्वाचन सामान्य जननिर्वाचनभन्दा फरक प्रकृतिको हुने उल्लेख गर्दै यसमा संलग्न मतदाताहरू अनुभवी, सचेत र जिम्मेवार हुने भएकाले योग्य उम्मेदवार छनोट हुने धारणा राख्नुभयो।
‘राष्ट्रिय सभाको निर्वाचनमा संलग्न मतदाताहरू देशको संविधान, लोकतान्त्रिक मूल्य, सुशासन र दीर्घकालीन राष्ट्रिय हितप्रति सजग हुन्छन् ।’ खत्रीले भन्नुभयो– ‘यो निर्वाचनमा व्यक्तिगत चरित्र, नैतिकता, आचरण र क्षमताले निर्णायक भूमिका खेल्छ ।’
आफूले लामो समयदेखि सार्वजनिक जीवनमा रहेर इमान्दारिता, पारदर्शिता र जनसेवाको अभ्यास गर्दै आएको दाबी गर्दै खत्रीले ती मूल्यहरूकै आधारमा मतदाताहरूले आफूलाई विश्वास गर्ने अपेक्षा व्यक्त गर्नुभयो ।
उहाँका अनुसार राष्ट्रिय सभाको मुख्य भूमिका संवैधानैक रिक्ततालाई सुदृढ बनाउने, कानुन निर्माण प्रक्रियामा सन्तुलन कायम गर्ने र प्रदेश तथा स्थानीय तहबीच सेतुको काम गर्ने हो बताउनु भयो ।
‘राष्ट्रिय सभाका सदस्यले दलगत स्वार्थभन्दा माथि उठेर राष्ट्र र जनताको हितमा सोच्न सक्नुपर्छ’, खत्रीले भन्नुभयो– ‘मैले सदैव समावेशी लोकतन्त्र, सामाजिक न्याय र संविधानको मर्मअनुसार काम गर्ने प्रतिबद्धता जनाउँदै आएको छु ।’
खत्रीले लुम्बिनी प्रदेश विविधता, सम्भावना र ऐतिहासिक महत्व बोकेको प्रदेश भएको उल्लेख गर्दै यस प्रदेशका आवाजलाई राष्ट्रिय तहमा प्रभावकारी रूपमा उठाउने आफ्नो लक्ष्य रहेको बताउनुभयो । विकास, सुशासन, सामाजिक सद्भाव र संविधानको रक्षा राष्ट्रिय सभाका प्राथमिक एजेण्डा हुनुपर्ने उहाँको धारणा छ ।
अन्त्यमा उहाँले सक्षम र विवेकशील मतदाताहरूले आफ्नो विगतको योगदान, वर्तमान प्रतिबद्धता र भविष्यको दृष्टगत विचार गर्दै आफूलाई मतदान गर्ने दृढ विश्वास व्यक्त गर्नुभएको छ ।