काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वीस बैंकमा खाता र ५.५ मिलियन अमेरिकी डलर (करिब ५५ लाख डलर) रहेको विभिन्न अनलाइन सञ्चार माध्यमले समाचार प्रकाशित गरेपछि प्रधानमन्त्रीको सचिवालयले त्यसको खण्डन गरेको छ ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले बुधबार एक प्रेस नोट प्रकाशित गरी समाचार ‘शत प्रतिशत’ गलत भएको दाबी गर्नुभएको छ । प्रधानमन्त्रीलाई बदनाम गराउन यस्ता समाचार प्रकाशन भएको थापाको प्रेस नोटमा उल्लेख छ ।
‘स्वीस बैंकमा खाता र ५.५ मिलियन अमेरिकी डलर जम्मा रहेको वा यस्तै व्यहोराका तथाकथित रिपोर्ट शतप्रतिशत गलत र कपोलकल्पित रहेको स्पष्ट गर्दछु ।’ थापाले भन्नुभएको छ, ‘जुनसुकै दुर्नियतका साथ तयार गरी सम्प्रेषित यस्ता तथ्यहीन सामग्रीहरूलाई आधार मानेर समाचार बनाई नेपाली जनतामा भ्रम छर्न र प्रधानमन्त्रीज्यूलाई बदनाम गर्न उद्यत यस्ता कतिपय संचारमाध्यमहरूको रवैया खेदजनक छ ।’
ग्लोबल वाच एनालाइसिसको हवाला दिँदै केही नेपाली अनलाइनले मंगलबार यस सम्बन्धी समाचार प्रकाशित गरेका थिए ।

