मोहनविक्रम सिंह ##
मस्को पुगेपछि सुनन्दा र डा. जगदीश क्रेमलिन हेर्न गए । उनीहरू सर्वप्रथम लेनिनको शव राखिएको ठाउँमा गए । उनीहरू लामो लाइनमा उभिनुपरेको थियो । डा. जगदीशले त्यहाँका कैयौँ कुरा सुनन्दालाई बताउँदै गए ।
त्यस सन्दर्भमा उपन्यासमा लेखिएको छ– “स्टालिनको मृत्युपछि स्तालिनको शव पनि लेनिनको छेउमा यही राखिएको थियो तर पछि त्यसलाई यहाँबाट हटाइएको थियो । वास्तवमा लेनिनका छेउमा र उनको समकक्षमा स्टालिनको शव राख्नु लेनिनको ठुलो अपमान हुन्थ्यो । त्यसैले ख्रुस्चेभ सत्तामा आएपछि त्यो शवलाई त्यहाँबाट हटाउने निर्णय गरियो । त्यो वास्तवमा खु्रस्चेभको सही र साहसिलो निर्णय थियो । त्यो स्टालिनको व्यक्तिपूजा विरुद्धको एउटा निर्णयात्मक र ऐतिहासिक कदम थियो ।”
उपन्यासमा अगाडि लेखिएको छ– “सुनन्दाले एकपल्ट डा. जगदीशको मुखमा हेरिन् तर केही भनिनन् । डा. जगदीशले अगाडि भन्दै गए, ख्रुस्चेभ पार्टीको नेतृत्वमा आएपछि पार्टीले सही लाइन लियो । स्टालिनको पालामा जुन गल्ती भएका थिए, ती सबैलाई सुधार गर्ने काम ख्रुस्चेभवले गरेका थिए । वास्तवमा ख्रुस्चेभको योग्य नेतृत्वमा नै त्यो काम हुन सक्थ्यो र भएको थियो ।
सुनन्दाले चुपचाप लागेर डा. जगदीशका कुरा सुनिरहिन् । उनको त्यो भनाइबाट उनको मनमा एउटा हलचलजस्तो मच्चिएको थियो । डा. जगदीशले सोभियत सङ्घको समर्थन गर्छन् भन्ने कुरा ता उनलाई थाहा थियो तैपनि उनले सोचिन्, उनी र उनका विचारमा केही अन्तर भए पनि अन्तत: उनी कम्युनिस्ट थिए । त्यसकारण दुवै जनाले माक्र्सवादी–लेनिनवादी दर्शन मान्ने भएकाले उनीसित भएको वैचारिक अन्तर मेटिँदै जानेछ भन्ने उनले आशा गरेकी थिइन् तर अहिले स्टालिन र खु्रस्चेभबारे उनले प्रकट गरेका विचारबाट उनी एक प्रकारले स्तब्धजस्तै भइन् ।
स्टालिनको पालामा जुन गल्ती भएका थिए, तिनीहरूलाई सुधार्ने काम खु्रस्चेभले गरेका थिए । सुनन्दाको विचार त्यसको ठिक विपरीत थियो । उनले मनमनै भनिन्, खु्रस्चेभको नेतृत्वमा नै रुसको पार्टी र सरकारले पुँजीवादी लाइन लिएको छ । स्तालिनजस्तो व्यक्ति पार्टीको नेतृत्वमा नभएको भए सोभियत सङ्घमा हिटलरले कब्जा गर्दथ्यो । आज विश्वको राजनीतिक नक्सा बेग्लै हुन्थ्यो । हिटलरले स्टालिन र समाजवाद दुवैलाई समाप्त गर्न चाहन्थ्यो तर त्यसले त्यसो गर्न सकेन । हिटलरले जुन काम गर्न सकेको थिएन, त्यो काम ख्रुस्चेभले गरेका थिए ।
सुनन्दाले क्रेमलिनका अग्ला टावरतिर हेरिन् । सुनन्दाले भनिन्– स्टालिनको शवलाई यहाँबाट हटाइयो । के लेनिनको शवलाई पनि यहाँबाट हटाउने कुनै योजना छ कि ? उनको आवाजमा एक प्रकारको व्यङ्ग्य थियो तर डा. जगदीशले त्यो व्यङ्ग्यलाई बुझ्न सकेनन् । लेनिनको शवलाई यहाँबाट हटाउनु असम्भव छ । त्यो कुरा कसैले सोच्न सक्दैन तर त्यो बेला सुनन्दाले अन्दाज गर्न सक्दैनथिन्, ख्रुस्चेभपछि रुसमा राष्ट्रपति बनेका यल्तसिनले लेनिनको शवलाई क्रेमलिनबाट हटाएर अन्यत्र लगेर गाड्ने विचार गरेका थिए तर उनले त्यसो गर्न सकेनन् ।
२०११ मा संयुक्त रुसी पार्टीले पुन: लेनिनको शवलाई अन्यत्र लगेर गाड्न जनमत सङ्ग्रह गराएको थियो । त्यसले गराएको जनमत सङ्ग्रहमा ७० प्रतिशतले त्यो विचारलाई समर्थन गरेका थिए ।
रुसमा पुँजीवादी पक्षधर र कट्टर धार्मिक सङ्गठनलाई लेनिनको शव क्रेमलिनमा राख्नु सह्य भइरहेको छैन । रुसमा समाजवादी व्यवस्थालाई समाप्त गरेपछि लेनिनलाई पनि दृश्यबाट हटाउने उनीहरूको प्रयत्न भइरहेको छ तर रुसमा समाजवादी व्यवस्थाको अन्त भएको भए पनि जनमानसमा त्यसको असर व्यापक रूपमा विद्यमान थियो । त्यसैले उनीहरूका लागि अझै लेनिनको शवलाई क्रेमलिनबाट हटाउन सम्भव भएको थिएन ।”
त्यसपछि उनीहरू गोर्की पार्कमा घुम्न गए । त्यहाँ लन्च गर्ने बेलामा डा. जगदीशले उनीहरूको विवाहको मिति टुङ्ग्याउने कुरा उठाए तर सुनन्दाले भनिन्, स्टालिनग्राद र लेनिनग्रादतिर घुमेर आएपछि विवाहको मितिबारे विचार गर्नु ठिक हुनेछ । डा. जगदीशले उनको त्यो कुराको विरोध गर्न सकेनन् ।
मस्कोपछि उनीहरू स्टालिनग्रादको भ्रमणमा गए । त्यहाँ डा. जगदीशले जुन प्रकारका कुरा गर्दै गए, त्यसबाट सुनन्दाको उनीप्रतिको असन्तोष झन् बढ्दै गयो । मानसिक रूपले उनको मनमा धेरै नै अन्तरद्वन्द्व देखा पर्न थाल्यो ।
द्वितीय विश्वयुद्धपछि त्यो सहरको नाम स्टालिनग्राद राखिएको थियो तर पछि त्यो नाम बदलेर भोल्गाग्राद राखिएको थियो । त्यसरी सहरको नाम किन परिवर्तन गरिएको थियो ? सुनन्दाले उत्सुकता प्रकट गरिन् । उनले भनिन्, त्यो परिवर्तन किन गरिएको थियो ? त्यसरी सहरको नाम परिवर्तन किन गरियो ? त्यसरी नाम परिवर्तन गर्दा स्तालिनको अवमूल्यन भएन र ? खास गरेर द्वितीय विश्वयुद्धको दौरानमा उनको जुन महान् योगदान रह्यो, स्वयम् स्तालिनग्रादको युद्धमा उनको जुन योगदान भयो ? त्यसको अवमूल्यन भएन र ?
त्यस सन्दर्भमा डा. जगदीशले भनेका थिए– “ख्रुस्चेभको स्तालिनको व्यक्तिपूजाका विरुद्धको अभियान वास्तवमा ऐतिहासिक महत्त्वको कुरा थियो । ख्रुस्चेभले स्टालिनका विरुद्ध खेलेको त्यस प्रकारको भूमिकालाई विश्वभरको समर्थन प्राप्त भयो । त्यसबाट विश्वमा सोभियत सङ्घको प्रतिष्ठा बढ्यो ।
ख्रुस्चेभको नीति र भूमिकाका कारणले विश्वभरका देशसित सोभियत सङ्घको सम्बन्ध सुध्रियो । वास्तवमा द्वितीय विश्वयुद्धका बेलामा स्टालिनको भूमिकालाई अनावश्यक रूपले बढी प्रचार गरिएको थियो । स्तालिनग्रादको नै कुरा गरौँ । यहाँ स्टालिन आएर लडेका थिएनन् । यहाँ रेड आर्मीका लाखौँ सैनिक र जनताले देशका लागि लडेका थिए, बलिदान गरेका थिए । महान् वीरताको प्रदर्शन गरेका थिए अनि स्टालिन एक जनालाई त्यसको लागि श्रेय दिनु व्यक्तिपूजा नै हो । त्यसैले यो सहरको नामबाट स्टालिनको नाम हटाएर ख्रुस्चेभले सही कार्य गरेका थिए ।
सुनन्दाले डा. जगदीशको मुखमा हेरिन् । कैयौँ बेरसम्म हेरिरहिन् । उनलाई डा. जगदीशको त्यो भनाइ राम्रो लागेन । प्रश्न खालि स्टालिनको मात्र थिएन । उनले जुन विचार प्रकट गरेका थिए, त्यसले सम्पूर्ण माक्र्सवादी–लेनिनवादी सिद्धान्त र कम्युनिस्ट आन्दोलनप्रतिको उनको दृष्टिकोणलाई बताउँथ्यो । त्यो बेला उनलाई पहिलोपल्ट भेट हुँदा डा. जगदीशबारे विद्याले भनेको यो कुरा झन् बढी सही भएको महसुस भयो– ‘त्यो सोभियत संशोधनवादी हो ।’

उपन्यासमा अगाडि लेखिएको छ– “सुनन्दाका मनमा डा. जगदीशप्रतिको असन्तोष र क्रोध लगातार बढ्दै गइरहेको थियो । उनका मनमा बारम्बार यो प्रश्न उठिरहेको थियो : के त्यो मान्छेसँग विवाह गरेर उनी सुखी हुन सक्नेछिन् ?
व्यक्तिगत रूपमा उनी अवश्य पनि सुखी हुन सक्नेछिन् किनभने उनी (डा. जगदीश) शिक्षित थिए; सम्पन्न थिए† र;म्रो नोकरी थियो, गढवाल र दिल्लीमा पनि घर थिए । मस्कोमा पनि घर वा फ्ल्याट किन्ने कुरा गरेका थिए । एउटी महिलाको लागि आवश्यक चिज उनीसित विद्यमान थिए तर प्रश्न यो थियो, के उनीसित विवाह गरेर उनी (सुनन्दा) आफ्नो विचार र आस्थाप्रति इमानदार, दृढ र जीवनभरि सक्रिय रहन सक्नेछिन् ?
अहिले उनलाई जलजलाको ठुलो अभाव महसुस भइरहेको थियो । उनका अगाडि जलजला भएको भए उनले सोध्ने थिइन् : दिदी, मैले के गरुँ ? तर उनका अगाडि जलजला थिइनन् । अब उनी कहिल्यै पनि उनका अगाडि आउने छैनिन् । उनले गान्धीले भनेको सम्झिइन् : ‘सधैँ आत्माको आवाज सुन्नू’ तर उनको आत्माबाट पनि कुनै आवाज आइरहेको थिएन ।
उनले आँखा उठाएर डा. जगदीशतिर हेरिन् । उनले मनमनै सोचिन्, अब सायद जीवनभरि नै उनका पछाडि लागिरहनुबाहेक उनका अगाडि कुनै उपाय बाँकी रहेको थिएन । राम्रो भए पनि वा नराम्रो भए पनि । विचार मिले पनि वा नमिले पनि, प्रेम भए पनि वा नभए पनि…. ।
होइन, होइन । सुनन्दालाई भित्रबाट एउटा आवाज आएजस्तो लाग्यो तर त्यो आवाज अत्यन्त मसिनो र सानो थियो । उनले त्यसलाई सुन्ने प्रयत्न गरिन् । त्यो आवाज पुन: भित्र कतै दबेर गयो तैपनि उनलाई लागेको थियो, अँध्यारोमा कतै एउटा किरण चम्केको थियो । त्यो आशाको किरण थियो, निराशाको बिचमा आशाको किरण । उनलाई पूरा विश्वास त लागेन तर उनलाई लाग्यो, त्यो किरणले उनलाई अवश्य पनि अगाडि बढ्नका लागि मार्गदर्शन गर्नेछ तर त्यसले उनलाई कहाँसम्म अगाडि लैजानेछ ? उनलाई थाहा थिएन ।
त्यो किरण कतै बिचैमा हरायो भने ? निभ्यो भने ? त्यस्तो पनि हुन सक्थ्यो तर सायद त्यस्तो नहुन पनि सक्थ्यो तर उनी पूरै निराश पनि थिइनन् । उनको कहिल्यै पनि निराश र हतोत्साहित हुने स्वभाव थिएन । उनलाई कता कता आशा लागिरहेको थियो, मध्यरातको अँध्यारो र घोर निराशाका बिचमा उनले आशाको किरण खोज्न प्रयत्न गर्थिन् ।
सुनन्दा र डा. जगदीश रेलद्वारा स्तालिनग्रादबाट मस्कोतिर जाँदै थिए । उनका अगाडि डा. जगदीश बसेका थिए । त्यही मानिससित विवाह गर्न उनी रुस आएकी थिइन् र छिट्टै उनीहरूको विवाह हुनेछ । मस्को पुगेपछि विवाहको मिति टुङ्गिनेछ ।
उनले अगाडि केही सोच्नै सकिनन् । सायद अब उनीसित डा. जगदीससित विवाह गर्नुबाहेक अन्य कुनै विकल्प पनि बाँकी रहेको थिएन । उनी ठुलो सङ्कटमा थिइन् । ठुलो द्विविधामा परेकी थिइन् । के गर्ने ? के नगर्ने ? उनले कुनै निर्णय गर्न सकिरहेकी थिइनन् ।”
उपन्यासमा अगाडि लेखिएको थियो : “डा. जगदीशले भने, आज मैले मेरो मनको कुरा तिमीलाई खोलेर बताउँछु । सुनन्दाले मन नलागी नलागी सानो स्वरले भनिन्, के कुरा ?
डा. जगदीशले भने, मेरो कुरा तिम्रा लागि सरप्राइज हुनेछ । तिमी धेरै खुसी हुनेछ्यौ । मैले सुन्दरलाल बहुगुणाले जस्तो विचार गर्दैछु । सुन्दरलाल बहुगुणाले बिमलासँग विवाह गर्न काङ्ग्रेस र राजनीति छाडेका थिए । मैले पनि त्यस्तै सोचिरहेको छु ।
म कम्युनिस्ट भएको हुनाले मसित विवाह गर्न तिमीलाई अप्ठ्यारो लागेको कुरा मैले बुझेको छु । म कम्युनिस्ट, तिमी गान्धीवादी । मैले माक्र्सवाद–लेनिनवाद, कम्युनिस्ट पार्टी सबै छाड्ने निर्णय गरेको छु । माक्र्सवाद–लेनिनवादको कुनै अर्थ छैन । कम्युनिस्ट पार्टीको कुनै अर्थ छैन । त्यसको कुनै आवश्यकता छैन । मैले पनि यो बुझेको छु, रुसमा अब समाजवादी व्यवस्था रहेको छैन । यहाँ पुँजीवादको पुन:स्थापना भएको छ । लेनिन र स्टालिनले समाजवाद ल्याएको देशमा नै समाजवादको अन्त्य भयो भने अब अरू देशमा त्यसको के अर्थ छ । यो नहुने बाटो हो । माक्र्सवाद–लेनिनवाद आउट अफ डेट भइसक्यो । समाजवाद अतीतको विषय भइसक्यो । रुसमा समाजवाद ल्याउनका लागि जुन कम्युनिस्टले त्याग र बलिदान गरे, उनीहरूले बेकारमा ज्यान दिए । बेकारमा दु:ख र कष्ट पाए । अब रुसमा पहिलेका कम्युनिस्टले व्यक्तिगत सम्पत्ति जम्मा गरिराखेका छन् । ठुल्ठुला घर बनाइरहेका छन् । पहिले सामूहिक स्वामित्वमा भएका कृषिफार्ममाथि व्यक्तिगत स्वामित्व कायम गरिरहेका छन् । त्यसरी उनीहरू व्यावहारिक बन्दै गइरहेका छन् । जीवनको लागि त्यही सही बाटो हो । मैले पनि त्यही निर्णय गरेको छु । त्यसपछि मैले तिमीलाई पूरै सुख दिन सक्नेछु । तिमी सम्पन्न र प्रतिष्ठित महिला बन्नेछ्यौँ । कम्युनिस्ट भएर के पाइन्छ । दुखै दुख मात्र हो ।”
डा. जगदीशले आफ्नो लामो भाषण सिध्याएर सुनन्दाको मुखमा हेरे ।
सुनन्दाले भनिन्, तपाईंको कुरा सुनेर मलाई धेरै खुसी लाग्यो । म ठुलो द्विविधामा थिए । तपाईंले मेरो मनको द्विविधा हटाइदिनुभयो । अब निर्णयमा पुग्न मलाई केही पनि अप्ठ्यारो पर्ने छैन ।
डा. जगदीशले भने– अब विवाहको लागि कहिलेको मिति ठेगान गर्ने ? अब धेरै ढिलो नगरौँ ।
सुनन्दाले केही बेरसम्म आकाशमा हेरिन् । केही बेरपछि उनले भनिन्– मैले विवाह गर्दिनँ ।
के भनेको सुनन्दा तिमीले ? मजाक गरेको ?
मजाक होइन । साँच्चै हो । मैले विवाह गर्दिनँ । म भारत फर्केर जान्छु ।
भारतमा गएर विवाह गर्ने ? त्यसो भए पनि मलाई मन्जुर छ ।
होइन । रुस र भारतको कुरा होइन । मैले विवाह गर्दिनँ ।
डा. जगदीशले आश्चर्यचकित भएर सुनन्दाको मुखमा हेरिरहे । आखिर अकस्मात् के भएको थियो उनलाई ? उनीसित विवाह गर्न रुस आएकी मान्छे ! अब उनले किन विवाह नगर्ने कुरा गर्दै थिइन् ?
तिम्रो विचारमा भएको परिवर्तनका लागि केही कारण छ ?
सायद कुनै कारण हुन सक्छ । सायद केही नहुन पनि सक्छ । मलाई लाग्छ, त्यो मुख्य कुरा होइन, मुख्य कुरा निर्णय हो । मैले निर्णय गरिसकेँ । तपाईंलाई यसरी दु:ख पुर्याउनुपरेकोमा मलाई अफसोच छ तर अब मेरा अगाडि कुनै विकल्प छैन । मलाई माफ गर्नुहोस् ।
त्यो कुरा सुनेर डा. जगदीशलाई धेरै दु:ख पुग्यो । उनलाई रिस पनि उठ्यो तर उनी रिसाएनन् । उनले आफ्नो मनको आवेगलाई मनमा नै दबाए । त्यसो गर्दा उनलाई मुस्किल परिरहेको थियो तैपनि उनले आफूलाई सन्तुलित बनाउन प्रयत्न गरे ।
उनी अब माक्र्सवादी–लेनिनवादी सिद्धान्तबाट धेरै टाढा पुगेका थिए तैपनि उनीभित्र माक्र्सवादी–लेनिनवादी चिन्तनको अवशेष थियो । प्रेम र विवाहलाई कसरी हेर्ने ? त्यसबारे उनले जे जति पढेका थिए, त्यसको उनीभित्र असर थियो ।
त्यस सिलसिलामा उपन्यासमा अगाडि लेखिएको छ– डा. जगदीशले भने “कुनै पनि युवकयुवतीलाई आफ्नो विवाह, जीवन वा भविष्यबारे आफै निर्णय गर्ने अधिकार हुन्छ । मैले त्यो अधिकारलाई सम्मान गर्दछु । तिमीसित विवाह गर्न पाए मलाई धेरै खुसी लाग्ने थियो तर विवाह एक पक्षको इच्छाले मात्र हुन्न । दुवै पक्षको सहमति चाहिन्छ । तिमीले मसित विवाह नगर्ने निर्णय गरेपछि मैले विवाहका लागि अलिकति पनि दबाब दिन्न । जे भए पनि तिमीलाई मैले आफ्नो अभिन्न मित्र ठानिरहनेछु ।”
डा. जगदीशको सन्तुलित र मैत्रिपूर्ण कुरा सुनेर उनी धेरै भावुक भइन् । यो सोचेर उनलाई धेरै दु:ख लागेको थियो, त्यति सज्जन मान्छेसित विवाह गर्न उनले अस्वीकार गरेकी थिइन् र उनको भावनामा धेरै चोट पुर्याएकी थिइन् तर प्रश्न भावनाको थिएन, प्रश्न सिद्धान्त र आस्थाको थियो । त्यसबाट उनी पछाडि हट्न सक्दैनथिन् ।
उपन्यासमा अगाडि लेखिएको छ– “सुनन्दाले भनिन्, तपाईंले मेरो कुरालाई सहज र मैत्रीपूर्ण प्रकारले ग्रहण गरेकोमा मैले तपाईंलाई धन्यवाद दिन्छु तर मेरो बाध्यता छ । मैले तपाईंसित विवाह गर्न सक्दिन । त्यो बाध्यता के हो ?
बाध्यता वैचारिक हो । गान्धी दर्शनको यो भनाइलाई मैले सधैँ अपनाउने प्रयत्न गरेकी छु : आफ्नो आत्माको आवाजका विरुद्ध कुनै पनि काम नगर्नू । जस्तोसुकै प्रलोभन, लाभ, कष्ट वा स्वयम् मृत्युका डरले पनि आत्माको आवाजका विरुद्ध नजानू ।
तिमी गान्धीवादी हौँ र म कम्युनिस्ट । के त्यही कारणले तिमीलाई मसित विवाह गर्न अप्ठ्यारो परेको हो ? अब त्यो बाधा पनि बाँकी रहेन । मैले माक्र्सवाद–लेनिनवाद, कम्युनिस्ट पार्टी, समाजवाद आदि सबैलाई छाडिदिने कुरा तिमीलाई बताइसकेको छु अनि हाम्राबिचमा के वैचारिक बाधा बाँकी रह्यो ? त्यति मात्र होइन, म गान्धीवादी हुन पनि तयार छु । त्यसपछि ता हाम्रो विवाहमा कुनै वैचारिक समस्या रहने छैन ।”
सुनन्दाले केही बेरसम्म डा. जगदीशको मुखमा हेरिरहिन् । विवाह गर्नका लागि आफ्ना सिद्धान्त वा आस्थासम्मलाई परिवर्तन गर्न पनि तयार हुने मान्छे । त्यो अवसरवादको पराकाष्ठा थियो । अब उनले उनी (डा. जगदीश) सित विवाह नगर्ने जुन निर्णय गरेकी थिइन्, त्यो झन् बढी सही भएजस्तो लाग्यो । त्यस्तो सिद्धान्तहीन र अवसरवादी मान्छेसित उनले कुनै पनि अवस्थामा विवाह गर्न सक्दिनथिन् ।
सुनन्दाले भनिन् : “विवाह नगर्ने निर्णय गर्नाको पछाडिको कारण त्यो होइन, म गान्धीवादी र तपाईं माक्र्सवादी भएकाले मैले तपाईंसित विवाह नगर्ने निर्णय गरेकी होइन ।
त्यो पनि कारण होइन भने के कारण हो त ? तिमीले वैचारिक कारणले वा तिम्रो आस्थामा आँच पुग्ने भएकाले विवाह नगर्ने निर्णय गरेको बताएकी थियौ । तिमी गान्धीवादी र म माक्र्सवादी भएकाले मसित विवाह नगर्ने निर्णय गरेकी होइनौँ भने अरू वैचारिक कारण के हो ? मेरा लागि त्यो रहस्यको कुरा बनेको छ ।”
अर्को दिन बिहान दुवै जना रेल स्टेसनबाट बाहिर निस्के र डा. जगदीशको कोठातिर लागे । खाना खाएपछि सुनन्दाले कुनै वैचारिक कारणले डा. जगदीशसित विवाह नगर्ने निर्णय गरेकी हुन् ? त्यो बताइन । उनले स्पष्ट गरिन्, उनको पहिलेको गान्धीवादी विचारमा परिवर्तन भएको थियो । अब उनी माक्र्सवादी भएकी थिइन् ।
डा. जगदीशले आश्चर्यचकित भएर त्यो कुरा सुनिरहे । उनले भने– “अब तिमी माक्र्सवादी भएको भए मसित विवाह गर्न किन अस्वीकार गर्ने निर्णय गर्यौ ? म पनि माक्र्सवादी तिमी पनि माक्र्सवादी, अब यो विवाह गर्न कुन वैचारिक समस्या पैदा भयो ? तिम्रो वैचारिक परिवर्तनका कारणले हामी पहिलेभन्दा बढी नजिक भएका छौँ ।”
सुनन्दा केही गम्भीर बनिन् । डा. जगदीश प्रकट रूपमा माक्र्सवादी थिए तर उनी सोभियत संशोधनवादी थिए । हिजो राती रेलमा उनले माक्र्सवादी विचार त्यागेर गान्धीवादी हुने कुरा पनि गरेका थिए । त्यस्तो मानिस न गान्धीवादी हुन सक्थ्यो, न माक्र्सवादी ।
सुनन्दाले भनिन् : “सायद मैले कुरा प्रस्टसित राख्नुपर्दछ । मैले सुरुदेखि नै तपाईंलाई कम्युनिस्टको रूपमा बुझ्दै आएकी थिएँ । तपाईंको विचारसित म सहमत थिइनँ तर मैले तपाईंलाई आदर गर्दथेँ । कुनै पनि व्यक्तिसित मेरो वैचारिक मतभेद हुन सक्छ तर जुन व्यक्ति आफ्नो सिद्धान्त वा आदर्शमा इमानदार र दृढ हुन्छ, उसलाई मैले सम्मान गर्दछु । त्यही कारणले नै मैले का. गढवालीलाई पनि धेरै आदर गर्दथेँ । उहाँको विचारसित म सहमत नभए पनि उहाँ आफ्नो सिद्धान्त र आस्थाप्रति इमानदार र दृढ हुनुहुन्थ्यो ।”
डा. जगदीशले भने– “म पनि माक्र्सवादी सिद्धान्तप्रति इमानदार र दृढ छु । तिमीलाई त्यो कुरामा कुनै शङ्का छ ?”
डा. जगदीशको कुरा सुनेर सुनन्दालाई हाँसो लाग्यो तर उनले हाँसोलाई आफ्नो ओठमा आउन दिइनन् । आफ्नो हाँसोलाई जबर्जस्ती भित्रै दबाइन् ।
सुनन्दाले भनिन्– “तपाईंको कुराबाट मैले के बुझेँ भने तपाईं कुनै पनि विचारमा इमानदार र दृढ हुनुहुन्न । मसित विवाह गर्नका लागि हिजो गान्धीवादी हुन तयार हुनुभयो । आज व्यक्तिगत फाइदाका लागि आफ्नो विचारलाई बदल्न तयार हुनुभएको छ । कसैले आफ्नो विचारलाई क्षणक्षणमा परिवर्तन गर्ने कुरालाई मैले सही मान्दिनँ । आफ्नो कुनै विचारलाई परिवर्तन गर्ने कुरालाई मैले गलत मान्दिनँ तर त्यो आस्थाको आधारमा हुनुपर्दछ, कुनै डर, लाभ वा व्यक्तिगत फाइदाका लागि होइन । त्यसैले तपाईंसित विवाह नगर्ने कुरामा म दृढ छु र तपाईंको कुरा सुनेपछि मेरो विचार पहिलेभन्दा पनि बढी दृढ भएको छ । मलाई लाग्छ, यसबारे थप कुरा नगरौँ । त्यसबाट कुनै फाइदा छैन ।”
सुनन्दाको कुरा सुनेर डा. जगदीशलाई लाग्यो, आफ्नो आदर्श, सिद्धान्तका कारणले उनी धेरैमाथि उठेकी थिइन् र उनका तुलनामा उनी धेरै तल थिए । मनमनै उनले सोचे, उनी एउटा पतीत व्यक्ति थिए । उनलाई आफूमाथि एक प्रकारले घृणा लागेर आयो । उनलाई सुनन्दाको व्यक्तित्व धेरै माथि आकाशमा फैलिएजस्तो र आफू धर्तीमा धस्सेजस्तो र झन् झन् तल “पातल” मा गइरहेको जस्तो लाग्यो । उनले आफूलाई एकदम हीन ठाने ।
बनारसको गङ्गामा एउटा मोटरबोटमा का. अजित र सुनन्दाको विवाह हुँदै थियो । त्यो विवाहमा कैयौँ व्यक्ति उपस्थित भएका थिए, जसमध्ये चित्रबहादुर केसी, रश्मिराज नेपाली, का. गढवाली, सरस्वती, बद्रे आलम, माधव ज्ञवाली, फैजावादका रामकृष्ण, इस्लाम, हरि आचार्य, नवराज सुवेदी, यमलाल, विद्या, लीलानाथ कुशुम, जीवन शर्मा, शिव पौडेल, चन्द्रबहादुर केसी र जयन्त । त्यो विवाहमा सामेल हुन सुनन्दाकी आमा र जेठा बा अनुप सिंह, रुसबाट भेलेन्टिना, जर्मनीबाट अर्चना र उनका श्रीमान अल्फ्रेड, दृष्टिविहीन बसन्त र उनकी पत्नी उर्मिला, दुर्गा, गीता, गोपाल, शान्ति, रमाहरू पनि उपस्थित भएका थिए ।
वरवधुलाई विभिन्न व्यक्तिले शुभकामना दिने कार्यक्रम सुरु भएपछि डा. जगदीशले पनि उनीहरूलाई शुभकामना दिन थाले । डा. जगदीशले अगाडि भने– “सुनन्दासित मेरो प्रेमको दुखान्त कथा जोडिएको छ ।”
सबैले उत्सुकतापूर्वक डा. जगदीशको मुखमा हेर्न थाले । उनले अगाडि भन्दै गए– “मेरो उनीसितको दुखान्त प्रेमको कथा एकतर्फी नै रहेको छ । मैले उनलाई प्रेम गरेँ र उनीसित विवाह गर्ने प्रस्ताव पनि राखेको थिएँ तर उनले मेरो प्रेम वा विवाहको प्रस्तावलाई नम्रतापूर्वक तर दृढताका साथ अस्वीकार गरिन् ।
उनीसँग विवाह गर्ने मेरो विचार थियो तर उनी गान्धीवादी थिइन्, म कम्युनिस्ट । त्यसैले उनले मेरो विवाहको प्रस्तावलाई सधैँ अस्वीकार गरिन् । नेपालबाट फर्कदा उनी माक्र्सवादी–लेनिनवादी भएकी रहिछन् । मलाई त्यो कुरा थाहा थिएन । पछि उनी मेरो विवाहको प्रस्तावलाई स्वीकार गरेर मसित विवाह गर्न रुस आइन् । म कम्युनिस्ट हुँ । कम्युनिस्टले आत्मालोचना गर्दछन् । मैले पनि केही नलुकाईकन आत्मालोचना गर्दछु ।”
उनले अगाडि भन्दै गए– “मेरो विचार थियो, उनी गान्धीवादी नै छिन् । म लामो समयदेखि कम्युनिस्ट पार्टीमा थिएँ र अहिले पनि भारतीय कम्युनिस्ट पार्टीको सदस्य छु तर उनीसित विवाह गर्नका लागि म माक्र्सवाद–लेनिनवाद र कम्युनिस्ट पार्टी छाड्न पनि तयार थिएँ । मैले उनीसित माक्र्सवाद पनि छाड्न सक्ने र आवश्यक पर्यो भने गान्धीवादी सिद्धान्त पनि अपनाउन सक्ने कुरा बताएँ । मैले यो कुरा पनि बताउँदै गएँ कि अब कम्युनिस्ट आन्दोलनको कुनै भविष्य छैन । म कम्युनिस्ट पार्टीबाट पनि अलग भएर उनलाई खुसी बनाउन जे पनि गर्न तयार छु । पूरै नै धनसम्पत्ति कमाउने काममा लाग्नेछु । मैले त्यो बनावटी कुरा गरेको थिइनँ । उनीसित विवाह गर्नको लागि म माक्र्सवाद र कम्युनिस्ट पार्टी पनि छाड्न साँच्चिकै तयार थिएँ तर मेरा कुराको उल्टो असर परेछ । हामी स्टालिनग्रादबाट रेलमा सँगै मस्कोतिर आउँदै थियौँ । त्यही बेला उनले मलाई स्पष्टसित भनिन्, मैले तपाईंसित विवाह गर्दिन ।
उनले मलाई स्पष्टसित भनिदिइन्, तपाईंको कुनै सिद्धान्त छैन । मसित विवाह गर्नका लागि माक्र्सवादी–लेनिनवादी सिद्धान्त छाड्न र गान्धीवादी हुन पनि तयार हुनुहुन्छ । यस्तो मान्छेसित मैले विवाह गर्न सक्दिनँ । मैले पार्टी र क्रान्तिका लागि आफ्नो सम्पूर्ण जीवन समर्पण गर्ने निश्चय गरेकी छु । पहिले गान्धीवादी हुँदा पनि त्यसका लागि मैले आफ्नो सम्पूर्ण जीवन समर्पण गर्ने निश्चय गरेकी थिएँ । अहिले मेरो विचारमा परिवर्तन भएर म माक्र्सवादी–लेनिनवादी बनेकी छु ।
तपाईंले कुनै सैद्धान्तिक आधार वा आस्थाका आधारमा होइन, मसित विवाह गर्नका लागि नै माक्र्सवादी–लेनिनवादी विचार छाड्ने वा गान्धीवादीसम्म हुने विचार प्रकट गर्नुभएको छ । यो चरम प्रकारको सिद्धान्तहीनता हो । त्यस्तो सिद्धान्तहीन व्यक्तिसित मैले विवाह गर्न सक्दिनँ ।”
उनले नढाटीकन आत्मालोचना गर्दै गए– “उनको विचार थाहा पाएपछि मैले उनलाई माक्र्सवाद–लेनिनवाद पनि मान्छु, खु्रस्चेभ र सोभियत संशोधनवादको पनि विरोध गर्छु, माओत्सेतुङ विचारधारालाई पनि समर्थन गर्छु भनेर धेरै सम्झाउने कोसिस गरेँ तर मेरो सबै कुरालाई उनले हाँसेर उडाइदिइन् । मैले सोचेँ, गल्ती मेरो नै हो । म साँच्चिकै ढुलमुल र अवसरवादी थिएँ । त्यसैले उनले मलाई अस्वीकार गरेकी हुन् । म उनका लागि योग्य थिइनँ । मैले उनलाई सामान्य युवती ठान्थेँ तर उनको व्यक्तित्व धेरै माथि उठेको रहेछ । उनी आफ्नो सिद्धान्त र उद्देश्यमा समर्पित छिन् । त्यसकारण मेरो मनमा उनीप्रति असीम अगाध श्रद्धा छ ।”
अन्तमा, उनले अजिततिर फर्केर भने– “तपाईं धेरै भाग्यमानी हुनुहुन्छ । तपाईंले सुनन्दाजस्ती सिद्धान्तनिष्ट र सच्चा पत्नी पाउनुभएको छ । म उनका लागि उपयुक्त पात्र थिइनँ । त्यसैले मलाई उनले अस्वीकार गरिन् र अब मलाई लाग्दछ, उनले ठिकै गरेकी छिन् । तपाईंले अमूल्य रत्न पाउनुभएको छ । त्यसको सधैँ कदर गर्नुहोला । उनको कदर गर्न तपाईंले अरू केही गर्नुपर्ने छैन, सधैँ आफ्नो सिद्धान्त र उद्देश्यमा दृढ भएर लगातार अगाडि बढिरहनु होला । तपाईंहरू दुवै जनाको सिद्धान्त र विचार मिल्दछन् । त्यसैले तपाईंहरूको जोडी आदर्श, क्रान्तिकारी जोडी बन्नेछ भन्ने कुरामा मलाई पूरा विश्वास छ र त्यसका लागि मैले तपाईंहरू दुवै जनालाई हार्दिक बधाई दिन्छु ।”