काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले निर्वाचन आयोगमा बुझाएको समानुपातिकतर्फको बन्दसूचीप्रति पार्टीभित्र र बाहिर आलोचना चर्किरहेको परिवेश बिच नाम फिर्ता लिने क्रम बढेको छ । अहिलेसम्म १५ जनाले नाम फिर्ता लिएको पार्टी स्रोतले जनाएको छ ।
स्रोतका अनुसार आदिवासी जनजाति क्लस्टरबाट मिलन लिम्बू, टासी लाक्पा शेर्पा, धर्मलाल तामाङ, सुदेश गुरुङ र महिलामा त्रिसला गुरुङ रहेका छन् । यसैगरी खस आर्यतर्फ सचिन ढकाल, अरनिको कुमार पाण्डे, गोविन्द नारायण, जनक न्यौपाने र महिलातर्फ सिर्जना ओली रहेका छन् ।
दलिततर्फ डा.रामजी राम, साजन विक, किशोर गन्धर्व रहेका छन् र, मुस्लिमबाट आसिफ शाह, मोहना अन्सारी रहेका छन् ।
सामाजिक सञ्जालमार्फत उनीहरूले नाम फिर्ता लिएका घोषणा गरेता पनि निर्वाचन आयोगमा लिखित निवेदन दिनुपर्नेछ । उनीहरू मध्य कसैले पनि निवेदन दिएका छैनन् । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईको अनुसार प्रक्रिया पुर्याएर आएको खण्डमा संशोधन हुनसक्ने हुन्छ ।
भट्टराईका अनुसार नाम फिर्ता लिन चाहने व्यक्तिले पुस २८ गते निवेदन दिनुपर्नेछ ।