काठमाडौं । अमेरिकी सड्कमा राष्ट्रपति डोनाल्ड ट्रम्प विरुद्ध नारा गुन्जीन थालेका छन् । ट्रम्पले इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीलाई लगातार हस्तक्षेपको धम्की दिइरहेको इरानमाथि हमलाको कुरा गरिरहेका बेला उनकै देशमा उनी विरुद्ध असन्तोष चुलिएको हो । अमेरिकी जनाताले उनका नीतिका विरोधमा सडकमा नारा गुन्जाउन थालेका छन् ।
अमेरिकामा अवैध घुसपैठियाहरूलाई पक्रने र अध्यागमन कानुन लागु गर्ने नाममा संघीय एजेन्सी ‘इमिग्रेसन एन्ड कस्टम्स इन्फोर्समेन्ट’को कारबाहीले जनता आक्रोशित भएका छन् । एजेन्सीले कानुनको दायरा नाघेर आफ्नै नागरिक र आप्रवासीहरूमाथि बल प्रयोग गरेको आरोप लागेको छ ।
आइतबार न्युयोर्क सिटीमा हजारौँ प्रदर्शनकारीहरूले शान्तिपूर्ण मार्च निकाल्दै ट्रम्प प्रशासनको निष्कासन नीतिको निन्दा गरेका थिए । ब्रुकलिनकी सिटी काउन्सिल सदस्य एलेक्सा एभिलेसले भनिन्, “हामीले सन् २०२६ मा आएर एउटा फाँसीवादी सरकारका विरुद्ध लड्न सडकमा उत्रिनुपरिरहेको छ यो अत्यन्तै लाजमर्दो कुरा हो ।” प्रदर्शनकारीहरूले ट्रम्प टावरअगाडि पुगेर “डोनाल्ड ट्रम्प मस्ट गो” को नारा लगाएका थिए ।